धुम्रपान र मूत्रथैलीको क्यान्सर

हिमालय टाइम्स
Read Time = 18 mins

✍️ प्रा.डा.अर्जुनदेव भट्ट

मूत्रथैलीको क्यान्सर भन्नाले के बुझ्नुपर्दछ ?
मूत्रथैलीको क्यान्सरले मूत्रप्रणालीको क्यान्सरमध्ये दोस्रो स्थान ओगट्ने गर्दछ । पुरुषहरूको निमित्त मूत्रप्रणालीको चौथो क्यान्सर सबैभन्दा बढी देखापर्ने अर्बुद रोग हो । यसले महिलामा आठौं स्थान ओगट्ने गर्दछ ।

पछिल्लो समय धुम्रपानको वृद्धिसँगै मूत्रथैलीको क्यान्सर ४१ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ । मूत्रथैलीको क्यान्सरले मूत्राशयको श्लेष्मा (म्युकोसा)का कोष्ठहरूको अस्वाभाविक वृद्धि भएर एक ठाउँ वा धेरै ठाउँमा रोगको विकास हुने गर्दछ । रोग बढ्दै जाँदा धेरैजसो पिसाबथैलभित्र मासु पलाएर बढ्ने गर्दछ भने केही प्रतिशतमा थैलीकै सतहमा भित्रभित्रै विकृति फैलिने हुन्छ । रोगको विकासको सिलसिलामा समय बित्दै गएपछि विकृतिको जरो पिसाबको थैलीबाहिर फैलिने र क्यान्सरका कोष्ठहरू जननेन्द्रिय, कलेजो, हड्डी, फोक्सो, मस्तिष्कजस्ता विभिन्न अंगतिर छरिने हुन्छ ।

पिसाबमा रगत देखापरेमा मूत्रथैलीको क्यान्सरको कारणाबाट त्यस्तो भएको हो वा अरू नै कारणले रगत आएको हो, त्यसको टुंगो लगाउनस ज्यादै महत्वपूर्ण हुन्छ ।

मूत्रथैली क्यान्सरका केही प्रमुख कारणहरू
पिसाबथैलीको क्यान्सर विभिन्न उमेरमा देखापरे पनि ५१ वर्षपछि बढी पाइन्छ । सातौं दशकमा यो रोग सबभन्दा बढी देखापर्दछ । खासगरी धुम्रपान तथा सुर्तीजन्यपदार्थ प्रयोग गर्नेहरूमा यो रोगको सम्भावना पाँच गुणाले बढी भएो पाइएको छ । त्यसगरी विभिन्न उद्योगधन्दा जस्तैः रंग बनाउने कारखाना, छाला बनाउने कारखाना र रबर कारखानामा काम गर्ने श्रमिकहरूलाई पनि मूत्रथैलीको क्यान्सर हुने सम्भावना सामान्य व्यक्तिलाई भन्दा बढी हुन्छ । साथै फेनासेटिन औषधिको प्रयोग गर्नेहरूमध्ये पनि यो क्यान्सर हुने सम्भावना उच्च रहन्छ । त्यस्तै पिसाबथैलीमा धेरै समयसम्म पत्थरी हुने, नली राखिराख्ने, एक प्रकारको जुका बाट पीडित र तल्लो पेटतिर विकिरणको उपचार गराउनेहरूमा पनि मूत्रथैलीको क्यान्सर बढी मात्रामा देखानपर्ने गर्दछ ।

मूत्रथैलीको क्यान्सर भएको कसरी थाहा हुन्छ ?
पिसाबमा देखिने गरी वा नदेखिने गरी विनापीडा रक्तश्राव हुनु मूत्रथैली क्यान्सरको ८५ प्रतिशत बिरामीहरूमा देखापर्ने एउटा मुख्य लक्षण हो । मूत्रथैलीमा संक्रमण भएको खण्डमा रक्तश्राव पीडासँगै वा पिसाब पोलेर पनि हुनसक्छ । पिसाब जाँच गर्दा रातो रक्तकोष्ठहरू देखापरे मूत्रथैलीको क्यान्सरको शंका मान्नुपर्ने हुन्छ र विनाकुनै लक्षण १६ प्रतिशत महिलाहरूमा र चार प्रतिशत पुरुषहरूमा मूत्रथैली क्यान्सर देखापर्दछ ।

सुर्तीजन्यपदार्थले फोक्सो, जिब्रो, आमाशय तथा मूत्रथैली क्यान्सरको विकासमा ठूलो भूमिका राख्दछ । हालको अध्ययन अनुसार औद्योगिक विकासमा पछिपरेका देशहरू जहाँ ठूलो रफ्तारमा धुम्रपान बढ्दै गएको छ, त्यहाँ मूत्रथैलीको क्यान्सरको संख्यामा निकै वृद्धि भएको पाइएको छ ।

