नीति, नेतृत्व र राजनीतिमा परेको खडेरी

Read Time = 17 mins

✍️ भुपेन्द्र थापा (माधव)

मुलुक झण्डै साढे तीन दशकदेखि मूलतः राजनीतिक दल र त्यसका नेताहरूको चरम स्वार्थको बन्दी बन्दै आएको छ । गणतन्त्र आएको पनि करिब दुई दशकको वरिपरि हुन लागिसक्यो तर जनता भने अझै नेताहरूको सत्ता खिचातानीको कथा सुन्न र भोग्न बाध्य छन् । राणाशासन अन्त्य भयो । त्यसपछि निरंकुश पञ्चायत ढल्यो, प्रजातन्त्र आयो, गणतन्त्र पनि आयो । यो व्यवस्था परिवर्तनले जीवनमा ठूलो राजनीतिक, आर्थिक र सामाजिक फरक पार्छ भन्ने आमनागरिकलाई लागेको थियो ।

तर, अन्ततः उही हुने खाने वर्गको हातबाट आमशोसितपीडित जनसमुदायमा न प्रजातन्त्र चुहियो न त लोकतान्त्रिक गणतन्त्र, आखिरमा पहुँचवालाकै बोलवालाले निरन्तरता पायो । परम्परागत राजनीतिक दल र त्यसका हर्ताकर्ताहरूकै हालीमुहाली चल्यो । नेपालमा ठूलाठूला संघर्ष, राजनीतिक परिवर्तनको बाबजुद पनि मुलुक निरन्तर अस्थिरताको अन्धकार सुरुङमै रुमल्लिँदो छ । राजनीतिक पद्धति पटक-पटक फेरियो तर सत्ताको मुहानमा बस्ने र शासन गर्ने शासकहरूले आफ्नो प्रवृत्ति फेर्न सकेनन् ।

भारतीय विषादीयुक्त फलफूल तथा तरकारी बिचौलियामार्फत आमउपभोक्तामा लादिएको छ । देशलाई टाट पल्टाएर आफ्नो दुनो सोझ्याउने दलाल, राष्ट्रघाती, बिचौलिया सक्रिय भएका छन् । व्यापार घाटा र वैदेशिक ऋणले प्रत्येक गरिखाने वर्गको घाँटी अट्ठिँदै आएको छ ।

जसले नेताहरूको वर्ग उत्थान त भयो तर सर्वसाधारण जनताले परिवर्तन र कुनै तन्त्रको महसुस गर्न पाएनन् । मुलुक र आमजनताले यस्तो नियति भोगनुमा मूलतः नेतृत्वको दृष्टिकोण, अदूरदर्शी, व्यक्तिगत स्वार्थ, संकीर्ण सोच एवं राजनेतामा हुनुपर्ने गुणभन्दा अवगुण ज्यादा भएका पार्टीका शीर्षथ नेतृत्व नै मुख्य जिम्मेवार छन् । देशको नेतृत्व गर्छु भन्नेहरूको बुद्धिको भाँडोमा बिर्को लागेपछि मुलुकको भविष्य कता जान्छ ? लामो समयदेखि राजनीतिक घटनाक्रमलाई केलाएर हेर्ने हो भने नेताहरूको अस्थिर चरित्र र सत्ताबाहिर एकपल पनि टिक्न नसक्ने स्वभावका कारण राजनीति जुवाडेहरूको खाल झैँ भएको छ ।

विधिको शासन कतै छैन, सबैजसो क्षेत्रमा राजनीति हावी भएको छ । आमजनताको दैनिकी जीवन दिनप्रतिदिन निकै कष्टकर बन्दै गएको छ । सिंगो मुलुक आर्थिक संकटको मारमा थेगिनै मुस्किल भएको छ तर नेताहरूलाई आफ्नो लुटको स्वर्ग र सत्ताको सिंहासन जोगाउने चिन्तामात्रै छ । आमनागरिकप्रति राजनीतिक नेतृत्व जवाफदेही नभएकै कारण आज दल र नेताहरूप्रति घृणाको थुप्रो चुलिँदै वितृष्णाको शृंखला बढ्दो छ । लोकतान्त्रिक गणतन्त्रका विरोधी स्वरहरू विस्तारै-विस्तारै संगठित भएका छन् । आमजनता यतिखेर वर्तमान राजनीतिक गतिविधिप्रति घोर निरास र आक्रोसित छन् ।

