अहिलेको सत्ता गठबन्धन पाँच वर्ष टिक्छ : अध्यक्ष नेपाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अहिलेको गबठन्धन आगामी ५ वर्ष नै टिकेर देश विकास गर्ने र देशलाई समृद्धिको विकासतर्फ अग्रसर बनाउने बताउनु भयो ।

उहाँले वैशाखमा विश्वासको मत फेरि लिनुपर्ने होइन भन्ने प्रश्न उठिरहेको भन्दै त्यो प्रश्न गर्नु अस्वाभविक नरहेको बताउनु भयो । उहाँले अहिलेको गठबन्धनको अवस्थालाई मध्यनजर गर्दा गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गर्नुभयो । उहाँले नेपालको राजनीति कसरी अघि बढ्छ भन्ने बारेमा आफू परिचित रहेको भन्दै राजनीतिक यात्राको बारेमा आफूलाई राम्रोसँग हेक्का रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘फेरि वैशाखको अर्को हप्तामा विश्वासको मत लिनुपर्ने त होइन भन्नेकुरा उठेको छ । यो आशंका गर्नु अस्वभाविक होइन, तर त्यो अवस्था आउँदैन । यो गठबन्धन ५ वर्ष नै टिक्छ, राज्यका सबै समस्याहरुको समाधान गरेर अघि बढ्छ । यो गठबन्धन एकतावद्ध भएर अघि बढ्छ । यस कुरामा विश्वस्त हुन सबैलाई आह्वान गर्न चाहन्छु । संख्याले मात्रै हुँदैन, म आफैँ पनि त्यस्तो मान्छे हुँ २१ महिनासम्म २२ वटा पार्टीलाई साथमा लिएर कुनैपनि किसिमको समस्या बिना अन्तिम बिन्दुसम्म लैजाने काम गरेको छु । नेपालको राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने हेक्का मलाई पनि छ । हाम्रो घटकहरुसँगको सहकार्यलाई हेर्दा यो टिकाउ हुन्छ भन्ने विश्वास छ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताउनु भयो । अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको विकल्प भएकाले तत्काल काम शुरु गर्न सरकारसँग आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?