पिसाबसंक्रमणको अवस्थामा जस्तै तर ज्यादै नराम्रोसँग महिनौ छिटोछिटो पिसाब फेरिराख्नुपर्ने, पिसाब ज्यादै पोल्ने, पिसाबमा रक्तश्राव पनि हुने, पिसाब फेर्न मन हुँदा रोक्न असम्भव हुने र पेटको तल्लो भाग दुख्ने गरेमा मूत्रथैलीको सतहमा भित्रभित्रै क्यान्सरूपी विकृति फैलिएको हुन सक्दछ । मूत्रथैलीको माथिल्लो भागमा क्यान्सर हुँदा नाइटोबाट पीप र रगत जाने र छाम्दा नाइटोमुनि ठूलो डल्लो महसुस हुने गर्दछ ।

मूत्रथैली क्यान्सरको रोग निदान
पिसाबथैलीको क्यान्सर निदान पिसाबमा अनियमित कोष्ठहरू भए, नभएको जाँज गरिन्छ । खास गरेर सतहमा फैलिएको क्यान्सरमा वा पिसाबथैलीको मासुभित्र धेरै समयदेखि फैलिएको जरो फैलाउने क्यान्सर बाट पिसाबमा अनियमित कोष्ठ देखानपरे क्यान्सर छैन भनी ठोकुवा गर्न मिल्दैन ।

औषधि दिएर मूत्रप्रणालीको एक्स-रे गरेर पिसाबको थैलीमा क्यान्सर भएको पत्ता लगाउन सकिन्छ तर ज्यादै सानो अवस्थामा रहेको क्यान्सर भएको पत्ता नलाग्न सक्दछ । यद्यपि सिटीस्क्यान गरेर सानै क्यान्सर पनि पत्ता लगाउन सकिने सम्भावना अझै धेरै हुन्छ । पिसाबको थैलीभित्र जरा घुसारेर फैलिने क्यान्सर भए सिटीस्क्यानले क्यान्सर कहाँसम्म पुगेको छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।
पिसाबनली हुँदै दूरबिन लगाएर पिसाबको थैली जाँच गर्ने विधि सिस्टोस्कोपीबाट क्यान्सरलाई पत्ता लगाउन सकिन्छ । त्यही समयमा शंकास्पद ठाउँबाट टुक्राहरू निकालेर ब्यापोसी गरी कुन प्रकारको क्यान्सर हो ? अर्थात् (पिसाब थैलीको मासुभित्र नफैलिने, पिसाबको थैलीको मासुभित्र घुस्ने वा पिसाबथैलीको सतहमा घातक रुपमा फैलिने) त्यसको पनि राम्रो अध्ययन गर्न मिल्छ ।

सिस्टोस्कोपी पिसाबमा रक्तश्राव हुँदा थैलीको क्यान्सर छ वा छैन भनी पत्ता लगाउने एउटा ज्यादै भरपर्दो विधि हो । सिस्टोस्कोपीको अर्को फाइदा के पनि छ भने क्यान्सर एक ठाउँमा वा धेरै ठाउँमा पलाएको छ, त्यो पलाएो ठाउँ मृगौलाबाट पिसाबथैलीमा आउने मूत्रवाहिनी नलीहरू खुल्ने ठाउँबाट कति टाढा छ ? क्यान्सरको फेद मसिनो वा मोटो कस्तो छ ? जस्ता ज्यादै महत्वपूर्ण सूचनाहरू प्राप्त गर्न सकिन्छ । यी सूचनाका आधारमा शल्यक्रियाको निम्ति समयमै राम्रो खाका तयार पार्न सकिन्छ । यदि क्यान्सरले मूत्रनली तथा प्रोष्टेटलाई पनि छोइसकेको छ भने त्यहीअनुरूप शल्यक्रियाको रूपरेखा तयार गरिन्छ ।

सिस्टोस्कोपीको सीमाबन्धनले क्यान्सर पिसाबथैलीभित्र कति फैलिसक्यो र शरीरको अरू भागमा कहाँ कहाँ पुगिसक्यो ? भन्ने सूचना पाउन सकिन्न । त्यसैले कुनै पनि एउटै जाँचले जति महत्वपूर्ण र सूचना उपलब्ध गराउन सक्ने किन नहोस् कुन प्रकारको उपचार गर्नुपर्ला र शल्यक्रियाबाट कस्तो फल उपलब्ध होला ? भनेर ठोकुवा गर्न सकिँदैन । विभिन्न विधिबाट जाँचेर सबै सूचनालाई संयोजन गरेर रोगको पूर्ण निदान र उपचारको रूपरेखा तयार पार्नुपर्छ ।

