प्रमुख अतिथिको सकस !

डा. नारायण चालिसे
Read Time = 15 mins

म अहिलेसम्म कुनै पनि सभासमारोहमा प्रमुख अतिथि बनेको छैन । खोइ किन हो मैले आजसम्म पनि प्रमुख अतिथि बन्ने हैसियत बनाउन सकेको छैन । यो उमेरसम्म पनि त्यो अवसर नपाएकाले मेरा लागि यो उपाधि दुरुह जस्तै लागिरहेको छ । दुरुह यस मानेमा कि प्रमुख अतिथि प्रमुख अतिथिकै योग्यतामा हुनु राम्रो हो । कसैले त्यसरी निम्ता नगरेकैले होला वा हुनसक्छ म त्यो उचाइमा नपुगेकाले हो । उचाइका धेरै प्रावधानहरू हुन सक्छन् ।

वास्तविक योग्यता जुन मैले पनि चाहेको कुरा हो त्यो अझै नपुगेकाले अथवा म त्यस्तो कुनै उच्च सार्वजनिक ओहदामा नपुगेकाले वा कुनै किसिमको अन्य अतिरिक्त योग्यताको हैसियत बनाउन नसकेकाले प्रमुख अतिथिको उपाधि आजसम्म मेरा लागि प्राप्त हुन सकेको छैन । तर देशमा दिनहुँ यति धेरै धेरै कार्यक्रमहरू हुन्छन् र ती सबै कार्यक्रममा कुनै न कुनै व्यक्ति प्रमुख अतिथि बनिरहेको हुन्छ । यति हुँदा पनि मलाई कसैले आजसम्म प्रमुख अतिथिको निम्ति निम्ता नगर्नु भनेको सबैले बुझौँ मेरो हैसियत के रहेछ ? तर, कार्यक्रमहरूमा जाँदा, प्रमुख अतिथि भएका व्यक्तिहरूलाई देख्दा, उनीहरूका कुरा सुन्दा, तिनीहरूलाई परेको सकस देख्दा भने प्रमुख अतिथि बन्न नपरेकोमा सन्तोष पनि लागिरहेको छ ।

प्रमुख अतिथि भनेको सम्मानित एवम् विशिष्ट व्यक्ति भएकाले र उसले गर्ने कुरा बढी नै महत्वका हुने भएकाले सके सम्बन्धित विषयमा नभए लोकहितका विषयमा आफूले जानेका कुरा गर्नु राम्रो हो । तर, आफूले जानेकै विषयको बखान गरिरहनु पनि त्यति उचित हो जस्तो लाग्दैन ।

यो कुनै कुण्ठा होइन बरू प्रक्रिया परिवर्तनको निम्ति आग्रह हो । कुनै सभासमारोहमा गयो प्रमुख अतिथि भनिएका व्यक्तिलाई हे¥यो, तिनका कुरा सुन्यो अनि मन निराश बनाएर आयो । यो क्रम धेरै हुन्छ र अत्यन्त थोरै व्यक्तिले मात्र प्रमुख अतिथिको हैसियत बनाउन सकेको जस्तो लाग्छ । हुन त प्रमुख अतिथि भनेको सर्वज्ञ मानिस होइन । कस्तो मानिस प्रमुख अतिथि हुनुपर्ने भन्ने मापदण्ड पनि छैन । उसले जे कुराको पनि जानकारी राख्नैपर्छ भन्ने पनि छैन । तर, आम बुझाइको आदर्श के छ भने प्रमुख अतिथि भनेको त्यस सभाको र त्यस विषयको सबैभन्दा जान्ने मानिस हो ।

