चरम सत्तालिप्सा र राजनीतिक खिचातानीले सधैं अस्थिर

डा. डीआर उपाध्याय
Read Time = 16 mins

नेपाली राजनीति अस्थिरतातर्फ धकेलिएको देखिन्छ । देशको समृद्धिका लागि स्थिर राजनीति हुन आवश्यक छ । तर, विडम्बना हाम्रो राजनीति सधैं अस्थिर रहन गएको छ । लामो समयदेखि नेपाली राजनीतिमा कुनै सरकारले स्थायित्व पाएको छैन । कुनै निश्चित पार्टीको एकल बहुमत भएका बेला पनि आपसी वा आन्तरिक कलह सिर्जनाका कारण पूर्णअवधि सरकार चल्न सकेका छैनन् । नेपाली कांग्रेसले २०४८ सालामा र २०५६ सालमा अनि नेकपाले २०७४ सालमा एकल बहुमत पाएकाका भए पनि उनीहरूले आफ्नो पूर्ण अवधि सरकारलाई चलाउन सकेनन् । यसबाट नेपालमा राजनीतिक दलहरूको सामथ्र्य र सुझबुझको आंकलन गर्न सकिन्छ । राजनीतिक अस्थिरता अर्थात् बारम्बार सरकार परिवर्तन नै नेपालको अविकासको जड मानिँदै आएको छ । सरकारको स्थायित्वले मात्रै विकासलाई तीव्रता दिन सक्दछ ।

वर्तमान संविधान लागू भएपश्चात् मुलुकमा स्थिरता, सुशासन र समृद्धि हासिल हुने जनअपेक्षा थियो तर जनअपेक्षाअनुरूप कार्य हुन सकेन । नेपालमा, कम्तीमा अब राजनीतिक स्थिरता छाउनेछ । पाँच वर्षे कार्यभार पूरा गर्ने बलियो सरकार देशले पाउनेछ । विस्तारै देशले समृद्धिको मार्गमा निर्देश गर्नेछ भन्नेमा सबै जनता उत्साहित थिए । तर, पछिल्लो समयमा नेपाली राजनीतिमा जे-जस्ता दृष्यहरू देखिँदै छन् । अनौठा राजनीतिक घटना घट्दै छन् । यसले फेरि जनतामा निराशा छाएको छ । मूलतः २०४७ सालपछाडि, नेपालको राजनीति सधैं अस्थिर रहनुमा नेतृत्वमा मेगेलोमेनियाक प्रवृति, कार्यकर्तामा दास मनोवृत्ति, र प्रशासनतन्त्रमा विर्ता पद्धति हावी हुनुलाई मान्न सकिन्छ ।

विसं २०७९ भित्र नेपाललाई विकासशील राष्ट्र बनाउने, विसं २०८७ सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने र विसं २१०० भित्रमा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी १५औं योजनाले २५ वर्षे दीर्घकालीन खाका निर्माण गरेको छ । खाका निर्माण भएरमात्र हुँदो रहेन्छ । त्यसअनुरूप सत्ता सञ्चालन पनि हुन आवश्यक रहेछ । योजनाको दीर्घकालीन सोच तबमात्र साकार हुन्छ, जब मुलुकमा शान्ति र स्थिरता कायम रहन्छ । तर, हामी झन्झन् स्थिरतातर्फ धकेलिँदै छौं । वर्तमान समयमा मुलुक पुनः राजनीतिक अस्थिरताको चपेटामा फसेको छ ।

नेता असल नहुनाले देश बिग्रिएको हो । बोल्न र लेख्न नसकेको मात्र हो । राजनीतिक दलहरूले मुलुक बनाउने कुरामा ध्यान दिनुपर्ने बेला अब आएको छ । सबै राजनीतिक दलहरू मिलेर देशको विकास र समृद्धि गर्नुपर्ने आजको आवश्यकता हो ।