मूत्रथैली क्यान्सर वर्गीकरणको महत्व
मूत्रथैली क्यान्सर वैज्ञानिकतवरले उपचार गर्न सर्वप्रथम त्यसको वर्गीकरण गरिन्छ । यस रोगको स्थिति र त्यसको किलनिकल प्रदर्शण हेरेर उपचार सुरु गरिन्छ । त्यसबाट थप सूचना बटुलेर रोगको वर्गीकरण तथा श्रेणीकरण गर्दैै उपचार अर्को चरणमा बढाइन्छ ।
रक्तश्राव भइरहेको क्यान्सरलाई खुर्केर प्रारम्भिक उपचार गर्दै रोगीलाई रक्तश्रावको जटिलताबाट जोगाउँदै खुर्कोके मासु जाँचेर नतिजा उपलब्ध भएपछि थप उपचार वर्गीकरण तथा श्रेणीकरण अनुसार गरिन्छ भने क्यान्सरको मूत्रथैलीको मासुभित्र छिरेर शरीरका विभिन्न भागमा देखापर्ने हो वा माथिल्लो भागमा सीमित भएर हुर्कने खालको हो, त्यो थाहाँ पाएर बिरामीको भविष्यबारे पूर्वानुमान गर्न सकिन्छ ।

रोग शरीरको कुन-कुन भागमा फैलिएको छ ? कुन कोष्ठबाट रोगको उत्पत्ति भएको हो र तिनीहरू विकिरण र विभिन्न रासायनिक औषधिबाट निर्मूल गर्न मिल्ने खालको हुन् वा ती उपचारका विधिबाट त्यति राम्रो फाइदा पाउन नसकिने खालका छन् ? ती सबै सूचना उपलब्ध गर्नु ज्यादै महत्वपूर्ण हुन्छ । यस्ता महत्वपूर्ण सूचना उपलब्ध गर्न क्यान्सरको आकार, त्यसको उम्रेको ठाउँ र फेदको फैलावटजस्ता जानकारीबाट अड्कल काट्न सकिने भए पनि प्रयोगशालामा क्यान्सरको तन्तु जाँचेरमात्र पूर्णरूपमा वैज्ञानिक सूचना उपलब्ध हुन सक्छ । यसरी उपलब्ध भएका अति महत्वपूर्ण जानकारीका आधारमा बिरामीको उपचारको खाका तयार पार्ने गरिन्छ ।

मूत्रथैली क्यान्सरको शल्यउपचार
मांसपेशीमा नफैलिने खालको क्यान्सर भए दूरबिनको सहयोगले खुर्केर शल्यक्रिया गरिन्छ । यस्तो खालको शल्यक्रिया गर्दा बिरामीले आफ्नो मूत्रथैली भविष्यमा पनि प्रयोग गर्न सक्दछ । धेरै ठाउँमा क्यान्सर उम्रेको भए काटेर निकालेको तन्तुको तौल दश ग्रामभन्दा बढी भए क्यान्सरले मांसपेशीभित्र जरो हाल्ने सम्भावना बढी हुन्छ ।

बिरामीको प्रत्येक तीन-तीन महिनामा सिस्टोस्कोपी गरेर अनुगमन गरिरहनुपर्दछ । छिटोछिटो क्यान्सर पलाए वा धेरै ठाउँमा क्यान्सर उम्रदै गरे त्यस्ता बिरामीको शल्यक्रियाबाहेक रासायनिक र प्रतिरोधात्मक उपचार पनि सुरु गर्नुपर्ने हुन्छ । मुख्यतया मूत्रथैलीको मांसपेशीभित्र फैलने क्यान्सरको शल्यक्रिया बढी आमूल हुन्छ । मूत्रथैली र जोडिएर रहेका अंग जस्तैः प्रोष्टेट, मूत्रनली, पाठेघर, योनिको केही भाग, डिम्वाशय इत्यादि पनि निकाल्नपर्ने हुन्छ ।

सामान्यतया पुरुषहरूमा मूत्रथैलीको क्यान्सर महिलाहरूको अनुपातमा बढी हुन्छ । जहाँ महिलाहरू पुरुषसरह धुम्रपान गर्दछन् त्यहाँ पुरुष र महिलाबीच मूत्रथैली क्यान्सरको संख्यामा भने समानता भएर आउँछ । यदि धुम्रपानबाट टाढै रहने हो भने संसारमा पिसाबथैलीको क्यान्सरको संख्यामा ठूलो कमी आउनेछ ।