त्यसैले प्रमुख आतिथ्य स्वीकार्नु भनेको सम्बन्धित विषयमा धेरथोर जानकारी राख्नु पनि हो भनेर बुझ्न सक्ने हो भने केही सकारात्मक सन्देश आउन सक्थ्यो र बन्नैपर्ने व्यक्तिमात्र प्रमुख अतिथि हुन्थे । सभाले पनि केही विषयगत लाभ लिन सक्थ्यो । आमन्त्रित सभामा केही थाहा पाइएला भनेर गयो सभाका वक्ता अतिथिहरू र प्रमख अतिथिहरूका अहङ्कारी वाणी या बोक्रे कुरा सुन्यो एक्तमासमको मन बनाएर फर्कियो । यो क्रम चलिरहेकै छ । यसको निम्ति कार्यक्रमको प्रकृति र सो विषयका विज्ञ को हुनसक्छन् भन्नेतर्फको दृष्टि हुन आवश्यक हुन्छ ।

त्यसो त प्रमुख अतिथिले यति कुरा जानेकै हुनुपर्छ भन्ने कुनै नियम वा आचारसंहिता छैन । अनि प्रमुख अतिथि हुनु भनेको सम्बन्धित सभाको विषयका बारेमा जानेरै आउनुपर्ने बाध्यकारी अवस्था पनि होइन । अनि अर्को कुरा पनि छ प्रमुख अतिथिले के बोल्ने ? सभाका विषयवस्तुका बारेमा बोल्ने कि ? आफूले जानेको ज्ञान बाँड्ने कि ? आफू जुन क्षेत्रमा छ त्यसका बारेमा भन्ने कि ? देशको विद्यमान परिस्थितिका बारेमा बोल्ने कि ? वा प्रमुख अतिथिलाई सबै कुरा गर्ने छुट हुन्छ कि वा यस्तै यस्तै । प्रमुख अतिथि हुनकै निम्ति नयाँ विषयका बारेमा पढ्नुपर्ने अवस्था आइलाग्ने बाध्यता हुने हो भने धेरै मानिसहरू त्यस्तो प्रमुख अतिथि बन्न मन गर्दैनथे । साथै त्यसरी प्रमुख अतिथिलाई बाध्य पार्नु पनि किमार्थ उचित होइन ।

सम्मान गर्न बोलाउने अनि बाध्य पार्ने काम राम्रो होइन । तर, यति कुरा पक्कै हो प्रमुख अतिथि बन्न आग्रह हुँदा म उक्त सभामा जान उचित हो कि होइन भन्ने कुरा प्रमुख अतिथिले ख्याल गर्नु अझ राम्रो हो । मेरा विचारमा प्रमुख अतिथि भनेको सम्मानित एवम् विशिष्ट व्यक्ति भएकाले र उसले गर्ने कुरा बढी नै महत्वका हुने भएकाले सके सम्बन्धित विषयमा नभए लोकहितका विषयमा आफूले जानेका कुरा गर्नु राम्रो हो । तर यसो भनेर आफूले जानेकै विषयको बखान गरिरहनु पनि त्यति उचित हो जस्तो लाग्दैन ।

तर, हामीलाई त हाम्रो मानिस चाहिएको हुन्छ । ठूलो मानिस चाहिएको हुन्छ । प्रसिद्ध व्यक्ति प्रमुख अतिथि चाहिएको हुन्छ । जसको उपस्थितिले सभाले आफूलाई अरू धेरैभन्दा फरक मूल्याङ्कन गरोस् । तर त्यस्तो मानिससँग हामीलाई चाहिएको प्रमुख अतिथिको योग्यता नहुन सक्छ । जसका कारणले धेरैजसो सभाका प्रमुख अतिथिहरू विषयान्तर कुरा गरेर सभाबाट हतार हतार बाहिर निस्कन्छन् वा अन्टसन्ट कुरा गरेर विषयको गरिमालाई उपेक्षा गर्छन् ।

