नेपाली साहित्यको भविष्य फराकिलो छ : वरिष्ठ गीतकार ज्ञानेन्द्र गदाल

हिमालय टाइम्स
Read Time = 15 mins

प्रवासमा पनि सिंगो नेपाल छ । जहाँ नेपाली छन्, जहाँ नेपालीपन छ, त्यस ठाउँलाई सानोतिनो नेपाल ठान्नुपर्छ । त्यसैले विश्वको कुना–कुनामा अब नेपाल छ भन्दा गलत हुँदैन । यसरी प्रवासमा नेपाल स्थापित गर्नेहरूमध्ये अग्र पंक्तिमा रहनुभएका नेपाली भाषा साहित्यका एक अभियन्ता हुनुहुन्छ गीतकार ज्ञानेन्द्र गदाल । करिब चार दशकदेखि नेपाली साहित्यमा विशेषगरी गीत लेखनमा निरन्तर कलम चलाइरहनुभएका ज्ञानेन्द्र गदाल । उहाँ विगत २५ वर्षदेखि सपरिवार अमेरिकाको कोलोराडो राज्यमा बस्नुहुन्छ । विभिन्न संघसंस्थामार्फत नेपाली भाषा साहित्य, कला संस्कृतिको सेवामा अविरल काम गरिरहनुभएका गदाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पहिलो च्याप्टर (कोलोराडो)को संस्थापक हुनुका साथै २०१०-१२ कार्यकालको निम्ति अनेसास, केन्द्रको प्रथम निर्वाचित अध्यक्ष्यसमेत भएर काम गरिसक्नुभएको छ । प्रस्तुत छ उही वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालसँग सर्वज्ञ वाग्लेले गर्नुभएको अन्तरंग कुराकानी :-

आजकल तपाईं अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ ?
एउटा लेखकका लागि अध्यन र लेखन भनेको लत जस्तो हो । फुटकर रचनाहरू यही अम्मलका कारण नै जन्मिन्छन्, पछि संग्रहका रूपमा प्रकाशित हुन्छन् । फुर्सदका बेला भएका पुस्तकहरू वा आफूसँग नभएका तर अनलाइनमा प्राप्त पुस्तकहरू हेर्ने, पढ्ने क्रम चलिरहेको छ ।

तपाईं जीवन, साहित्य र दर्शनलाई कसरी हेर्नुहुन्छ ?
मानिसका लागि उसले बाँचेको परिवेश, टेकेको माटो, हिँडेको बाटो, देखेका दृश्य, भोगेका परिधि, महसुस गरेका उच्छवास र उसका मानस्पटलमा खेल्ने अनेकौं आभाषको समष्टिगत रूप नै जीवन हो । भाषा वा कलाको माध्यमबाट गरिने अन्तर मनको अभिव्यक्ति नै साहित्य हो । लेखकको सोच, चिन्तन, व्यवहार, दृष्टिकोण अनुसार नै फरक-फरक भाव र भंगिमामा साहित्य सिर्जित हुन्छ । त्यसैले मलाई लाग्छ साहित्य सँगसँगै जीवन तानिएर आउँछ । दर्शन चाहिँ जीवन र विश्व ब्रहृमाण्डलाई हेर्ने दृष्टिकोण वा चेतना हो । यो सत्यको नजिक हुनुपर्छ । दर्शन समाज परिवर्तनको आधार हो । यी सब कुराहरूलाई हेर्दा जीवन, साहित्य र दर्शन एकअर्कासँग अन्तरसम्बन्धित विषयहरू हुन् ।

