१४ वर्षपछि स्ववियु निर्वाचन

हुन सकेन निर्विवाद, ठाउँ-ठाउँमा विवाद र झडप

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सम्पन्न भएको छ । ६० आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा करिब १४ वर्षपछि आइतबार निर्वाचन भएको हो । देशभर अधिकांश क्याम्पसमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुन सकेको थिएन । आइतबार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो । १४ वर्षपछि भएको स्ववियु निर्वाचनमा विद्यार्थी मतदान प्रक्रियामा सहभागी भएका थिए ।

यद्यपि, स्ववियु निर्वाचन पूर्णरूपमा शान्तिपूर्ण भने हुन सकेन । ठाउँ-ठाउँमा विवाद र झडपसमेत भए । केही क्याम्पसमा विवादका कारण निर्वाचन नै हुन सकेन । केहीमा विवादका कारण पटक-पटक मतदान रोक्नुपरेको थियो । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । मतदान सकिएका क्याम्पसहरूले साँझबाटै मतगणना सुरु गरिसकेका छन् । केहीमा अन्तिम परिणाम आइसकेको छ भने केहीमा रातभर र आज (सोमबार) बिहानसम्म परिणाम आइसक्नेछ । केही क्याम्पसमा भने यसअघि नै निर्विरोध स्ववियु सभापति निर्वाचित भइसकेका छन् ।

केही क्याम्पसमा हुन सकेन निर्वाचन
उपत्यकाका केही क्याम्पस छोडेर धेरैमा मतदान भए पनि देशभरिका ६२ आंगिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । विद्यार्थी संगठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित देशभरका विभिन्न क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको हो । काठमाडौं उपत्यकाका २२ मध्ये ७ क्याम्पसमा निर्वाचन हुन सकेन । त्यस्तै, पोखराका चार र चितवनका तीन क्याम्पसमा पनि आन्तरिक विवादका कारण निर्वाचन प्रक्रिया अवरुद्ध छ । सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस निर्वाचन प्रक्रिया रोकिएको छ । यस्तै, त्रिचन्द्र क्याम्पसमा चैत ९ गतेका लागि तोकिएको छ । पोखराका अधिकांश क्याम्पसमा निर्वाचन हुन सकेन ।

डोटीमा फुटाइयो मतपेटिका, बुढीनन्दा क्याम्पसमा दुई समूहबीच झडप
डोटी बहुमुखी क्याम्पसमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल (क्रान्तिकारी)का विद्यार्थीले मतपेटिका फुटाएका छन् । फर्जी मतदाताले मत हालेको आरोपपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा उनीहरूले सुरक्षित स्थलमा राखिएको मतपेटिका फुटाएका हुन् । मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघको निर्वाचनमा फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका छन् । क्याम्पसभित्र जबरजस्ती फर्जी परिचयपत्र लिएर मतदान गर्न जान खोज्ने उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बाजुराको बुढीनन्दा क्याम्पसमा झडप भएको छ । स्ववियु निर्वाचनको मतदान चलिरहँदा नेकपा एमालेनिकट अनेरास्ववियू र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रनिकट गठबन्धनका विद्यार्थीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । कार्यालयका अनुसार भिड नियन्त्रण गर्न अश्रुग्यास र हवाई फायरसमेत गर्नुपरेको थियो । विवाद भएपछि केहीबेर मतदान रोकिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?