आज गाउँका बस्तीहरू युवा पलायनले उजाडिएको छ । गाउँ आज बुढाबुढी र केटाकेटीको आश्रम झैँ भएको छ । सामाजिक सञ्जालका भित्ताहरू विदेशिने युवायुवतीहरूको बिदाइका तस्वीरले रंगिएका छन् । सबैजसो जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउन आउने युवाहरूका लामा लस्करले ऊर्जाशक्ति क्षण भएको महसुस हुँदै गएको छ । कृषिप्रधान देशका उर्बर जमिनहरू आज बाँझोमा परिणत हुँदै गएका छन् । मुलुकमा श्रमशक्ति कमजोर बन्दै गएको छ । उत्पादन भएका फलफूल, तरकारी, खाद्यान्नलगायत वस्तुको उचित बजार नपाएर किसान बाटोमै उत्पादित वस्तु फ्याक्न बाध्य भएका छन् ।

भारतीय विषादीयुक्त फलफूल तथा तरकारी बिचौलियामार्फत आमउपभोक्तामा लादिएको छ । देशलाई टाट पल्टाएर आफ्नो दुनो सोझ्याउने दलाल, राष्ट्रघाती, बिचौलिया सक्रिय भएका छन् । व्यापार घाटा र वैदेशिक ऋणले प्रत्येक गरिखाने वर्गको घाँटी अट्ठिँदै आएको छ । नागरिकका थाप्लामा ऋणको भारी झन्झन् थपिँदै जाँदा गरिबी र भोकमरीले झुपडीको दैलोमै प्रवेश पाएको छ । आज मुलुक संकटको जरजरमा पुग्दा, यस्तो वर्तमान स्थितिबाट मुलुक गुज्रिरहँदा नेताहरूलाई पद, प्रतिष्ठाका लडाइँले कहिल्यै छोडेन, भागबण्डा खिचातानी र स्वार्थले थोरै पनि गम्भीर बनाउन सकेन ।

आफूलाई भाग कम पर्ला, सुविधा कम होला, भन्ने चिन्ताले सताइएका नेताहरूबाट देशलाई आत्मनिर्भरतातर्फ कसरी अघि बढाउने ? राज्यका अनावश्यक खर्च कटौती कसरी गर्ने ? राज्यमा रोजगारको सिर्जना कसरी गर्ने ? राष्ट्रिय उद्योगधन्दा कसरी स्थापना गर्ने ? राष्ट्रको स्वाभिमानलाई कसरी उच्च राख्ने, आमजनतालाई सुशासनको प्रत्याभूति कसरी दिलाउने भन्ने चिन्ता, चासो कहिल्यै जागेन तर आफ्नो स्वार्थ सिद्ध गर्ने सवालमा सबै नेताहरूमा बृहत् एकता, सहकार्य र अद्वितीय मोर्चा वा गठबन्धनको आधार, विचार र सिद्धान्त नभएर क्षणिक सत्तास्स्वार्थ बन्ने गरेको छ । दलहरूको यस्तो निन्दनीय कार्यप्रति आमजनता आजित छन् ।

नेपाली समाजको नीतिको नेतृत्वकर्ता अर्थात् नेताहरूको अति नै खडेरी लागेको देख्न सकिन्छ । समाज कहाँ छ ? समाज कस्तो छ ? सामाजिक अन्तरविरोध के हो ? त्यसलाई बुझ्ने, चिन्ने र रूपान्तरण गर्ने एक कदम भए पनि प्रगतितर्फ डोहो¥याउने विचार, सिद्धान्त, इमानदारीको प्रतीक प्रतिनिधिको खडेरीले गर्दा आज हाम्रो समाज, सामाजिक परिवेश र मुलुक पछाडि धकेलिँदै गएको छ । नेता नीतिको नेतृत्वकर्ता पनि हो । त्यसैले समाजमा उसलाई नेता वा नेतृत्वको दर्जा दिइन्छ ।

समाज रूपान्तरणको नीति अर्थात् उचलिरहेको सामाजिक चिन्तनधाराको वर्तमान व्यवस्थाको प्रतिनिधि होइन, त्यसको परिवर्तनसहित सामाजिक रूपान्तरण गर्नसक्ने विचार सिद्धान्त, आदर्शसहितको नीति निर्माता वा नेतृत्वकर्ता हो । सिंगो मुलुकको भविष्य कोर्ने, जनताको भाग्य बदल्ने एक सामाजिक अगुवा हो । तर, विडम्बना नेपाली समाजले आजसम्म त्यस्तो असल इमानदार आदर्शप्रति बफादार नेताको खडेरी व्यहोर्नु परेको छ । सिद्धान्त र आदर्शमा अडिएको नेता नभएकै कारण राजनीतिले आजको दिनसम्म नीतिको चरम संकट व्यहोर्नु परेको छ ।