नेपाली साहित्यको भविष्य कस्तो देख्नुहुन्छ ?
नेपाली साहित्यको गुणात्मक पक्षसहित विस्तारको दायरा फराकिलो हुँदै जानेछ भन्ने सम्भावनालाई नकार्न सकिँदैन । नेपाली बजारबाट विदेशी बजारमा हाम्रो साहित्यलाई लैजान व्यावसायिक अनुवादको खाँचो देखिएको छ । यो पू्रा गर्न सकियो भनेमात्रै गैरनेपालीभाषी पाठकहरूमाझ हामीलाई पुग्न सजिलो हुनेछ र हाम्रो साहित्यले विश्वबजार पाउनेछ । यसरी हेर्दा नेपाली लेखक र पाठकहरूको साहित्यप्रतिको आकर्षण हेर्दा नेपाली साहित्यको भविष्य फराकिलो नै देखिन्छ, साँगुरो देखिँदैन ।

साहित्यिक संघसंस्थामा तपाईंको संलग्नता बारे बताइदिनु हुन्छ कि ?
नेपालमा छँदा पनि साहित्यिक पत्रकार संघ, उन्नयन, नारायणगोपाल संगीत कोषलगायत अन्य विभिन्न संघसंस्थामा संलग्न भई साहित्यिक अभियानमा काम गरेको थिएँ । यहाँ अमेरिका आएपछि सन् २००२ देखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मा सहभागी भएर २०१२ सम्म अनवरत रूपमा सक्रिय रहेँ । यसको अलावा भाषा साहित्यको उत्थान गर्ने समान उद्देश्य भएका अन्य विभिन्न संस्थामा पनि सेवा गरिआएको छु । अहिले केही अनलाइन पाठशालामा गीत लेखन प्रशिक्षकका रूपमा समय दिइरहेको छु, संस्थागत रूपले राइटर्स इन्टर्नेसनल, ग्लोबलसँग आबद्ध छु बाँकी, समयले दिएको अनुमतिलाई सदुपयोग गरी लेखन र अध्यनको सिलसिला जारी राखेको छु ।

अनेसासजस्तो साहित्यिक संस्थामा तपाईंको प्रवेश, सक्रियता र यसबारे आफ्नो अनुभव कस्तो छ ? अमेरिका जस्तो व्यस्त ठाउँमा साहित्यको सेवामा समय कसरी व्यवस्थापन गर्नु भएको छ ?
प्रवासमा रहेका नेपालीभाषी लेखकहरूको लेखकीय स्तरोन्नतिका लागि सहयोग गर्ने, स्रष्टा र सिर्जनाको मूल्यांकन गरी दुवैको उचित संरक्षण गर्ने, नयाँलाई लेख्न प्रोत्साहन गर्ने र पुराना लेखक साहित्यकारको योगदानको यथोचित कदर गर्ने पवित्र उद्देश्यका साथ अघि बढेको हुनाले नै अनेसासप्रति मेरो लगाव रहेको हो । भाषासाहित्यको सेवा गर्नेका लागि व्यक्तिगत स्वार्थ गौण हुनुपर्छ भन्ने मान्यता रहेकाले अनेसास केन्द्रको आग्रह अनुसार सन् २००३ मा पहिलो च्याप्टर ‘अनेसास कोलोराडो च्याप्टर’को संस्थापक अध्यक्ष भई पटक-पटक गरी तीन कार्यकाल (२००३-२०१० सम्म) सक्रिय सेवारत रहेँ ।
त्यही दौरानमा अनेसासको मुखपत्र ‘अन्तर्दृष्टि’को प्रधान सम्पादक भई विभिन्न देशमा रहेका विद्वानहरू संलग्न सम्पादक समूह बनाई पत्रिकाको गुणस्तर वृद्धिसहित २००४-२०१० सम्म नियमित प्रकाशन गर्‍यौं । र, सन् २०१० मा केन्द्रीय कार्यसमितिको निर्वाचनमा पहिलो निर्वाचित अध्यक्षको रूपमा केन्द्रीय कार्यसमितिको नेतृत्व गर्ने मौका पाएँ । ‘पहिलो निर्वाचित अध्यक्ष’ भन्नुको मतलब चाहिँ २०१० अघि अनेसासको चुनाव नै नभएको अवस्था हो । सदस्यताको यकिन अभिलेख पनि थिएन, सदस्यताको रकम उठायो बैंकमा जम्मा गर्‍यो आफूले चाहेको पदाधिकारी चुनेर मनोनित गर्‍यो ।
सधैंभरि एउटै व्यक्ति संस्थाको विभिन्न पदमा पटक-पटक आसिन हुन आशक्ति देखाउने व्यवहार र आचरणको म स्वयं सख्तविरोधी हुनाले आवश्यकताविना संस्थामा हावी हुन खोज्ने कुरै भएन । त्यसैले सिर्जना कर्म गर्दै बाहिरै रहेर भाषा साहित्यको सेवामा रमाइरहेको छु । तर, देख्तै छु, केही सीमित मानिसहरूले नै विगत १२/१३ वर्षदेखि आलोपालो गरी-गरी अनेसासलाई अठ्याइरहेका छन् वा विनापद आफूलाई शून्य महसुस गर्नेहरूको घेराबाट अनेसास निस्कन नसकेको परिस्थिति चाहिँ छ । साहित्य, संगीत र कला मेरो मन पर्ने विषय हो, फुर्सदको समय म यसैको सिर्जना र सेवामा बिताउन लालायित हुन्छु ।

