काठमाडौं । प्रतिनिधिसभाका रिक्त तीन निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सोमबार प्रतिनिधिसभामा रिक्त तनहुँ-१ र बारा-२ मा आगामी वैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्णय गरेसँगै रिक्त तीनै क्षेत्रमा एकैपटक उपनिर्वाचन हुने भएको हो । आयोगले यसअघि नै चितवन-२ मा वैशाख १० गते नै निर्वाचन गर्ने निर्णय गरिसकेको छ । तीनवटै क्षेत्रमा बिहान ७ बजदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
तीनवटै क्षेत्रमा हुने उपनिर्वाचनका लागि चैत १६ गते आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका छ ।
गएको मंसिर ४ गते भएको आमनिर्वाचनमा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा-२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि ती क्षेत्र खाली भएका हुन् । चितवन-२ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतले उम्मेदवारी दिन अयोग्य भएको फैसला सुनाएपछि लामिछानेकोट सांसद पद गुमेको थियो ।
नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भए अघिल्लो पद स्वतः रिक्त हुने व्यवस्था छ । त्यस्तै, संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा यस्तो पदपूर्ति आयोगले तोकेको मितिमा हुने उपनिर्वाचनबाट गरिने व्यवस्थाबमोजिम उपनिर्वाचनको मिति र निर्वाचनसम्बन्धी कार्यक्रम स्वीकृत गरिएको आयोगले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच