प्रधानमन्त्रीका कारण विदेशी सम्बन्ध बिग्रियो : ओली

राजनीतिक इमान बिर्सिएर मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ । सोमबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले प्रधानमन्त्री दाहाल राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको आरोप पनि लगाउनुभयो । उहाँले प्रधानमन्त्री दाहालले वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाएको बताउनुभयो । अध्यक्ष ओलीले मित्रराष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले प्रधानमन्त्रीलाई संसद्मा विश्वास गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनका स्वार्थीहरूले प्रधानमन्त्रीमा विश्वासको मत दिए पनि आफ्नो पार्टीले उहाँलाई विश्वासको मत नदिने बताउनुभयो । ‘गठबन्धनका स्वार्थीहरूले भोट देलान् तर हामीलाई स्वार्थ छैन, त्यसैले प्रधानमन्त्री संसद्को विश्वास छ भन्न सकिँदैन, जित्ने हार्ने छुट्टै कुरा हो स्वार्थको खेल हो, यसमा हामी लतारिनुपर्दैन,’ उहाँले भन्नुभयो ।
यस्तै, उहाँले प्रधानमन्त्री प्रचण्ड जंगबहादुरको शैलीमा रहेको पनि आरोप लगाउनुभयो । ‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँबाहेक सबै अरूको केही दोष छैन, उहाँ दबाबमा हुनुहुन्छ । प्रधानमन्त्रीजी जंगबहादुर शैलीमा हुनुहुन्छ । उहाँले जे भन्यो त्यही हुन्छ । विपक्षीमा बोल्यो भने त्यसको पत्तासाफ हुन्छ,’ उहाँले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री बनेको भोलिपल्टबाटै इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप लगाउनुभयो । ओलीले आफूहरूले प्रधानमन्त्री बनाए पनि प्रचण्डले इमान छोडेको पनि टिप्पणी गर्नुभयो । ‘यसपटक हामीले वापन्थीसहितको सरकार बनाउन चाहेका थियौँ । उहाँलाई त्यो सह्य भएन । प्रधानमन्त्री भएपछि इमान छोड्नुभयो । प्रधानमन्त्रीजीको बारेमा यसो भन्नु ठिक होइन । तर, उहाँ इमानमा रहन सक्नुभएन । उहाँले दक्षिणपन्थी सरकार बनाउनुभयो । राष्ट्रिय हितलाई कमजोर बनाउनुभयो,’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले पार्टीमा दाहाल जंगबहादुर झैँ रहेको बताउनुभयो । अध्यक्ष ओलीले अब संसदीय समिति बन्न लागेकाले आफूले योगदान गर्नसक्ने समितिको चयन गर्न पार्टीका सांसदहरूलाई आग्रह गर्नुभयो ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न निर्देशन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा प्रस्तुत संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न सांसदहरूलाई निर्देशन दिनुभएको छ । सोमबार संसद् भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीका सांसदहरूलाई यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले प्रस्तुत विधेयकमा कुनकुन बुँदामा बोल्ने भन्ने बारेमा संसद्मा जानकारी गराइने र सो बारेमा आफूले गहन अध्ययन गरेर विधेयकमा संशोधन हाल्ने तयारी थाल्न निर्देशन दिनुभयो । उहाँले संसद्मा पार्टीका सांसदहरूको एकैस्वर र एकैबोली हुनुपर्ने भन्दै आफ्नो आफ्नो तरिकाले नबोल्न पनि आग्रह गर्नुभयो । उहाँले संसद्को मर्यादा कायम गरेर संसदीय गतिविधिलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले आफूहरू संसद्मा प्रस्तुत विधेयक त्रुटिरहित, जनताको पक्षमा र लोकतन्त्र, विकास, स्वच्छताको पक्षमा बनाउने पक्षमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले एकथरी बोल्ने हो, आफैँ आफैँ जान्ने भएर अनेकथरी भाषा ननिकालौँ, हामीले बोल्दा सबैले एक खालको बोलौँ । एक तालमा बोलौँ । संसद्मा अब विभिन्न विधेयकहरू आइरहेका छन् । हामी विधेयक त्रुटिरहित बनाउन चाहन्छौँ । देशका पक्षमा बनाउन चाहन्छौँ । जनताको पक्षमा बनाउन चाहन्छौँ । लोकतन्त्र, विकास, स्वच्छताको पक्षमा बनाउन चाहन्छौँ । त्यसकारण हामीले संशोधन पनि हाल्छौँ । संशोधन हालेर छलफल गरेर अघि बढ्छौँ । हामी टिआरसीको सम्बन्धमा यसरी नै संशोधन हालेर छलफल गर्छौं । कुनकुन बुँदाहरूमा छलफल गर्ने बताइन्छ, त्यहीअनुसार टिपेर आउनुहोला, बिर्सिन सक्छौँ । कस्तो संशोधन के भन्ने कुरामा छलफल गर्नेछौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?