‘ए’ डिभिजन लिग : पाँचौ चरणका खेल सकिए, भुटान र लाओस आज आउने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका पाँचौं चरणसम्मको खेलहरू सकिएको छ । अब झण्डै तीन सातापछि चैत २० बाट छैटौं चरणका खेलहरू सुरु हुनेछन् । यसबीच नेपालको अन्तर्राष्ट्रिय खेल तालिका भएकाले छैटौं चरण ढिलो गरी सुरु हुन लागेको हो ।

पाँचौं चरणसम्म ३५ खेल भएका छन् । हालसम्मको नतिजाअनुसार सातदोबाटो युथ क्लब शीर्ष स्थानमा रहेको छ । सातदोबाटोले पाँच खेलमा १२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबको ११ अंक जोडेको छ । यस्तै यसै सिजनको नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

त्यससँगै १० अंक जोडेको जावलाखेल युथ क्लब चौंथो र आठ अंक जोडेको त्रिभुवन आर्मी क्लब पाँचौं स्थानमा रहेको छ । पाँचौं चरणको खेल सकिदासम्म मनाङ र चर्च ब्वाइजबाहेक सबै क्लबले हार ब्यहोरेका छन् । पाँचौ चरणमा बराबरी खेल्दै एक अंक जोडेको पुलिस पुछारमा छ ।
पाँचौं चरणसम्ममा भएका ७० गोलमा विपक्षी टोलीविरुद्ध मनाङ, आर्मी, जावलाखेल र एनआरटीले सर्वाधिक सात/सात गोल गरेका छन् । सर्वाधिक गोल खाने टोली एनआरटी रहेको छ । उसले ११ गोल व्यहोरेको छ । पाँचौं चरणसम्म सर्वाधिक गोलकर्ता सातदोबाटोका दीपक सिंह ठकुरी रहनुभएको छ । उहाँले पाँच खेलमा चार गोल गर्नुभएको छ ।

भुटान र लाओस आज आउने
यसैबीच प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्न भुटान र लाओसको आज (सोमबार) नेपाल आईपुग्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्फाको अनुसार भुटानी टोली बिहान ७ः५५ बजे र लाओसको टोली बिहान ११ः२५ बजे नेपाल आईपुग्नेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुँदैछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् ।त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।

यो नेपालका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसका लागि पनि पहिलो खेल हुनेछ । प्रतियोगितामा एन्फाले दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ पाँच सय र भीभीआईपीतर्फ एक हजार टिकट दर राखिएको एन्फाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?