प्रमुख राजनीतिक दलहरूले आफ्नो नीति, सिद्धान्त सबै छोडेर सत्ता स्वार्थको घिनलाग्दो खेलमा लागिरहेका छन् । यसरी देश र जनताको अपमान भएको अनुमान गर्न सकिन्छ । आजको राजनीतिले देशमा विकृति ल्याउने कामबाहेक अरू के गरेको छ ? नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार सञ्चालन गर्दा समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि सारेको थियो । यो निकै सान्दर्भिक र आवश्यक नारा थियो तर दलहरूको सत्ता स्वार्थले यो नारा पूरा हुन सकेन । राजनीतिक परिवर्तनपछि सुका दिनमा जनतामा एक खालको उत्साह थियो ।

अब देशमा केही हुन्छ भन्ने आशा सबैमा थियो । समय बित्दै जाँदा राजनीतिक दल र तिनका नेताहरू विगतमा जस्तै गलत बाटोमा लागे । जनताको भाग्य र भविष्य निर्माण गर्ने सोचमा कुनै दल लागेनन् । जसले गर्दा राजनीतिमा निराशा छायो । लामो समयदेखि हामी देख्दै आएका छौँ कि सबै राजनीतिक दलको एउटै उद्देश्य छ त्यो के हो भने जसरी हुन्छ सत्तामा जाने र देश लुटने । यो धन्धाबाहेक राजनीतिक दलले अरू के गरे ? सत्य कुरा बोेल्न र लेख्न के को डर मान्ने । दलहरूलाई सुध्र्र भनेको मात्र हो । दलहरू नसुध्रेसम्म प्रगति हँुदैन । जबसम्म राजनीतिक दलका नेता इमानदार हुँदैनन् तबसम्म यस्तै भइरहने हो ।

नेता असल नहुनाले देश बिग्रिएको हो । यो कुरा सबैलाई थाहा छ । बोल्न र लेख्न नसकेको मात्र हो । राजनीतिक दलहरूले मुलुक बनाउने कुरामा ध्यान दिनुपर्ने बेला अब आएको छ । सबै राजनीतिक दलहरू मिलेर देशको विकास र समृद्धि गर्नुपर्ने आजको आवश्यकता हो । तर, लामो समयसम्म कसरी सत्तामा टिक्ने भन्ने ध्यानबाहेक राजनीतिक दलहरूमा अरू केही देखिँदैन । यसले गर्दा जनताको जीवनस्तर, सुशासन, सुखी नेपालीलगायत सबै अवधारणा ओझेलमा परेका छन् । यतिबेला गलत प्रवृत्ति राजनीतिमा हाबी हुँदै गएको छ । आफूसँग रहँदा जो पनि ठीक र आफ्नो कित्ता छाड्दा सबै बेठीक राजनीतिमा आज यो देखिएको छ । हाम्रा दल र तिनका नेताबाट भावी पिँढीले के सिक्छ ?

यस्तो पनि राजनीति हुन्छ । सबैतिर निराशै निराश देखिन्छ । जनतामा ऊर्जा छैन । नेतामात्र धनी बनेर देश बन्दैन । आज हाम्रो देश नेपालमा नेता धनी बन्दै गएका छन् । देश र जनता झन् पछि झन् कंगाल बन्दै छन् । महँगीले आकाश छोएको छ । बेरोजगारी समस्या दिनप्रतिदिन बढ्दैछ । देशमा आर्थिक मन्दी देखिँदैछ । सबै क्षेत्र तहसनहसको अवस्थामा छन् । सुधारको बाटो अझै केही देखिएको छैन । सरकार मुलुकप्रति त्यति गम्भर भएको देखिएको छैन । दलहरू आरोप, प्रत्यारोपमा छन् । विगतदेखि यस्तै खेल चलिराखेको छ । २०६२/०६३ सालको जनआन्दोलनपछि मुलुक विकास र समृद्धिको बाटोतर्फ अघि लम्किन्छ भन्ने धेरैको सोचाइ थियो ।