साहित्यमा लाग्ने प्रेरणाको स्रोत केलाई मान्नुहुन्छ ?
म सानैदेखि गीतसङ्गीत मन पराउँथेँ र रेडियोमा गीतहरू सुन्थेँ । राम्रा सङ्गीत र गीतका शब्दहरूले मलाई छुन्थे । गाउँघरका युवा क्लबमा भेला हुँदा यदाकदा अग्रजहरूले लेखेका गीत, कवितामा पनि म लोभिन्थेँ । यही माहोलले मलाई गीत कोर्न प्रेरित ग¥यो । म जन्मेको ठाउँ फिक्कल, इलामको मनोरम प्राकृतिक सुन्दरता, आमाले हरेक साँझ बिहान पाठ गरेको पञ्चायन र गुणरत्नका श्लोकहरू, बाले हरेक रात लय हालेर छन्दोबद्ध पाराले पढेको रामायण र कृष्णचरित्रका चौपाईको श्रवनले पनि मेरो कवितालाई गीतको शैलीमा ढाल्न सिकायो ।
अन्ततः म गीत लेखनमा नै बढी आकर्षित भएँ । २०४० सालतिर पहिलो पटक मेरो गीत रेडियो नेपालमा रेकर्ड भएर गीत सँगसँगै गीतकारमा आफ्नो नाम रेडियोमा घन्किन थालेपछि मलाई अझ हौसला मिल्यो र गीत लेखनमा म अझै जोस्सिएर लाग्न थालेँ । तसर्थ, म जन्मेको भूमि, बाल्यकाल बिताएको प्रकृति, माटो, हावापानी अनि मुख्यगरी मेरो आफ्नो रुचि नै साहित्य (गीत) लेखनमा मेरा निम्ति प्रेरणादायी स्रोत हुन् ।

साहित्य सेवामा लागेर कस्तो अनुभूत भएको छ तपाईंलाई ?
आनन्द ! म विशेषगरी कविता र गीत लेख्ने भएकाले छोटोमा जीवनको एउटा पाटो भन्न मुस्किल पर्छ कहिलेकाहीं । साहित्य मेरो रुचिको विषय भएकाले आफूले लेखेर होस् वा अरूलाई लेख्न प्रोत्साहन गरेर होस् साहित्यको सेवा गर्नमा म आनन्द महसुस गर्छु ।

