पुस्तक : ‘श्रीकान्त रेग्मी स्मृतिग्रन्थ’

हिमालय टाइम्स
Read Time = 7 mins

✍️ सुशीला घिमिरे

मेरा हातमा अहिले एउटा मोटो पुस्तक छ ‘श्रीकान्त रेग्मी स्मृति ग्रन्थ’ शीर्षकमा । यस पुस्तकको अध्ययनबाट थाहा भयो स्वर्गीय रेग्मी पूर्वप्रशासक हुनुहुन्थ्यो । इमानदार, निडर र स्वाभिमानी हुनुहुन्थ्यो उहाँ । उहाँका यस्तै क्षमता र विशेषता यस पुस्तकमा लेखिएका छन् । यस पुस्तकका सम्पादक हुनुहुन्छ कमल कोइराला । शेखर रेग्मी तथा सागर रेग्मी प्रकाशक रहनुभएको पुस्तक प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्व रेग्मीका योगदानको स्मरण गरेर प्रकाशित गरिएको छ । पहिलो संस्करणका रूपमा स्वर्गीय रेग्मीको प्रथम वार्षिक पुण्यतिथिको सन्दर्भ पारेर २०७९ भदौमा प्रकाशित यो पुस्तकको टङ्कण हरिमाया वाग्लेको रहेको छ भने मुद्रण बन्धु अपसेट प्रेस पोखरा-९ नयाँ बजारमामा भएको छ । पुस्तक निकै मोटो छ र यसमा प्रयोग भएको तौलयुक्त कागजका कारण यो उचाल्दा पनि निकै गह्रौं छ ।

डिएमआई साइजमा रहेको यस पुस्तकको छपाइस्तरीय छ तर अशुद्धिहरू कतै कतै भेटिन्छन् । १००० को संख्यामा छापिएको यस पुस्तकको मूल्य उल्लेख भएको छैन जसले गर्दा यो पुस्तक बिक्रीका लागि होइन भन्ने थाहा हुन्छ । आवरणमा स्वर्गीय रेग्मीको तस्वीर राखिएको छ । गाढा नीलो पृष्ठभूमिमा रहेको आवरणको माथि राता ठूला अक्षरमा ‘श्रीकान्त रेग्मी’ लेखिएको छ र त्यससँगै साना नीलो अक्षरमा ‘स्मृतिग्रन्थ’ लेखिएको छ र तल साना अक्षरमा सम्पादक कमल कोइरालाको नाम उल्लेख भएको छ ।

राष्ट्रका लागि योगदान गरेका यस्ता व्यक्तिहरूको यसरी सम्मान गर्ने कार्य राष्ट्रबाटै हुनसके अझै उचित हुन्थ्यो त्यो हाम्रो देशबाट सम्भव नहुने भएकै कारणले होला परिवार तथा शुभचिन्तकहरूबाट यस्ता प्रयास गर्नुपर्ने बाध्यता छ ।

पुस्तक भूमिका खण्ड, परिचय खण्ड, पाठ्यखण्ड, श्रद्धाञ्जलि तथा समवेदना खण्ड, विभूषण तथा सम्मानपत्र खण्ड र तस्वीर खण्डसहित ५०४ पृष्ठको छ । यस पुस्तकको पृष्ठ आवरणमा रेग्मीका पारिवारिक तस्वीरहरू राखिएका छन् । आवरणको भित्रपट्टि नेपाली कांग्रेसका नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौड्ल, गोपालमान श्रेष्ठ, गोविन्दराज जोशी, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वमन्त्री शङ्करप्रसाद कोइराला र पूर्वप्रशासक उमेशप्रसाद मैनालीहरूका उहाँसम्बन्धी भनाइहरू राखिएका छन् ।

त्यसपछि श्रीकान्त रेग्मी स्मृतिग्रन्थ प्रकाशन समितिका पदाधिकारी तथा सदस्यहरूको नाम दिइएको छ । जसअनुसार खगेन्द्रराज रेग्मी र डिलकुारी रेग्मी संरक्षक, वामनप्रसाद न्यौपाने र ताना गौतम सल्लाहकार, विश्वप्रकाश पण्डित संयोजक, ईश्वरराज रेग्मी सदस्यसचिव, विष्णुप्रसाद पोखरेल मुख्य व्यवस्थापक रहनुभएको छ । यसैगरी बालकृष्ण पन्थी, कमलराजरेग्मी, गुप्तबहादुर श्रेष्ठ, डा.गणेश रेग्मी र डोलराज शर्मा सदस्य रहनुभएको छ । त्यसपछिको पृष्ठमा स्वर्गीय रेग्मीको पूर्णकदको फोटोसहित यस स्मृतिग्रन्थसम्बन्धी विवरण छ । अर्को पृष्ठमा उहाँको बंशबृक्ष दिइएको छ ।

त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ग्रन्थका लागि शुभकामना, प्रकाशकीय, सम्पादकीय र त्यसपछि विषयसूची ‘अनुक्रमणिका’ शीर्षकमा रहेका छन् । श्रीकान्त रेग्मी पूर्वप्रकाशक हुनुहुन्थ्यो । उहाँले नेपाल सरकारको सचिवको जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँकै स्मृतिमा प्रकाशित भएको यस स्मृतिग्रन्थममा पाँच खण्ड रहेका छन् । पहिलो खण्डमा यस ग्रन्थका सम्पादक कमल कोइरालाले लेख्नुभएको रेग्मीको जीवनी दिइएको छ भने दोस्रो खण्डलाई लेखरचना खण्ड भनिएको छ । यस खण्डका रेग्मीका बारेमा विभिन्न ७६ जना लेखकहरूका लेख रचनाहरू समावेश गरिएको छ ।

यस खण्डका लेखकहरू नेपाल सरकारका उच्च्पदस्त अधिकारीहरू, संवैधानिक निकायका प्रमुख तथा सदस्यहरू पूर्वप्रधानन्यायाधीश वरिष्ठ पत्रकार तथा साहित्यकारहरू रहनुभएको छ । पुस्तकको तेस्रो खण्ड श्रद्धाञ्जलि तथा समवेदना खण्ड शीर्षकमा छ भने चौथो खण्ड विभूषण तथा सम्मानपत्र खण्डका रूपमा रहेको छ । अन्त्यमा पाँचौँ खण्ड तस्वीर खण्डका रूपमा रहेको छ । यसरी स्वर्गीय रेग्मीका आफन्त साथीभाइ शुभचिन्तकहरूको प्रयासमा उहाँको स्मरण गर्दै यो ग्रन्थ प्रकाशित भएको छ त्यो प्रशंसनीय छ ।

राष्ट्रका लागि योगदान गरेका यस्ता व्यक्तिको यसरी सम्मान गर्ने कार्य राष्ट्रबाटै हुनसके अझै उचित हुन्थ्यो त्यो हाम्रो देशबाट सम्भव नहुने भएकै कारणले होला परिवार तथा शुभचिन्तकहरूबाट यस्ता प्रयास गर्नुपर्ने बाध्यता छ । जे होस् उहाँको यति भए पनि सम्मान हुन सकेको छ त्यसका लागि यो स्मृतिग्रन्थ प्रकाशन समितिलाई धन्यवाद छ । स्वर्गीय रेग्मीबारे जानकारी लिन चाहने व्यक्तिहरूका लागि यो स्मृतिग्रन्थ उपयोगी सिद्ध हुन सक्छ । यस्ता प्रयास अरूबाट पनि हुनु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?