स्ववियु निर्वाचन आज, केही क्याम्पसमा अनिश्चित

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज हुँदै छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसहरूमा आज स्ववियु निर्वाचन हुने भएको हो । नेता निर्माणको नर्सरी मानिने स्ववियु निर्वाचनको सबै तयारी पूरा भएको त्रिविले जनाएको छ । विभिन्न पार्टीनिकटका संगठनबाट उम्मेदवार बनेकाले स्ववियु चुनावले आम निर्वाचनको झल्कोसमेत दिने गरेको छ । कतिपय क्याम्पसहरूमा विभिन्न संगठन र समूहबीच विवादसमेत भएका छन् । विवादका कारण कतिपय क्याम्पसमा स्ववियु चुनावका प्रक्रियासमेत अगाडि बढ्न सकेको छैन । केही स्थानमा भने विवादका कारण मनोनयन प्रक्रिया अवरुद्ध भएको छ भने केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । २७ फागुनमा उम्मेदवारले मनोनयन गराएका थिए ।

यसपालिको स्ववियु निर्वाचनमा भित्ते लेखन, रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँसिएन । आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । आज देशभरका क्याम्पसहरूमा स्ववियु निर्वाचन भइरहँदा केही क्याम्पसमा भने स्ववियु सभापतिहरू निर्विरोध निर्वाचित भइसकेका छन् । चुनावअघि नै केही क्याम्पसहरूमा स्ववियुमा विभिन्न विद्यार्थी संगठनका उम्मेदवार अध्यक्षसहित कार्यसमितिमा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनमा मतदानका लागि चार आंगिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनियरिङ क्याम्पस, थापाथली इञ्जिनियरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले जानकारी दिनुभयो । ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ ।

विसं २०७३ देखि स्ववियु निर्वाचन मिश्रित प्रणालीमा हुन थालेको छ । यसपटक पनि स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा हुन थालेको हो । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

यस्तै, स्ववियु निर्वाचनमा उम्मेदवारका लागि उमेर हदबन्दी तोकिएको छ । विसं २०५१ चैत २८ गतेपछि जन्मिएका विद्यार्थी मात्र उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ ।

पानीका बोतल, पेट्रोल, डिजेल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोतल, रंग, मसी मतदानस्थलमा लैजान निषेध गरिएको छ । यस्तै, मोबाइल, क्यामेरा, झोला, लौरो, हेलमेट, चाबी, लाइटर, सलाई, नङकट, धारिलो हतियार, भाला, खुकुरी, चक्कु, छुरी जस्ता वस्तु मतदानस्थलमा लैजान प्रतिबन्ध गरिएको छ । स्ववियु निर्वाचनका लागि मतदानको समय आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?