दलीय राजनीतिलाई पच्छ्याउँदै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन

विष्णुप्रसाद खनाल
Read Time = 17 mins

आज चैत ५ गते त्रिभुवन विश्वविद्यालय क्याम्पसलगायत देशभरका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । केही क्याम्पसमा सहमातिको आधारमा प्रतिनिधिहरू छनौट भएका छन् भने केही क्याम्पसहरूमा झडप, तालाबन्दी र केही क्याम्पसमा निर्वाचन स्थगित भएको छ । हरेक राजनीतिक दलभित्र विभिन्न विद्यार्थी संघ, महिला संघ, किसान सघ, बुद्धिजीवी संघ, युवासंघलगायत विभिन्न संगठन रहेका हुन्छन् । पछिल्लो समयमा विद्यार्थी राजनीति केवल विद्यार्थी हकहितका लागि भन्दा पनि राजनीतिक दलका एजेण्डा कार्यान्वयन गर्नेतर्फ केन्द्रित भएको पाइन्छ ।

विश्वविद्यालय तथा क्याम्पसहरूमा भएका समस्यालाई समाधान गर्नेतर्फ भन्दा देशको चिन्ता गर्न थालेका छन् आजभोलि विद्यार्थी संगठनले जुन सान्र्दभिक नै छैन । आफ्नो घर भत्काएर समाजसेवा गरेजस्तै हो विद्यार्थीले विश्वविद्यालयका समस्या र विद्यार्थीका समस्यालाई वेवास्ता गरेर देशको बारेमा चिन्ता गर्नु भनेको । त्यसतर्फ, विद्यार्थी संगठनको ध्यान जानु जरूरी छ । हुन त विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेको भन्दै आन्दोलन, तालाबन्दी र खुकुरी हानाहानसमेत हुने गरेको छ । शिक्षाको केन्द्र मानिने क्याम्पस तथा विद्याविद्यालयमा गुण्डागर्दी, आन्दोलन तालाबन्दी हुनु विल्कुलै राम्रो होइन् र जुन अराजकताको मार्ग पनि हो ।

विश्वविद्यालय तथा क्याम्पस आफैंमा सरस्वतीको मन्दिर हो र विद्यार्थीहरू देश विकासका खम्बा हुन् तर ती खम्बाहरूमै धमिरा लाग्न थालेपछि, अध्ययन, अध्यापन गर्ने समयमा दलीय राजनीतिलाई कक्षा कोठामा भिœयाउँदा आजभोलि विश्वविद्यालय तथा क्याम्पसहरू पार्टी स्कुलजस्तै बन्न थालेका छन् ।

नेपालमा राजनीतिक दलहरूसँगै उनीहरूले आफ्नो प्रभाव र संगठन विस्तारका निमित्त विभिन्न जनवर्गीय संगठन निर्माण गरेको इतिहास छ । हरेक दलले युवा, विद्यार्थी, मजदुर, महिला आदिलाई विशेष प्राथमिकता दिएर जनवर्गीय संगठनको विकास, परिचालन गरी आफ्ना राजनीतिक एवं सांगठनिक गतिविधि गरिरहेको पाइन्छ । मूल राजनीतिक पार्टीको स्थापना तथा निर्माण सँगसँगै हरेक क्षेत्रमा आफ्नो प्रभाव विस्तार तथा एजेण्डालाई जनमानससम्म पुर्‍याउने एक भरपर्दो माध्यम पार्टीका जनवर्गीय संगठन हुने गर्दछन् भन्ने मान्यता नेपाली राजनीतिमा स्थापित भइसकेको छ । २००४ सालको ‘जयतु संस्कृतम आन्दोलनले विद्यार्थीको शक्ति वा भनौं सबल पक्षबारे तत्कालीन सत्ता र राजनीतिक दल सचेत नै थिए ।

