पुनः प्रदेश नामाङ्कनको माग राख्दै विराटनगरमा प्रदर्शन

निषेधाज्ञा तोड्दा झडप, अश्रुग्यास प्रहारदेखि हवाई फायरसम्म

हिमालय टाइम्स
Read Time = 5 mins

निर्मल ढुंगाना/हिटा
विराटनगर । प्रदेशसभाबाट प्रदेश नं. १ को नाम कोशी राखेपछि पहिचानको आधारमा पुनः नामाङ्कन हुनुपर्ने माग राखी निरन्तर प्रदर्शन गर्दै आएको पुनः नामकरण संयुक्त संघर्ष समितिले आइतबार विराटनगरमा जनप्रदर्शन गरेको छ । समितिले शान्तिपूर्ण जनप्रदर्शन गर्ने जानकारी भएपश्चात् स्थानीय प्रशासनले विराटनगरको प्रदेशसभा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरपर निषेधाज्ञा जारी गरेको थियो । जनप्रदर्शनको मध्यनजर गर्दै स्थानीय प्रशासनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशसभाको वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको थियो ।

समितिले जनप्रदर्शन उग्र नहुने र शान्तिपूर्ण तरिकाले सम्पन्न हुने भन्दै सुरक्षा निकायसँगको छलफलमा आश्वस्त पारेको थियो । तर, विराटनगरमा कोशी प्रदेशका विभिन्न क्षेत्रबाट जनप्रदर्शनका लागि व्यक्तिको ओइरो लागेको थियो । विराटनगरबाहिर आउने बसलाई भृकुटीचोक आसपासको क्षेत्रमा नै रोकिएको थियो ।

मुख्यमन्त्री कार्यालयको निषेधित क्षेत्र नकाट्ने गरी र्‍याली महेन्द्रचोकबाट अघि बढेको थियो । तर र्‍यालीले प्रदेशको नामकरण खारेज गर्दै पुनः नामकरण गर्नुपर्ने माग राख्दै उग्र बन्दै निषेधित क्षेत्र तोड्न लाग्दा बाक्लो संख्यामा तैनाथ प्रहरीसँग झडप हुन पुग्यो । बाटो छेकेको प्रहरीलाई प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीले भिड तितरवितर गर्ने क्रममा केही सेल अश्रुग्यासको सेल र चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गर्‍यो । प्रदर्शनकारीले निषेधाज्ञा तोड्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुतला र टायर दहन गरेको थियो ।

झडपमा परेर दुई प्रहरी घाइते केही प्रदर्शनकारीलाई पक्राउ गरिएको भए भनिए तापनि प्रहरीले कोही पनि पक्राउ नपरेको बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी टीकाबहादुर कार्कीले प्रहरीले २४ सेल अश्रुग्यास प्रहार गरेको र चार राउण्ड हवाईफायर गर्नुपरेको बताउनुभयो । उहाँले प्रदर्शनकारीलाई नियन्त्रणमा नलिइएको र कोही पनि प्रहरी घाइते नभएको हिमालय टाइम्ससँगको कुराकानीमा बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै चैत ५ गते बिहान ६ बजेदेखि पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको क्षेत्र रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरिको तीन सय मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेधाज्ञा लागू गरिएको थियो ।

संघर्ष समितिमध्येका नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जेलामा शेर्पाले कोशी प्रदेश नाम खारेज गर्नुपर्ने माग राख्दै आन्दोलनमा होमिएको बताउनुभयो । उहाँले पहिचानका पक्षधर राजनीतिक दलको बहुमत नपुगेको भए प्रदेशसभामा भएको नामकरण र मतदान प्रक्रियामा भाग नलिएको भए हुने बताउनुभयो । उहाँले फागुन २८ को आमहडतालपश्चात् आइतबार पनि शान्तिपूर्ण र्‍यालीको आयोजना गरेको दाबी गर्नुभयो ।

अब आउँदा दिनमा आन्दोलनलाई कसरी अगाडि डोर्‍याउने भन्ने विषयमा छलफल हुने शेर्पाले बताउनुभयो । किराँत राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष तिलक राईले पनि आन्दोलन शान्तिपूर्ण नै रहेको दाबी गर्नुभयो । गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको थियो । पहिचानको आन्दोलनले कोशी प्रदेश अशान्त बन्दै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?