अख्तियारद्वारा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले केन्द्रका तत्कालीन निमित्त कार्यालय प्रमुख बस्नेत (हालः कृषि विकास कार्यालय, कालिकोट), मूल्यांकन तथा छनोट समितिका पदाधिकारी, सिमनाथ कृषि विकास सहकारी संस्था, कालिकोटका अध्यक्षसमेत १२ जना र सिमनाथ कृषि विकास सहकारी संस्थाउपर गैरकानुनी लाभ तथा हानि गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको हो ।

आयोगका अनुसार कृषि विकास सहकारी संस्था लिमिटेड, रास्कोट-३, कालिकोटले उच्च प्रविधियुक्त नर्सरी स्थापनाको लागि उपलब्ध गराएको सरकारी अनुदानको पेस्की रकममा सम्झौताअनुसार काम नगरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको देखिएको हो ।

१२ जनामध्ये बस्नेत, खाँडाचक्र नगरपालिका, कालिकोटका तत्कालीन इञ्जिनियर सुमित भट्ट र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, कालिकोटका तत्कालीन सव-इञ्जिनियर गुरुराज संज्याललाई बिगो ६६ लाख ५० हजार माग दाबीसहित विशेष अदालतमा मुद्दा गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?