तर, त्यस्तो सोचेजस्तो परिणाम आउन अझै सकेको छैन । आज राजनीति फोहोरी खेलमा रुमल्लिरहेको छ । यतिबेला राजनीतिक दल सत्ताको जोड घटाउतिर छन् । एमालेसँगको सत्ताको गठबन्धन टुटेपछि सरकारले सदनबाट विश्वासको मत पुनः लिनुपर्ने अवस्था छ । यसका लागि दल र तिनका सांसदलाई फकाउने काम तीव्र भएको छ । सबैले मन्त्री, त्यसमा पनि शक्तिशाली मन्त्रालय रोजेका छन् । यो सबै सत्ता स्वार्थको राजनीति हो । मैले पटकपटक यो कुरा लेखिराखेको पनि छु । सत्तास्वार्थको राजनीति मुलुकलाई अघि बढाउन सक्दैन । आज देशमा जुन किसिमका खेल सुरु भइराखेका छन् ती सबै जनतालाई निराश बनाउने खेल हुन् ।

आज राजनीतिमा खिसिटिउरीका पात्र बढ्दै छन् । अरू केही छैन । यतिबेला आफ्नो कित्तालाई जसरी पनि समर्थन र अर्को कित्तालाई जसरी पनि विरोध गर्नैपर्छ भन्ने जुन किसिमको गलत प्रवृत्ति देखिएको छ यसले देशलाई पछाडि धकेल्दै छ । राजनीतिमा गलत व्यक्ति हावी हुँदै गएका छन् । जसले गर्दा मुलुक सोचेअनुसार अघि बढन सकेको छैन । नेपालको संविधान २०७२ ले केन्द्रमा २५ भन्दा बढी मन्त्री बनाउन नपाइने व्यवस्था गरेको छ । संविधानको धारा १०० को उपधारा ४ ले पहिलो सरकार बनेको दुई वर्षसम्म अविश्वास प्रस्तावसम्म ल्याउन नपाइने व्यवस्था गरेको छ ।

त्यसलाई पूर्णरूपमा पालना गर्ने दायित्व राजनीतिक दलहरूको हो । भागबण्डा र सरकार टिकाउनका लागि जे पनि गर्न पाइँदैन । संविधानको उल्लंघन कुनै पनि दलले नगरोस् । आज देशमा जनमतको अपमान गरिएको छ । किन भने तेस्रो दललाई सरकारको नेतृत्व दिएर अरू दलले रमिता हेरिरहेका छन् । जनादेशअनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्दथ्यो । त्यसो हुन सकेन । जनताले दिएको जनादेशनुसार राजनीतिक दलहरू चल्न सकेनन् । यो दुःखद् पक्ष हो । नेपालको संविधानले परिकल्पना गरेबमोजिम जनताले यसअघि स्थानीय तह र संघीय तथा प्रदेशसभामा आफ्ना जनप्रतिनिधि चुनेर मालिक भइसकेका छन् ।

तर, जनताले चाहेको पात्र उम्मेदवार हुन नसक्नु, राजनीतिक दलले जसलाई उठायो उसैलाई मन परे पनि नपरे पनि स्वीकार्नुपर्ने बाध्यता भने देखिएको छ । अहिलेको मतपरिणाम पाँच वर्षका लागि विकास, निर्माणका काम गर्ने सर्तमा जनताले दिएका हुन । राजनीति मियो हो । राजनीति सबै नीतिहरूको मूलनीति हो । राजनीति बिग्रियो भने सबै बिग्रिन्छ । अहिले भएको त्यही हो । राजनीति आस्थाको धरोहर बन्न सक्नुपर्छ । राजनीतिले आशाको किरण फैलाइरहनुपर्छ । नेपालले अवलम्बन गरेको राजनीतिक प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्रको स्वरूपमा छ ।

जनताले चाहेको पात्र उम्मेदवार हुन नसक्नु, राजनीतिक दलले जसलाई उठायो उसैलाई मन परे/नपरे पनि स्वीकार्नु पर्ने बाध्यता भने देखिएको छ । अहिलेको मतपरिणाम पाँच वर्षका लागि विकास, निर्माणका काम गर्ने सर्तमा जनताले दिएका हुन ।