त्यस बेलाको सत्तालाई गतिलो, संगठित र सुविचारित ढंगले विरोध प्रदर्शन गर्न उक्त आन्दोलन प्रभावशाली भएको पाइन्छ । विश्वविद्यालय तथा क्याम्पस आफैंमा सरस्वतीको मन्दिर हो र विद्यार्थीहरू देश विकासका खम्बा हुन् तर ती खम्बाहरूमै धमिरा लाग्न थालेपछि, अध्ययन, अध्यापन गर्ने समयमा दलीय राजनीतिलाई कक्षा कोठामा भित्र्याउँदा आजभोलि विश्वविद्यालय तथा क्याम्पस पार्टी स्कुलजस्तै बन्न थालेका छन् । एकातिर सेमेस्टर सिस्टमको नाममा विश्वबैंकको एजेण्डा लागू गरिरहेको छ विश्वविद्यालयले भने अर्कातिर तीन महिनामा निस्कने परीक्षाफल एक वर्ष लाग्ने अवस्था छ ।

पर्याप्त पाठ्यपुस्तकहरूको अभाव छ । पुस्तकालय व्यवस्थित छैन, शौचालय र खानेपानी व्यवस्थित छैन । समयमा पढाइ नहुने र परीक्षाको दिनसम्मसमेत कोर्स पूरा नहुने समस्या धेरै क्याम्पसमा देखिन्छ । त्यसखाले समस्यामा विद्यार्थी संगठनको ध्यान नै गएको छैन र जवाफदेहीविहीन विद्यार्थी आन्दोलन अगाडि बढेको देखिन्छ । अर्थात् नेपालको विद्यार्थी आन्दोलन मुटुको समस्या भएको मानिसलाई खुट्टाको उपचार गरेको जस्तै छ । नेपालमा विद्यार्थी आन्दोलनको सन्दर्भमा अखिल नेपाल विद्यार्थी फेडरेसन २००७ साल असारमा स्थापना भएको थियो । यसलाई केही समय विद्यार्थी फेडरेसन भन्न थालियो । पञ्चायती व्यवस्था सुरु भएपछि क्याम्पस क्याम्पसमा सरकारको विरोधका स्वरहरू विस्तारै सुनिन थाल्यो । २०२२ सालताका विद्यार्थीले देशभरका क्याम्पसहरूमा विद्यार्थी युनियनको माग गरे । चुनाव भयो र तत्पश्चात् स्वतन्त्र विद्यार्थी युनियन गठन भयो । स्ववियु गठनपछि नेपाल कम्युनिष्ट पार्टीले त्यसका नेताहरू सम्मिलित गराएर विद्यार्थीलाई संगठित गरी आफ्ना राजनीतिक, वैचारिक र सांगठनिक गतिविधि बढाउने भित्री उद्देश्य एवं गुणस्तरीयर व्यावहारिक शिक्षा तथा शिक्षाको बदलीकरणमार्फत् समाज परिवर्तनको मूल उद्देश्यसहित २०२२ साल जेठ १ गते अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)को स्थापना भएको थियो ।

त्यस समयमा नेकपा चौमको अ.ने.रा.स्व.वि.यु थियो । पछि नेकपा मसालको विद्यार्थी संगठन अखिल छैटौंले पनि आफ्नो क्रियाकलाप पनि सञ्चालन गरेको पाइन्छ । विद्यार्थीको राजनीतिक इतिहासलाई हेर्दा, कुनै समय नेकपा मालेको अनेरास्वियु थियो । पुष्पलालको नेपाल प्रगतिशील विद्यार्थी युनियन भयो । मनमोहनको मास्र्कवादी विद्यार्थी संगठन पनि बन्यो । यसरी कम्युनिष्ट पार्टी सँगसँगै विद्यार्थी संगठन पनि टुटफुट भइरहे । राजनीतिक आन्दोलहरू विकास हुँदै जाँदा मूलत वामपन्थी विद्यार्थीको संख्या बढी र हरेकजसो विषयमा हावी भएपछि २०२७ सालमा कांग्रेसनिकट विद्यार्थीले नेविसंघको स्थापना गरे । जसको सस्थापक सभापति शेरबहादुर देउवा चयन भए । उक्त समितिमा रामचन्द्र पौडेल पनि थिए जुन अहिले सर्वोच्च पदमा पुगेका छन् । कम्युनिष्ट पार्टीका टुटफुट सँगसँगै विभिन्न आरोह र अवरोहलाई पार गर्दै विद्यार्थी संगठनमा पनि त्यही प्रवृत्ति देखिएको छ । जसले गर्दा विद्यार्थीमा एकता देखिएको छैन ।

