साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । नदी किनारहुँदै खनिएको मोटरबाटो र वारीपारी अव्यवस्ति रुपमा विस्तार हुँदै गरेको वस्ती तथा बाढी,पहिरो र कटानको कारण कालीगण्डकी साघुरिदै जानथालेको छ ।

मुस्ताङको लेतेदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरुप नै परिवर्तन भएको र बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र साँघुरिदै गएको सरोकारवालाहरुले बताएका छन् ।

धार्मिक,सांस्कृतिक र जैविक महत्वलेयुक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको प्राकृतिकस्वरुप पछिल्ला केही वर्षयता नासिँदै गएको कालीगण्डकी नदीका जानकारी पुरुषोत्तमाचार्यले बताउनुभयो ।

बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, गेगर र सडककै कारण बर्सेनि बाढीपहिरोले गर्दा पवित्र नदी कालीगण्डकीको मौलिकस्वरूपमा परिवर्तन आएको वातावरण दानका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनको भनाइरहेको छ ।

हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साघुरो भएपछि सडक विस्तार गर्ने नाउँमा त्यहाँको ढुङ्गा र गेगर कालीगण्डकीमा खसाल्दै आएको छ ।

कालीगण्डकी नदी वर्षाको समयमा बाढी पहिरो र हिउँदको समयमा अवैध रुपमा ढुंगा,बालुवा निकाल्ने गिरोहका कारण सवैभन्दा बढी मारमा परेको छ । यहाँ सामान्य वर्षा हँुदासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र कालीगण्डकीमा गएर मिसिने गरेको छ । सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर, बाँदरजुङगे भीरमा बर्सेनि ठूलाठूला पहिरो जाँदा कालीगण्डकीको जलचक्र प्रणाली नै परिवर्तन हुने गरेको नदी संरक्षणकर्मी सागरजीवि उपाध्यायले बताउनुभयो ।
वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने र त्यो पहिरो कालीगण्डकी नदीमा मिसिने हुँदा खोँचयुक्त कालीगण्डकी पुरिँदै र साँघुरिँदै जान थालेको जानकारहरूले बताएका छन् ।

डोजर र स्काभेटरले जथाभावि उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खल्बलिँदै गएको छ । बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धारपरिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खल्बलिएको वतावरणविद्हरूले बताउँदै आएका छन् ।

संकटमा शालिग्राम, तटीय वस्ती जोखिममा

राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन, अतिक्रमण र नदीजन्य पदार्थको चोरी निकासीका कारण विश्वमै दुर्लभ मानिएको बहुमूल्य शालिग्राम शिला संकटमा परेका छन् ।

पहिलेको जस्तो कालीगण्डकी नदीमा शालिग्राम शिला पाइन छोडेको मुस्ताङ जोमसोमका यमबहादुर शेरचनले बताउनुभयो ।
“पहिले पहिले नदी किनारमा नै शालिग्राम भेटिन्थे तर,अहिले विचविचमा गएमा खोज्दा पनि मुस्किलले पाइन्छन् ” उहाँले भन्नुभयो ।
नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कटसमेत बढ्दै गएको छ । नदीले मौलिक धार परिवर्तन गर्दा बाढीपहिरोका कारण तटीय बस्ती जेखिममा पर्दै जान थालेका छन् । नदी साविकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी ईन्द्रमान शेरचनले बताउनुभयो ।

उहाँका अनुसार कालीगण्डकी नदीको जलचक्र प्रणालीमा समेत परिवर्तन आएको छ । नदीको जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढीपहिरो र नदी कटानको जोखिम उच्चरूपमा बढ्दै गएको छ । कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न र नगराउन सर्वोच्च अदालतले गत साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई अन्तरिम आदेश दिएको छ ।
“तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न मन्त्रिपरिषद्को कार्यालयसमेतलाई अन्तरिम आदेश दिएको थियो । तर कालीगण्डकीको न त दोहन रोकिएको छ न शालिग्रामको चोरी निकासीमा नै नियन्त्रण आउन सकेको छ” कालीगण्डकी संरक्षण अभियन्ता सागरजीवि उपाध्यायले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?