अलनासरको जितमा रोनाल्डोको गोल

Read Time = 3 mins

साउदी । साउदी प्रो लिगमा अलनासरले पुनरागमन जित हात पार्दा क्रिस्टियानो रोनाल्डोले गोल गर्नुभएको छ । अलनासरले अभामाथि दुई-एकको पुनरागमन जित निकालेको थियो । अलनासरको जितमा क्रिस्टियानो रोनाल्डो र एन्डरसन टालिस्काले गोल गर्नुभयो । अभाका लागि अब्देल फटाह एडामले एक गोल फर्काउनुभयो ।

खेलको २६औँ मिनेटमा अब्देलको गोलबाट अलनासर पछि परेको थियो । ७८औँ मिनेटमा रोनाल्डोले फ्रिकिकमा सिधै गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । ८६औँ मिनेटमा एन्डरसन टालिस्काले पेनाल्टीमा गोल गर्दै अलनासरलाई दुई-एकको पुनरागमन जित दिलाउनुभयो ।

यस जितसँगै अलनासरले शीर्षस्थानको अल इतिहादसँगको अंक दूरी एकमै छोट्याएको छ । दोस्रो स्थानमा रहेको अलनासरको २१ खेलबाट ४९ अंक छ । समान खेलबाटै इतिहादको ५० अंक छ । पराजित अभा २३ अंक जोडेर १२औँ स्थानमा छ ।

यता, इटालियन क्लब एसी मिलान सिरिए फुटबलमा उडिनेससँग तीन-एकले पराजित भएको छ । उक्त खेलमा मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले भने एक गोल गर्दै सबैभन्दा पाका गोल गर्ने खेलाडीको कीर्तिमान रच्नुभएको छ ।

४१ वर्षीय इब्राहिमोभिचले पहिलो हाफको अन्त्यमा पेनाल्टीमार्फत् गोल गर्नुभएको थियो । ज्लाटनले ४१ वर्ष १६६ दिनमा गोल गर्दै अलेसान्ड्रो कोस्टाकुर्टाले कायम गरेको ४१ वर्ष २५ दिनको कीर्तिमानलाई तोड्नुभएको हो ।

खेलको नवौँ मिनेटमा मिलान रोबर्टाे पेरेराको गोलबाट पछि परेको थियो । त्यसपछि ज्लाटनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । पहिलो हाफको इन्जुरी समयमै बेटोले गोल गर्दै उडिनेसलाई दुई-एक र ७०औँ मिनेटमा किङ्सले गोल गर्दै उडिनेसलाई तीन–एक को जित दिलाउनुभयो । यस हारले मिलान २७ खेलबाट ४८ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ । उडिनेस ३८ अंक जोडेर आठौँ स्थानमा उक्लिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?