हुनत, विद्यार्थी संगठनका केही सकरात्मक पक्षहरू पनि छन् तर ती पक्षहरू विद्यार्थी हकहितका लागि भने अझै जोडिन सकेका छैनन् । राजनीतिक आन्दोलनमा दलहरूको सारथी बनेका विद्यार्थी संगठनहरू अलमलमा परे । राजनीतिक मुद्दामा होमिँदा विद्यार्थी संगठनहरू विद्यार्थीका खास सवालबाट निकै पर पुगे । पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा विरोधको उपस्थिति जनाउने र लुसुक्क सम्झौतामा रमाउने, निजी विद्यालयले शुल्क बढाउँदा बार्गेनिङमा त्यसलाई लगेर पिस्ने तथा माउ पार्टीका नेताका वरिपरि घुमेर काठमाडौंमै बसेर आफ्नो पद र प्रतिष्ठा सुरक्षित गर्नेमा लिप्त हुनपुगेको अवस्था घामजस्तै छर्लंग छ । अहिले विद्यार्थी संगठनका नेतृत्वकर्ता दिशाहीन, गतिहीन जस्तै भएका छन् ।

नेविसंघ पार्टी सभापतिको निगाहमा चल्ने भएको छ । माओवादीमा पनि त्यस्तै छ । एमालेमा पनि त्यही छ । यसले विद्यार्थीहरू कतै राजनीतिक दलका सारथीमात्रै त बनेका छैनन् भन्ने सवाल उठेको छ । दलहरू जुन ध्रुवमा गाँसिने र टाँसिने काम गरेका छन् सोही अनुरूप विद्यार्थी संगठन चलेका छन् । विदेशी मामलामा समेत कहिलेकाहीँ नेपाली विद्यार्थीले चासो राख्ने गरेका छन् तर २२ चैत २०३५ मा पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई त्यहाँको सैन्य शासकद्वारा फाँसी दिएको विरोधमा पाकिस्तानी दूतावासलाई विरोधपत्र बुझाउने कार्यक्रमअन्तर्गत लैनचौरबाट पानीपोखरीतिर गएको विशाल विद्यार्थी जुलुस र प्रहरीका बीचमा भिडन्त भयो ।

पछि त्यसले शक्तिशाली आन्दोलनको रूप लियो र सोही कारण १० जेठ २०३६ मा तत्कालीन पञ्चायत जनमत संग्रह घोषणा गर्न बाध्य भयो भन्ने तर्क पनि एकातिर छ भने आज यातायातका साधनहरूमा विद्यार्थीलाई परिचयपत्रको आधारमा जुन ४५ प्रतिशत छुट उपलब्धि विद्यार्थी आन्दोलनकै कारण सम्भव भयो । त्यसलाई उपलब्धि मान्न सकिन्छ तर विद्यार्थीको मुख्य आन्दोलन शैक्षिक सुधारमा हुनुपर्ने हो तर त्यो देखिएको छैन । समस्या कहाँनेर छ भने विद्यार्थीहरू राजनीतिक आन्दोलनमा सक्रियतापूर्वक सहभागी हुन्छन् र त्यसले सफल परिणाम पनि निकाल्छ । त्यसपछि आन्दोलनले स्थापित गरेको नीति कार्यान्वयनको चरणमा लागू हुँदैन । त्यतिबेला शैक्षिक आन्दोलनका मुद्दा झन् कमजोर हुन्छ र विद्यार्थी आन्दोलन सेलाउँछ ।

