श्रीमान विदेश भएका महिलाले पनि गराउँछन् गर्भपतन

फाइल तस्वीर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । अहिले बजारका औषधी पसलहरुमा छ्याप्छ्प्ती गर्भपतन गराउने औषधीहरु पाइन्छन् । कानुनत सरकारले अनुमति दिएका औषधी पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधी बेच्न पाउँछन् । तर धेरै निजी अस्पतालहरुले जथाभावि रुपमा यस्ता औषधीहरु बेच्ने गरेका छन् ।

पछिल्लो समय असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण गर्भपतन गराउने क्रम बढ्दो छ । ग्रामीण इलाकामाभन्दा बजार क्षेत्रमा गर्भपतन गराउने महिलाको संखया बढी भएको पाइन्छ । बागलुङमा गर्भपतन गराउनेको संख्या हरेक वर्ष बढ्दै गएको पाइन्छ ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५७६ जनाले गर्भपतन जस मध्ये २० वर्ष मुनिका छ जना छन् भने त्यसभन्दा माथिका ५७० जना रहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ६९८ जनाले गर्भपतन गराएका छन् । जसमा चार जना २० वर्ष मुनिका छन् । २०७८/०७९ मा ६९१ जनाले गर्भपतन गराएका छन् । जसमा तीन जना २० वर्ष मुनीका छन् ।

चालु आर्थिक वर्षको आठ महिनामा २० वर्ष मुनिका एक जनासहित ४८१ जनाले गर्भपतन गराएका छन् । यस आर्थिक वर्षको अन्तिमसम्म अझै बढ्न सक्ने आँकलन गरिएको छ । अहिले अवैध सम्बन्ध राखेकाहरु गर्भपतन गराउन आउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । सरकारी स्वास्थ्य संस्था नआई स्वास्थ्यलाई जोखिममा राखेर महिलाहरु अनुमति प्राप्त नगरेर अस्पतालहरुमा गर्भपतन गराउने गरेको पाइएको छ । जिल्लाको ढोरपाटन नगरपालिका-१ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चालु आर्थिक वर्षको हालसम्म एक सय ८६ जनाले गर्भपतन गराएका छन् ।

स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर निरज सुवेदीले चालु आर्थिक वर्ष सकिदासम्म यो संख्या धेरै बढ्न सक्ने बताउनुहुन्छ । अविवाहित महिला, सम्बन्ध बिग्रेकाहरु पनि गर्भपतन गराउन आउने गरेको डाक्टर सुवेदीले बताउनुभयो । महिला पुरुष दुवैले यौन सम्पर्कका बेला स्थायी तथा अस्थायी साधानहरु प्रयोग नगर्दा पछिल्लो समय गर्भपतन गराउने महिलाहरु बढेको उहाँको भनाई छ ।

“उमेर पुगेका महिलादेखि किशोरीहरु पनि गर्भपतन गराउन आउनुहुन्छ, अशिक्षा र यौन सम्पर्कका बेला सवधानी नअपनाउँदा गर्भपतन गराउनु पर्ने बाध्यतामा महिलाहरु हुन्छन्” डाक्टर सुवेदीले भन्नुभयो- “यो तथ्याङ्क अस्पतालमा आएर सुरक्षित रुपमा गर्भपतन गराएकाहरुको हो, यो बाहेक बाहिर असुरक्षित रुपमा गर्भपतन गराउनेहरु पनि हुन्छन्, लाज र डरले गर्दा उनीहरु अस्पताल आउँदैनन्, औषधी खाएर गर्भ फाल्छन् ।”

गलकोट नगर अस्पतालमा पनि गर्भपतन गराउनेको संख्या बढि रहेको पाइएको छ । नगर अस्पतालका प्रमुख डाक्टर राजेश पौडेलकाअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४० जना महिलाले अस्पतालमा आएर गर्भपतन गराएकोमा चालु आर्थिक वर्षको आलसम्म ५० जनाले सुरक्षित गर्भपतन गराएका छन् । महिलालाई औषधी खुवाएर र अप्रेशन गरेर गर्भपतन गराइने डाक्टर सुवेदीको भनाई छ ।
बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले पछिल्लो समय दुईभन्दा बढी सन्तान जन्माउन छोडेपछि गर्भपतन गराउनेको सख्या बढेको बताउनुहुन्छ । स्वास्थ्य संस्थाहरुमा सुरक्षित रुपमा गर्भपतन हुन्छ भन्ने महिलाहरुको चेतना वृद्धि भएपछि वार्षिक रुपमा केही संख्या बढ्नु स्वभाविक भएको उहाँको भनाई छ ।