२०६९ सालको कुरा हो नेपाली काङ्ग्रेसका तत्कालीन पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइराला मेरो पुस्तक लोकार्पण सभाका प्रमुख अतिथि हुनुहुन्थ्यो । कतितिरबाट कुरा पुर्‍याएर उहाँलाई मैले मेरो पुस्तकको लोकार्पणको प्रमुख अतिथि बनाएको थिएँ । उहाँलाई एकदुई दिन पहिलेमात्र मैले आफ्नो पुस्तक उपलब्ध गराएको थिएँ तर उहाँले त्यो पुस्तक हेर्नसम्म पनि भ्याउनु भएनछ । त्यो कुरा पनि मलाई थाहा थियो उहाँले त्यो पुस्तक हेर्न भ्याउनुहुन्न र त्यसका बारेमा केही भन्ने कुरा पनि उहाँबाट हुँदैन तर मलाई त उहाँ नै प्रमुख अतिथि चाहिएको थियो । उहाँ कार्यक्रममा आउनुभयो र बोल्ने क्रममा अत्यन्त इमानदारीपूर्वक भन्नुभयो ‘मैले पुस्तक पढ्न भ्याएकै छैन’ र अर्को रोचक कुरा भन्नुभयो ‘यति ठूलो किताब पनि लेखिँदोरहेछ ।

मैले आजसम्म यति ठूलो किताबको विमोचन गरेको थिइन । साथै पक्कै पनि यति ठूलो किताबमा धेरै राम्रा कुरा होलान् । यति ठूलो किताब तयार गर्ने लेखक धन्यवादका पात्र हुनुहुन्छ । म उहाँलाई बधाई दिन्छु ।’ बस् मेरो निम्ति यत्ति कुरा चाहिएको थियो । मैले सुशील कोइरालाजस्ता विशिष्ट व्यक्तिलाई आफ्नो प्रमुख अतिथि बनाएँ मेरो अहङ्कारको निम्ति यही पर्याप्त थियो । प्रमुख अतिथिले किताबका विषयमा के भन्नुपर्छ भन्ने कुरा मेरा लागि त्यति महत्वपूर्ण कुरै थिएन । किताबका विषयमा बोल्नको निम्ति त अन्य विद्वान् वक्ताहरू हुनुहुन्थ्यो ।

हालसालै एउटा पुस्तक विमोचनको सभामा उपस्थित हुने अवसर मिल्यो । उक्त सभामा पनि यो मुलुकका कुनै संवैधानिक निकायका माननीयज्यू प्रमुख अतिथि हुनुहुन्थ्यो । धेरै व्यक्तिले चिनेका उहाँ योग्य हुनुहुन्थ्यो भन्ने विषयमा कुनै सन्देह नै थिएन । उहाँ सभामा उपस्थित भएपछि सभाको गरिमा बढेको थियो यही नै पर्याप्त थियो । कार्यक्रममा जब प्रमुख अतिथिज्यूको सारगर्भित मन्तव्यको पालो आयो । उहाँ पोडियममा जानुभयो र भन्नुभयो ‘म यो विषयको ज्ञाता होइन तर अर्को अमूक विषयको भने ज्ञाता हुँ । म जहाँ छु त्यहाँ र जे पढेँ त्यस विषयमा मैले आफूलाई अब्बल बनाउने कोसिस गरेको छु’ भन्नेदेखि लिएर आफ्नो अतिरिक्त योग्यताका केही कुरा गरेर आफ्नो प्रमुख अतिथीय मन्तव्य समापन गर्नुभयो ।

मलाई उहाँका भनाइ पनि ठीकै किन लागे भने नजानेका विषयमा अन्टसन्ट बोलेर विषयको गरिमा घटाउनुभन्दा त्यस विषयमा नबोल्नु धेरै राम्रो हो । रहृयो उहाँले जे विषयमा बोल्नुभयो त्यो विषय महत्वपूर्ण हुँदाहुँदै पनि सभाले अपेक्षा गरेको विषय थिएन । मैले त्यहाँनेर प्रमुख अतिथिज्यूलाई परेको असजिलोको अन्दाज गरेँ । नबोलौँ प्रमुख भइएको छ केही कुरा नबोली भएन । बोलौँ सम्बन्धित विषयको आफू जानकार होइन । त्यस्तो बेला उहाँले खोजेको निकासको बाटो उपयुक्त थियो । आफूले जेजानेको छ अथवा आफू जुन क्षेत्रमा रहिएको छ त्यसै क्षेत्रको कुरा गरेर सभालाई केही कुरा सुसूचित गराउनु बरू राम्रो ।

