प्रधानमन्त्री दाहालले राष्ट्रबिरोधी काम गरिरहेका छन्ः नेता गजुरेल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रबिरोधी कामहरु गरिरहेको आरोप लगाउनुभएको छ ।

आईतवार इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहालले लगातार जनबिरोधी र राष्ट्रबिरोधी कामहरु गरिरहेको आरोप लगाउँदै जनताका बीचमा लगेर ती कामहरुलाई उजागर गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले विश्वकप लिग टु क्रिकेटको आफ्नो अन्तिम खेलका क्रममा प्रधानमन्त्रीका रुपमा दर्शक बनेर कीर्तिपुर खेल हेर्न पुग्दा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी लागेपनि प्रधानमन्त्रीलाई त्यसको लाज नलागेको बताउनु भयो । उहाँले देशमा यसअघि अत्याचार, शोषण, महंगी र बेराजगारी यति धेरै नरहेको उल्लख गर्दै गणतन्त्र पछिको समाजवादउन्मुख व्यवस्थाले झनै विसंगति पैदा गरेको आरोप लगाउनु भयो । उहाँले सत्तामा रहेको माओवादी र बिद्रोही माओवादीबीच कार्यगत एकताको प्रयास भएपनि सफल नभएको बताउनु भयो । उहाँले माओवादीहरु डराएर एकजुट भए भन्नेकुरा गलत रहेको बताउनु भयो । उहाँले अहिले पनि माओवादीहरु एक ठाउँमा नरहेको स्पष्ट पार्नुभयो ।

नेता गजुरेलले जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा अदालत रहेको बताउनु भयो । उहाँले १६ वर्षसम्म त्यो प्रक्रियाबाट न्याय दिन नसकेपछि अब जनयुद्धका मुद्दाहरु अदालतले फैसला गर्ने योजनाअनुसार अघि बढीरहेको बताउनु भयो । उहाँले माओवादीहरुको नेतृत्वले विश्वासघात गर्दा सबै माओवादीहरु अहिले दुरावस्थाबाट गुज्रिनु परेको बताउनु भयो । उहाँले जनयुद्धमा भएका घटना अदालतले हेर्नेगरी योजना बनाइएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुःखका साथ भन्नुपर्छ । बिडम्वना नै भन्नुपर्छ की प्रचण्ड र बाबुरामहरुले जे गरे त्यो प्रतिक्रान्ती थियो । उनीहरुले आत्समर्पण गरे । वर्गिय र दुश्मनकोबिरुद्धको आत्मसमर्पण उनीहरुले गरिसकेपछि क्रान्तीले धक्का खायो । अहिले दुश्मनहरुले यति हेपेको छ क्रान्तीकारी शक्तिलाई की यहाँ दुई जना अदालतका न्यायाधीशहरुले फैसला गरे । उनीहरुले अब जनयुद्धमा भएका घटनाहरुमा न्याय दिनका लागि पहिला सत्य निरुपण तथा मेलमिलापमा लगेर मुद्दाहरुको समाधान गर्ने भन्ने थियो अब त्यो हुँदैन । किनभने १६ वर्षसम्म त्यो प्रक्रियाबाट न्याय दिन नसकेपछि अब जनयुद्धका मुद्दाहरु अदालतले फैसला गर्छ । अपराधी जस्तो गरेर उनीहरुलाई फैसला गर्ने उनीहरुले योजना बनाएका छन् । जनयुद्धलाई उनीहरुले कसरी व्याख्या गरिरहेका छन् ? जनयुद्धका घटनामा माओवादीलाई दोष लगाइ फौजदारी अभियोगमा कारबाही गर्नुपर्छ भनिएको छ । आफ्नो निर्णय सुनाए । यो जनयुद्धप्रतिको अपमान हो, जनयुद्धलाई अपराधीकरण गरिएको छ । यस्तो अवस्थाबाट हामी गुज्रिनुपरेको छ । किनभने त्यो बेलाको नेतृत्वले त्यसले विश्वासघात गरेको छ । आत्मसमर्पण गरेपछि दुश्मनले अहिले हेपेर त्यस्ता निर्णय सुनाइरहेको छ । पूर्वमाओवादीको समस्या हो भनेर सोच्यौँ । जनयुद्धलाई शान्तिप्रक्रियाद्वारा समाधान गर्ने प्रक्रिया माओवादीको मात्रै काम होइन, अरुको पनि हो । तर उनीहरुल अहिले तमासे बनेका छन्, जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा गएका छन् । पूर्वमाओवादीहरुले सल्लाह गरेको थियौँ । सरकारी माओवादी र बिद्रोही माओवादीको बीचमा सल्लाह गरेका थियौँ । एउटै घानमा हाल्छौँ भनिसकेपछि सरकारी माओवादी र बिद्रोही माओवादीबीच छलफल भयो । कार्यगत एकताका लागि छलफल गरेपनि सफल भएन । माओवादी सबै मिले भन्ने प्रचार भएको छ तर हामी सबै मिलेका छैनौँ । केही पनि मिलेको छैन । सत्तामा भएको माओवादीसँग भइरहेको छलफल कार्यगत एकताको लागि मात्रै भएको हो भनेका छौँ तर मिडियाले डरले सबै मिले भनिरहेका छन् । जुन गलत हो । क्रिकेट खेलमा दर्शकको रुपमा प्रचण्ड गएका थिए, तर त्यो बेला नारा लाग्यो भनेर भनियो । प्रचण्ड मुर्दावाद देश छोड् भन्ने नारा लाग्यो हामीलाई त त्यो सुन्न पनि लाज लाग्छ तर उनलाई केही लागेको छैन । उनले लगातार जनबिरोधी, राष्ट्रबिरोधी कामहरु गरिरहेका छन् । हामीले जनताका बीचमा लगेर अब यी सबैकुरालाई नंग्याउन जरुरी छ । यो भन्दा अघि यति धेरै अत्याचार, शोषण, महंगी, बेराजगारी भएको थिएन । तर अहिले गणतन्त्र आएपछि सबै समस्या समाधान हुन्छ भनेर संविधान लेखे तर समाजवादउन्मुख व्यवस्थाले सबैभन्दा बढी बेरोजगार बनाएको छ ।’

नेता गजुरेलले जनयुद्धमा भएका घटनाहरुमा माओवादीलाई दोष लगाइ अपराधीकरणको फैसला सुनाउने योजना रहेको आरोप लगाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?