रासायनिक मलको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन एमालेको माग

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेकपा (एमाले)ले रासायनिक मलको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौति गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गर्नु भएको हो ।

आईतबार पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै उहाँले नेपाली किसानहरुको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराउनु भयो । महासचिव पोखरेलले अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटीरहेका बेला नेपालमा किन वृद्धि गर्नु प¥यो भनि सरकारलाई प्रश्न समेत गर्नु भयो ।

उहाँले आफ्नो पार्टी नेतृत्वको सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसलाई गति दिन पनि सरकारलाई दवाव दिनु भयो ।

महासचिव पोखरेलले भन्नु भयो, ‘अन्तराष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेको बेलामा अहिलेको सरकारले जसरी मूल्य वृद्धि गर्ने काम गरेको छ । यो अत्यन्तै अनुचित छ । जबकी हाम्रो पार्टी सरकारमा रहेका बेला अर्थ मन्त्रालयको तर्फबाट रासायनिक मल आयातका लागि राज्यका तर्फबाट अनुदान वृद्धि गर्ने कुरा पनि भएको थियो । आर्थिक संकटका बेला पनि अर्थ मन्त्रालयले रासायनिक मल आयात गर्नका लागि पर्याप्त मात्रामा उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तो अवस्थामा यो सरकारलाई के बाध्यता आईलाग्यो ? जसले चाँही किसानलाई एक प्रकारले भन्ने हो भने कृषि क्षेत्रबाट विस्थापित गर्ने योजना अन्तरगत रासायनिक मलको अस्वभाविक मूल्य वृद्धि गर्ने खालको काम ग¥यो । त्यो सर्वथा अनुचित छ । हामीले नेपालको आर्थिक विकासको सन्दर्भमा कृषि क्षेत्रलाई राज्यको तर्फबाट विशेष ध्यान दिन जरुरी छ । अन्य क्षेत्रका अनुदानहरु कटौति गरेर भएपनि कृषि क्षेत्रको अनुदान वृद्धि गर्न आवश्यक छ । किनकी नेपालमा हामी भविष्यमा आर्थिक विकासको आधारको रुपमा पर्यटन उद्योगको परिकल्पना गरिरहेका छौं भने पर्यटन उद्योगका लागि स्वस्थकर खानेकुरा, ताजा खानेकुरा मुलुक भित्रै उत्पादन हुने कुरा चाँही आवश्यक पर्ने गर्दछ । त्यसका लागि किसानहरु चाँही दुरुत्साहित भए भने स्वभागिक रुपमा आयातमा निर्भर हुनुपर्ने र आयातित बस्तुहरुको आधारमा पर्यटन उद्योग अगाडि बढाउने कुरा कठिन हुन पुग्छ । त्यो हिसावले पर्यटन उद्योगसँग जोडेर भएपनि नेपाली किसानहरुलाई प्रोत्साहित गर्नुपर्ने खाँचो रहेका बेला सरकारले जुन प्रकारको नीति अवलम्बन गरेको छ । त्यो सर्वथा गलत छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आईसकेपछि नेकपा एमालेको नेतृत्वमा रहेको कृषि मन्त्रालयले विदेशबाट आयात हुने कृषिजन्य पैदावारहरुमा विषादी परिक्षण गर्ने जुन प्रस्ताव मन्त्रीपरिषद समक्ष प्रस्तुत गरेको थियो । त्यो प्रस्ताव समेत रोक्ने काम ग¥यो । वास्तवमा भन्ने हो भने यो सरकार कस्तो छ भन्ने कुरा चाँही विषादी परिक्षणको योजना पनि रोक्ने, रासायनिक मलको अनुदान कटौति गर्ने, मूल्य वृद्धि गर्ने यस प्रकारको काम र क्रियाकलापहरुले स्वभाविक रुपमा नेपालको कृषि क्षेत्रलाई कमजोर पार्ने खालको काम गर्छ । सरकारले किसानमारा यस प्रकारको नीतिहरु र निर्णयहरु अविलम्ब फिर्ता लिनु पर्दछ । र, नेपाली किसानहरुको संरक्षणको लागि नेपालको कृषि क्षेत्रलाई प्रोत्साहित गर्नका लागि स्वभाविक रुपमा सरकारले अनुदानमा वृद्धि गर्नु पर्दछ । र, नेपाल भित्रै अविलम्ब रासायनिक मल कारखाना स्थापनाको प्रक्रिया पनि अगाडि बढाउनु पर्दछ । र वन क्षेत्र प्रशस्त भएकाले प्राङगारिक मल मल उत्पादन गर्न सक्छौं । त्यो चिजलाई सरकारको तर्फबाट विशेष ढंगले प्रोत्साहन गर्ने र किसानहरुले उत्पादन गरेका सो मलको बजारीकरणका लागि आवश्यक व्यवस्था मिलाउनु पर्दछ ।’

महासचिव पोखरेलले नेपालमा वन क्षेत्र प्रशस्त भएकाले प्राङगारिक मलको उत्पादनका लागि किसानलाई प्रोत्साहन गर्न र त्यसका लागि आवश्यक बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । कृषि क्षेत्रको विकासका लागि लागि पूँजी र प्रविधिको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?