प्रमुख अतिथि बोलाउँदा विषय मिल्दो व्यक्ति र सम्बन्धित विषयमै रुचि भएको व्यक्ति खोज्नु उपयुक्त हो । आफ्नो मानिस छ भन्दैमा विषयको प्रकृति नमिल्ने व्यक्तिलाई उभ्याएर उसलाई अप्ठ्यारोमा पार्नु त्यति उचित होइन ।

अब यहाँ सोचनीय कुरा के हो भने प्रमुख अतिथि बोलाउँदा विषय मिल्दो व्यक्ति र सम्बन्धित विषयमै रुचि भएको व्यक्ति खोज्नु उपयुक्त हो । आफ्नो मानिस छ भन्दैमा विषयको प्रकृति नमिल्ने व्यक्तिलाई उभ्याएर उसलाई अप्ठ्यारोमा पार्नु त्यति उचित होइन । त्यसैगरी सभामा आउने प्रमुख अतिथिज्यूहरूले पनि आफू कस्तो ठाउँमा प्रमुख अतिथि भएर जानु उचित हो र कहाँ उचित होइन भनेर सोचिदिने हो भने भइपरी आउने यस्ता असजिलाबाट बँचिन्थ्यो र सभाले पनि अर्को विषयगत मानिस पाउँथ्यो ।

यसरी नै धेरै कार्यक्रमका प्रमुख अतिथिहरू चयन हुन्छन् र त्यसरी नै प्रमुख अतिथिहरूले आफ्नो असमर्थता प्रकट गरिरहन्छन् । तर, हरेक सभालाई एकजना प्रमुख अतिथि चाहिन्छ, एकजना वा सोभन्दा बढी विशिष्ट अतिथिहरू चाहिन्छन् अनि किताब विमोचन रहेछ भने एक दुईजना समीक्षकहरू पनि चाहिन्छन् । ती समीक्षकहरू जसले पुस्तक पूरै पढेर आफ्ना धारणा बनाएका हुन्छन् ती विचरा समीक्षकलाई समयको पावन्दी हुन्छ । धेरै विशिष्ट व्यक्तिको शुभकामनापछि उनीहरूको पालो आउँछ साथमा एउटा चिर्कटो पनि हुन्छ । दश मिनेटमा आफ्ना कुरा राख्नुहोला ।

ऊ पनि सोह्रश्राद्धको बाहुनले झैँ हतारहतार आफ्ना कुरा सकेर बाहिरिन्छ । हाम्रो चरित्र नै यस्तो भइसकेको छ कि पुस्तकको वास्तविक समीक्षा होइन समीक्षकले दुईचार वाक्य आफ्नो प्रशंसामा बोलोस् अनि जाओस् । किनकि शुभकामना दिने, विशिष्ट आशनमा बस्ने र प्रमुख अतिथिको आशनमा भएका व्यक्तिहरूलाई बढी समय दिनुपर्ने बाध्यकारी अवस्था हुन्छ । क्तिावको समीक्षा केवल बहानामात्र हो । हामीलाई प्रमुख अतिथि र विशिष्ट अतिथिको उपस्थिति र उनीहरूको माया, स्नेह वा आशीर्वाद चाहिएको हुन्छ । प्रिय सञ्चेतना ¤ शहरमा दिनहुँ यसरी सम्पन्न हुने सभाहरू र तिनका प्रमुख अतिथिज्यूहरूको सकसलाई देख्दा साँच्चै म आफू प्रमुख अतिथि हुन नपाएकोमा मलाई कत्ति पनि गुनासो छैन । र यसरी बाध्य हुने परिस्थिति कसैलाई नआओस् भन्ने मेरो कामना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?