नेपालको संविधान, २०७२ ले यसलाई संस्थागत गरेको छ । लोकतान्त्रिक व्यवस्थाले आवधिक निर्वाचनका माध्यमबाट सरकारको नेतृत्व स्थापित गर्छ र नेतृत्वलाई निरंकुश बन्न दिँदैन । हाम्रो देशले २०७२ असोज ३ मा वर्तमान संविधान पाएपछि सुशासन, विकास र समृद्धिको नयाँ युग सुरु हुने आमअपेक्षा गरिएको हो तर आमअपेक्षा अझै पूरा हुन सकेको छैन । हाम्रो देश प्राकृतिक स्रोतले सम्पन्न छ तर राजनीतिक दल र तिनका नेताहरूमा स्पष्ट भिजन र योजना भएन । त्यस कारण पनि हामीले प्रगति गर्न सकेका छैनौं । देशमा संघीय संरचनाअन्तर्गत तीन तहका सरकार क्रियाशील छन् । तीनै तहका सरकारको नेतृत्व निर्वाचनबाट स्थापित छ ।

यी तीन तहका सरकारले जनताले सोचेअनुसारको परिणाम दिन सकेका छैनन् । व्यवस्था फेरियो तर जनताको अवस्था उस्तै छ । शासकीय शैली उस्तै छ । बजेट कार्यान्वयनमा पुँजीगत खर्च कम हुने रोग जस्ताको तस्तै छ । आर्थिक वर्षको अन्तमा गएर हतारहतारमा काम गर्ने र भुक्तानि गर्ने प्रवृत्तिमा कत्ति पनि सुधार हुन सकेको छैन । सरकारी कार्यालयबाट सेवा पाउन अत्यन्तै सास्ती व्यहोर्नुपर्छ । भ्रष्टाचार बढेको छ । गरिब र धनीबीचको खाडल झन् गहिरो र फराकिलो हुँदै गएको छ । अब पनि देशको नेतृत्व गर्ने बर्गले यी यावत् विषयमा गम्भीरताका साथ सोचेन र काम गर्न सकेन भने पक्कै देशमा समस्या आउनेछ । देशमा असन्तुष्टिका स्वरहरू चर्को रूपमा उठेका देखिन्छन् ।

यी देखिएका समस्या समाधान गर्नेतर्फ सबैको ध्यान जान जरुरी छ । नेताहरूको ध्यान सत्तातिर होइन, जनतातिर जानुपर्छ । स्वार्थी नेताका कारण देश बडो अफठ्यारो अवस्थामा छ । अब सबै मिलेर अघि बढ्नुपर्ने अवस्था देखिएको छ । अस्थिर राजनीतिका जे जस्ता कारण भए पनि मुख्य कारणमा दल र तिनका नेताहरूको चरम सत्तालिप्सा र राजनीतिक खिचातानीले गर्दा नै यसले प्रश्रय पाएको छ । सरकार परिवर्तन भइरहँदा कार्यगत र नीतिगत अवरोध सदैव झेल्नु परेको छ । नीतिगत निश्चितता र राजनीतिक स्थिरताबाट मात्र आर्थिक विकास सम्भव हुन्छ ।

मुलुकको आर्थिक विकास र समृद्धिका लागि दूरदर्शी नेतृत्वको खाँचो छ । राजनीतिक स्थिरता, विधिको शासन, स्रोतसाधनको सदुपयोग, सुशासनको प्रत्याभूति र जनचाहना अनुरूपको वास्तविक विकास दिने सोच भएको नेतृत्व हुनु जरुरी छ । अन्यथा हामी सधैं कुहिरोको काग जस्तै अस्थिर राजनीतिको सिकार हुनेछौं । देश अहिलेको अवस्थामा अगाडि बढ्ने हो भने ठूलो संकट आइपर्ने कुरामा दुई मत छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?