प्रमुख खनाल भन्नुहुन्छ- “अहिले मान्छेहरुले धेरै बच्चा जन्माउन चाहँदैनन्, छोराको चाहाना धेरैले राख्छन्, छोरी-छोरी भए भने पनि उनीहरुले छोराको लागि प्रयास गर्ने र फेरी छोरी हुने देखिएपछि गर्भपतन गराउने गराएको पाइन्छ ।”

धौलागिरी अस्पतालमा पनि गर्भपतन गराउने महिलाको संख्या बढी छ । अघिल्लो आर्थिक वर्षमा तीन सय ४५ जना महिलाले गर्भपतन गराएका थिए । त्यस मध्य ४८ जना महिलाको जटिल किसिमले गर्भपतन गराएको अस्पतालकी सूचना अधिकारीका अञ्जना पौडलले बताउनुभयो । चालु आर्थिक वर्षको हालसम्म दुई सय ६० जना महिलाले गर्भवतन गराएको उहाँको भनाई छ । त्यस मध्ये १५ जनाको जटिल किसिमले गर्भपतन भएको पौडेलले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ- “एउटै मान्छे झुक्यिो भन्दै तीन/चार पटक आउने गर्छन्, अस्पतालमा आउनेलाई सहज रुपमा सुरक्षित गर्भपतन सेवा दिन्छौँ, यस वर्ष अझै बढ्ने संभवना देखिन्छ, यो त यहाँ अस्पतालमा आएर सुरक्षित गर्भपतन गराउनेको संख्या हो, बाहिर इलिगल औषधी खाएर गर्भपतन गराउने कति होलान् ?”

पछिल्लो समय परपुरुषसँग अवैध सम्बन्ध राखेर गर्भपतन गराउने महिलाको संख्या पनि उत्तिकै बढी रहेको एक स्वास्थ्यकर्मीको भनाई छ । महिनामा १२/१५ जना अविवाहित तथा परपुरुषसँग सम्बन्ध राखेका महिलाहरु औषधी सेवन गर्न आउने गरेको ति स्वास्थ्यकर्मीले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ- “अहिले त १५/१६ वर्षका किशोरीहरु पनि गर्भपतन गराउने औषधी ल्याउन आउँछन्, उनीहरुलाई सबै कुरा सोध्ने कुरा पनि भएन, प्राइभेट कुरा भयो, स्वास्थय अवस्था हेरेर औषधी दिने वा अप्रेशन के गरेर गर्भपतन गराउन सकिन्छ, त्यही गर्नुपर्छ, श्रीमान विदेश भएका महिलाहरुले पनि गर्भपतन गराउन आउनुहुन्छ ।”

पटक-पटक गर्भपतन गर्दा यस्ता समस्या आउन सक्छन्

बजारमा केही स्वास्थ्य संस्थाहरुले अनुमति नलिई असुरक्षित गर्भपत गराउने र औषधी बेच्ने गरेको पाइन्छ । यसले महिलाको स्वास्थ्यमा ठूलो असर गर्ने स्वास्थ्यकर्मीको भनाई छ । कतिपय महिलाले पटक-पटक गर्भपतन गराउनेसमेत गरेका छन् । यसले स्वास्थ्यमा असर पुर्‍याउनुका साथै अर्को पटक बच्चा नबस्ने जोखिम हुने हुने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर निरज सुवेदी बताउनुहुन्छ ।

धेरै पटक गर्भपतन गर्दा रगत बढी बगेर ज्यान जाने संभवना हुन्छ भने गर्भ पाठेघरभन्दा बाहिर बस्ने र ठूलै अप्रेशन गर्नु पर्ने अवस्था आउन सक्ने उहाँको भनाई छ । डाक्टर सुवेदी भन्नुहुन्छ- “गर्भपतन महिलाको स्वास्थ्यसँग जोडिएको हुन्छ, यो आपतकालिन अवस्थामा मात्रै गर्नु पर्छ, गर्भपतन नर्गनका लागि शारीरिक सम्पर्कका बेला स्थायी तथा अस्थायी साधानहरु प्रयोग गर्नुनै राम्रो हुन्छ, यत्ति सजहता अपनाइयो भने समस्या हुँदैन ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?