रोगको प्रारम्भको अवस्थामा मूत्रनलीलाई बचाउन मिल्छ र मूत्रथैलीको सट्टामा आन्द्राबाट नयाँ पिसाब थुपार्ने अंग बनाउने गरिन्छ । बिरामीले आफ्नो पिसाबनलीबाटै मूत्रनिष्कासन गर्नसक्छ । यस्तो शल्यक्रियापछि बिरामीलाई रासायनिक उपचार पनि गर्नुपर्ने हुन्छ । यदि मूत्रथैलीको मांसपेशीमा जरो हाल्ने खालका क्यान्सर शरीरको विभिन्न भागमा फैलिसकेको भए उनीहरूको मूत्रथैली पूरै निकाल्ने आमूल खालको उपचार गर्न मिल्दैन । तर, पिसाबमा रक्तश्राव कम गर्न र मूत्रसञ्चार सजिलो पार्न लघुकारी शल्यक्रिया गर्नुपर्ने हुन्छ । यस्तो शल्यक्रियाबाट रोग मत्थर पारिने र शरीरले धान्ने रासायनिक उपचार अभ्यास गर्न मिल्छ । धुम्रपान गर्नेहरूले मूत्रथैलीको क्यान्सर थाहा हुनासाथै जनुसुकै रूपमा भए पनि सुर्तीजन्य वस्तु सेवन गर्न बन्द गर्नेपर्छ । यसबाट रोगको आक्रमकतामा केही कमी आउने गर्दछ ।

शल्यक्रियापछिको अनुगमन
पिसाबथैलीको मांसपेशीमा नगहिरिने क्यान्सरको खुर्केर उपचार गरेपछि दुई वर्षसम्म हेरक तीन महिनामा सिस्टोस्कोपी गरेर काटेको क्यान्सर पलायो वा पालाएन तथा मूत्रथैलीको अरू ठाउँमा नयाँ क्यान्सर उम्रिएको छ वा छैन भनी हेर्नुपर्दछ । नत्र समय बित्दै जाँदा मांसपेशीभित्र नफैलिने क्यान्सर रूपान्तरण भई फैलने क्यान्सर हुँदै मांसपेशीभित्र घुस्न सक्ने भएर विकास हुन सक्छ । यदि दुई वर्षसम्म क्यान्सर वृद्धि भएको पाइएन भने वर्षको दुईपल्ट मात्रै सिस्टोस्कोपी गरेर हेर्न मिल्छ र चार वर्षसम्म क्यान्सरको वृद्धि देखानपरे एक वर्षपछि मात्र पछिल्लो पटक सिस्टोस्कोपी गरी ‘अब रोग हुँदैन होला’ भनी ढुक्क हुन मिल्छ ।

यस रोगको अनुगमनको सिलसिलामा पिसाबको थैलीभित्र क्षयरोगका किटाणु हाल्ने तथा रासायनिकपदार्थ मूत्रथैलीभित्र प्रयोग गरेर पनि क्यान्सरको विकासमा ह्रास ल्याउने प्रयत्न गरिन्छ ।

किन धुम्रमानविरुद्ध आवाज उठाउनुपर्छ ?
सुर्तीजन्यपदार्थले फोक्सो, जिब्रो, आमाशय तथा मूत्रथैली क्यान्सरको विकासमा ठूलो भूमिका राख्दछ । हालको अध्ययन अनुसार औद्योगिक विकासमा पछिपरेका देशहरू जहाँ ठूलो रफ्तारमा धुम्रपान बढ्दै गएको छ, त्यहाँ मूत्रथैलीको क्यान्सरको संख्यामा निकै वृद्धि भएको पाइएको छ । सामान्यतया पुरुषहरूमा मूत्रथैलीको क्यान्सर महिलाहरूको अनुपातमा बढी हुन्छ । जहाँ महिलाहरू पुरुषसरह धुम्रपान गर्दछन् त्यहाँ पुरुष र महिलाबीच मूत्रथैली क्यान्सरको संख्यामा भने समानता भएर आउँछ । यदि धुम्रपानबाट टाढै रहने हो भने संसारमा पिसाबथैलीको क्यान्सरको संख्यामा ठूलो कमी आउनेछ । (वरिष्ठ युरोलोजिस्ट भट्टको बहुउपयोगी पुस्तक ‘मूत्र र जननेन्द्रिय प्रणाली रोग, निदान तथा उपचार’ हालै प्रकाशित भएको छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?