आफ्नो सिर्जनामा कत्तिको सन्तुष्ट हुनुहुन्छ तपाईं ? चाहेजस्तो सिर्जना गर्न सक्नुभएको छ ?
एउटा सर्जकका लागि आफ्ना सबै सिर्जनाहरू अमूल्य हुन्छन् । पाठक र श्रोताले कुनै रचना अत्यधिक रुचाइदिँदा चाहिँ त्यसबाट थप सन्तुष्टि मिल्छ । विगतबाट मिलेको थोर बहुत सन्तुष्टिकै आधारमा लेखनमा ऊर्जा थपिने हो, यही क्रम ममा पनि जारी छ । सिर्जनाको सवालमा पूर्ण सन्तुष्टि भन्ने त हुनसक्ने कुरै भएन । अधिकतम हुन सक्छ तर पूर्ण चाहिँ हुँदैन सन्तुष्टि भन्ने चिज ।
आफूले चाहेजस्तो त कसलाई के प्राप्त भएको होला र यो संसारमा ? मेरो पनि त्यहि हो । प्रयत्न जारी छ, लाखौँको सतही भिडलाई उफार्नेभन्दा सीमित तर उच्च बौद्धिक मथिङ्गल खल्बल्याउन सक्ने साहित्य सिर्जना गर्न सकूँ भन्ने धोको चाहिँ जिउँँदो छ मभित्र ।

तपाईंका प्रकाशित कृतिहरू के कति आएका छन् बजारमा ? हाल के लेख्दै हुनुहुन्छ ?
हालसम्म दुईवटा गीतसङ्ग्रह, नौवटा एकल गीति एल्बम, तीनवटा सम्पादित गीत र कवितासङ्ग्रहहरू प्रकाशित भएका छन् । फुटकर लेख, गीत, कविता, गजल, मुक्तक त विभिन्न पत्रपत्रिकाहरूमा बेलाबेला आइरहेका छन् । गीतहरू चाहिँ १२५ भन्दा बढी रेकर्ड भएर प्रसारित छन् । एउटा उपन्यासको तयारीमा छु, अब चाँडै नै केही पुस्तकहरू प्रकाशन हुँदैछन् ।

अहिले के पढ्दै हुनुहुन्छ ?
म विशेषगरी बायोग्राफी, अध्यात्मिक जीवन दर्शन, संघर्षशील जीवनका आत्मकथाहरू पढ्छु । गीत, गजल र कविता पनि पढ्छु । हाल म परमहंस योगानन्दद्वारा लिखित ‘योगीको आत्मकथा’ पढ्दैछु ।

अन्त्यमा केही भन्नु छ कि विशेष ?
जिन्दगी अनमोल छ, जिन्दगीमा सुखीभन्दा पनि खुसीसाथ बाँच्ने प्रयत्न गर्नुपर्छ । यसका निम्ति कुनै न कुनै पुण्यको काम चाहिँ गर्नैपर्छ, पुण्यकर्म भनेको सेवा हो । त्यो मानव सेवा पनि हुन सक्छ, जननी र जन्मभूमिको सेवा पनि हुन सक्छ । भाषा, साहित्य, कला र संस्कृतिको सेवा पनि मातृभूमिको सेवा हो । त्यसैले हामी जहाँ बसे पनि आफ्नो भाषा, संस्कृति, कला, साहित्यको माध्यमबाट आफ्नो माटोको सुवासलाई विश्वभर फैलाउन सक्यौं भने जन्मभूमिप्रतिको दायित्व पूरा गरेको ठहर्ला । मानिस भएर जन्मनुको सार्थकता पनि सिद्ध हुन सक्ला । अतः नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना र उन्नयनमा सक्रियतासाथ काम गरेर जननी र जन्मभूमिप्रति सधैँ नतमस्तक रहनु नै मेरो पनि अभीष्ट हो । अन्तमा, अमूल्य समय खर्चेर मलाई सम्झनुभयो, मेरा भावहरूलाई जनमानसमा पु¥याउने माध्यम बनिदिनुभयो, यसका लागि तपाईं र हिमालय टाइम्सप्रति आभारी छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?