बुटवल उपमहानगरले गर्‍यो राष्ट्रिय क्रिकेट टीमका खेलाडी मल्ललाई नगदसहित सम्मान

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । बुटवल-बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ ।

बुटवल ११ देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले दोसल्ला ओढाएर सम्मानपत्र र नगद ५० हजारसहित सम्मान गर्नुभयो ।

कार्यक्रममा क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्मान पछि बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले कुशल मल्लले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताउनुभयो ।

उहाँले आगामी दिनमा अरु प्रगतिगर्दै नेपाली राष्ट्रिय क्रिकेट टीमको क्याप्टेन बन्ने गरी मेहनत गर्न शुभकामना दिदै बुटवलले हरेक हिसाबले साथ दिने बताउनुभयो ।

नगरमा खेलकुद क्षेत्रको विकासको लागि ३ करोड भन्दा बढी बजेट विनियोजन गरिएको भन्दै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

उहाँले बुटवलमा राष्ट्रिय स्तरका खेलकुद आयोजना गर्नका लागि आवश्यक पूर्वाधार निर्माण र मर्मत सम्भार तथा संरक्षणमा बुटवलले निरन्तर कामगर्दै आएको बताउनुभयो ।

उहाँले खेल क्षेत्रमा जनशक्ति उत्पादन र प्रोत्साहनका लागि बुटवल उपमहानगरपालिका सधै अगाडि रहने बताउनुभयो ।

नगर प्रमुख पाण्डेयले बुटवललाई खेल पर्यटनका माध्यमबाट समेत परिचित गराउने गरी लाग्न खेल क्षेत्रका अगुवा र संघ संस्थाहरुलाई आग्रह गर्नुभयो । उहाँले क्रिकेट खेल मैदान बनाउनका लागि प्रयासरत रहेको र छिटै नै बुटवलमा सुविधा सम्पन्न खेलमैदान बनाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले बुटवलले सम्मान गरेर खेल क्षेत्रको हौसला बढाएको बताउनुभयो । उहाँले बुटवलमा खेलकुदको धेरै सम्भावना रहेको भन्दै बुटवल उपमहानगरको प्रयास उत्कृष्ट रहेको र यसमा खेल क्षेत्रको साथ रहने बताउनुभयो ।

खेलाडी कुशल मल्लले बुटवल उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?