विभिन्न राजनीतिक आन्दोलन सफल भएपछि नेपालको शिक्षा क्षेत्रमा आमूल प्रगतिशील परिवर्तन भएन । बरू झन् जटिल, विकृत र व्यापारीहरूको खरिदबिक्रीको वस्तु भएको यथार्थ हामी सामु छ । यसले विद्यार्थी आन्दोलनको गर्विलो इतिहासलाई आजको दिनमा पुष्टि गर्न सकिरहेको छैन । यसरी, राजनीतिक आन्दोलनमा मात्र केन्द्रित हुनु विद्यार्थी आन्दोलनको मुख्य समस्या हो । आज विद्यार्थी संगठनले विद्यार्थी आन्दोलनलाई नेतृत्व गर्न सकिरहेका छैनन् । उमेर खाएका र पार्टीका केही नेतासँग सम्बन्ध बनाएका विद्यार्थी नेताहरूको कब्जामा आज अधिकांश विद्यार्थी संगठन रहेको छ । छलकपट र चोरीचकारीबाट शैक्षिक प्रमाणपत्र लिने र प्रशासनसँगको मिलेमतोमा आर्थिक कारोबार गर्ने नेताहरू शैक्षिक प्रणाली र विद्यार्थीको चेतनामा आएको परिवर्तनलाई आत्मसात् गर्न सक्दैनन् ।

विद्यार्थी र शैक्षिक आन्दोलनको सम्बोधन र नीतिगत व्यवस्थाको जति कुरा गरे पनि आजसम्म शिक्षालाई सबैको पहुँचमा पुर्‍याउन सकिने स्थिति बनेको छैन । अझ ठूलठूला राजनीतिक परिवर्तनपछि पनि शिक्षा सर्वसाधारणको पहुँचमा पुग्न सकेन ।

विद्यार्थी र शैक्षिक आन्दोलनको सम्बोधन र नीतिगत व्यवस्थाको जति कुरा गरे पनि आजसम्म पनि शिक्षालाई सबैको पहुँचमा पुर्‍याउन सकिने स्थिति बनेको छैन । अझ ठूलठूला राजनीतिक परिवर्तनपछि शिक्षा सर्वसाधारणको पहुँचमा पुग्न सकेन । आफ्नो अस्तित्व जोगाउन विद्यार्थी आन्दोलनले प्राथमिकताका क्षेत्रहरू तोक्दै तदनुरूपको गतिविधि सञ्चालन गर्नुपर्छ । आज पनि दयनीय अवस्थामा रहेका नेपाली विश्वविद्यालयले केवल विश्व बजारका सस्ता श्रमिकहरू उत्पादन गरिरहेका छन् । यो अवस्था नदेख्ने विद्यार्थी नेताहरू दलको पक्षपोषणमा स्पर्धा गरिरहेका छन् ।

विद्यार्थीका मुद्दा छाडेर पार्टीका सीमित नेताको स्तुतिगान गरिरहेका छन् । पार्टीको नेताहरूले आफूले भनेको मान्ने कार्यकर्ता उत्पादन गर्न विद्यार्थी राजनीतिको प्रयोग गरिरहेका छन् तसर्थ पार्टीभित्रको गुटबन्दीको अभ्यास गर्ने थलोको रूपमा विद्यार्थी राजनीतिको प्रयोग बढ्दो छ जसलाई रोक्नु आवश्यक छ । राजनीतिक वैचारिक जागरणको जगमा उठेको विद्यार्थी आन्दोलनमा आज त्यस्तो राजनीतिक जागरण, जाँगर र बलिदानीको कुनै गुञ्जायस भेटिँदैन । विद्यार्थी आन्दोलनको औचित्य र सान्दर्भिकता सकिएको बहस प्राज्ञिक संस्था र सामाजिक आन्दोलनमा हुन थालेको छ ।

नीतिनिर्माण गर्ने तहमा रहेका नेताहरूकै कारण शिक्षाको क्षेत्रमा नीतिगत रूपमै भ्रष्टाचारमार्फत लुटतन्त्र चलिरहेको छ । विरोध गर्नुपर्ने विद्यार्थी नेता उनीहरूका सामु कि निरिह छन् कि त समर्थक । विरोधका स्वरहरू सुनियो भने त्यसलाई दबाउन विद्यार्थी नेताकै प्रयोग हुन्छ । आन्दोलनका मुद्दा आर्थिक कारोबारमा टुंगिइरहेका छन् । पछिल्लो समय हुर्किरहेका युवाहरूलाई विचार, आन्दोलन, चेतना र समाजसँग जोड्ने जुन जिम्मेवारी विद्यार्थी र स्ववियु निर्वाचनलाई छ यसलाई राजनीतिक दलको एजेण्डा बनाउनु हुँदैन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?