नेर्पाको मेवा खोलामा पुल निर्माण धमाधम, भालुखोलाको अनिश्चित

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ–भोजपुर सडकखण्ड खोटाङको नेर्पास्थित मेवा खोलामा मोटेरबल पुलको काम सुरु भएको छ । २० मिटर लम्बाई भएको पुलको काम केएम ईन्जिनियर्स विल्डर्स प्रालि काठमाण्डौले गत माघबाट सुरु गरेको हो ।

२४ महिनामा सक्नेगरी गएको असार २२ गते पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकसँग सम्झौता गरेको निर्माण कम्पनीले हालसम्म करीव १५ प्रतिशत पुलको काम गरिसकेको छ ।
‘डिजाइन एण्ड बिल्ड’(पुलको डिजाइन पनि निर्माण कम्पनीले नै बनाउने) पुल भएकाले छ महिना पुलकै डिजाइनमा समय बितेको प्रालिका प्रबन्धक निर्देशक मोहन कार्कीले बताउनु भयो ।

सोही, निर्माण कम्पनीले २४ महिनामै काम सक्नेगरी गत असार २२ गते सोही रुटको सोल्मास्थित भालुखोलाको २० मिटर लम्बाई भएको पुलको ठेक्का पारे पनि काम गर्ने कुनै छाँटकाट देखाएको छैन ।

गिटी, वालुवा अभावले भालुखोला पुलको काम अहिले नै थाल्ने कि नथाल्ने भन्ने दोधारमा रहेको प्रबन्ध निर्देशक कार्कीले बताउनु भयो। ‘पुल बनाउन यहाँ गिटी, वालुवा नै भनेजस्तो नपाइने रहेछ । तर पनि नेर्पाको पुलको पिल्लर ठड्याएपछि भालु खोलामा जनशक्ति ल्याएर केही काम त गर्छु ।’ कार्कीले भन्नुभयो ।

मेवा खोला र भालुखोलाको पुलको काम भ्याट र पिएससहित ८ करोड ९४ लाख ९० हजार २५० रुपैयाँमा सम्झौता भएको ठेकेदार कार्कीले जानकारी दिनुभयो ।

भालुखोलामा पुलको ठेक्का लागेको ११ महिना बित्दा पनि ठेकेदारले काम सुरु नगर्दा खोलाबाटै गाडी गुडाउनु परिरहेको छ । सामान्य वर्षा तथा बर्खामा खोला बढ्ने हुँदा पैदल यात्रीले समेत भालुखोलामा जोखिमपुर्ण यात्रा गर्नुपरेको छ ।

यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ–भोजपुर सडकखण्डको नेर्पास्थित छेपेखोलामा निर्माणाधिन २० मिटर लम्बाई पुलको काम २४ प्रतिशत सकिएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलका इन्जिनियर दिपेश मुनकर्मीले जानकारी दिनुभयो ।
मुनकर्मीका अनुसार कार्यालयसँग २०७८ मंसिर १४ गते सम्झौता गरेको सगरमाथा सजिव जेभीले २०८० जेठ १४ गते पुलको काम सक्नुपर्नेछ । ३ करोड ५ लाख ८० हजार १३७ रुपैयाँमा सम्झौता भएको पुलको काममा गुणस्तर कायम नै रहेको मुनकर्मीले बताए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?