राजनीतिले मुलकुलाई गतिशील बनाउने भएकाले यो सुसंस्कृत हुनु अति अपरिहार्य छ । संस्कारसहितको राजनीतिक व्यवस्थाले शासन सत्ता सञ्चालनलाई पद्धतिमा ल्याउने काम मात्र नभएर सबै क्षेत्रमा समेत सकारात्मक भाव प्रवाह गर्दछ । यो राजनीतिको समुन्नत आधार स्तम्भ पनि हो । हरेक दल तथा नेताहरूले अमजनमा असल संस्कारको प्रवाह गर्नु निष्ठा, मर्यादायुक्त विधिपद्धतिको विकास गर्नु र विश्व सामु सभ्य, सुसंस्कृत मुलुकको रूपमा पहिचान बनाउने गहन अभिभारा पूरा गर्नु मुख्य दायित्व हुन्छ । तर, २०४६ साल यताको प्रजातान्त्रिक अभ्यास नियाल्दा अझै राजनीतिक दल र नेताहरूको व्यवहार संस्कारयुक्त हुन सकेको पटकै देखिँदैन । पछिल्लो समय राजनीतिमा इमानदारी, नैतिक र संस्कारको खिल्ली उडेको छ, राजनीतिमनै समग्र जीवन व्यतित गरेका परिपक्क जेल, नेल यातनासहित संघर्षको विरासत बोकेका नेताहरूको व्यवहार र चरित्र सर्वांग भएर नांगिएको छ । त्यति लामो इतिहास र विरासतको जगमा उभिएका नेताहरूबाट सामान्य राजनीतिक संस्कार, व्यवहार, चरित्र नहुँदा आज मुलुक नीतिविहीन नेतृत्वको संकटमा फस्न बाध्य भएको छ ।

त्यसले नेपाली समाज सामाजिक रूपान्तरणको शृंखलाबद्ध संकटको भुँमरीमा रुमल्लिँदै जान बाध्य भएको छ । मुलुक निर्माणका कार्यनीतिक एवं रणनीतिक यात्राको स्पष्ट दिशा निर्माण गर्न सक्ने दूरदर्शी नीति भएको नेतृत्वको अभाव भएको छ । नीतिगत अकर्मन्य भएपछि कार्यनीतिक रूपमा कस्तो प्रभाव पर्ला ? समाजलाई अग्रदिशातर्फ कसरी डोहोर्‍याउने भन्ने कार्यनीतिक, कार्यदिशा, नेतृत्वकर्ताको खडेरी लागेपछि समाजले भोग्दै आएको पीडाको सामाजिक संकटमोचन कसरी होला ? यसले निम्त्याएको असन्तुष्टि असफलता र दरिद्रताले आमजनता भुंग्रोमा हाम्फाले झैँ भएका छन् ।

लोकतान्त्रिक गणतन्त्र र जनताको रगत पसिनाबाट स्थापित भएको व्यवस्थालाई जीवन्त बनाउने हो भने राजनीतिक पार्टी, नेतृत्व, आमनागरिक सबै सचेत र आलोचित हुन सक्नुपर्दछ । राज्यका समग्र निकायमा काम गर्ने व्यक्तिहरू इमानदार हुनुपर्दछ ।

वर्तमान समग्र बेथितिका जिम्मेवार दल, नेतृत्वप्रतिको उत्तेजनाको लप्को बोक्न बाध्य नेपाली जनताले व्यवस्थाप्रति नै आगो झोस्न नसक्लान् भन्ने कुनै कारण छैन । व्यवस्थाको नाममा सधैँ अपेक्षाहरूमा फोहोरको डंगुर खात लागेर कुरूप हुँदै जान थालेपछि जनतासँग उत्तेजना, आक्रोसको ज्वालाभन्दा केही रहँदैन, निराशा, कुण्ठा, आक्रोस, उत्तेजनाको लप्को बोकेर भौँतारिएको र भड्किएको समाजको सामाजिक मनोविज्ञानलाई सत्ता, शक्तिको पोखरीमा जमेको पानीले निभाउन कठिन हुनेछ । राजनीतिक नेतृत्वमा नैतिकता हराएको छ । हाम्रो देशको राजनीतिक परिवेशबाट हाम्रा कुनै नेतालाई जनउत्तरदायित्वको बोध कहिल्यै हुन सकेन ।

निर्वाचनबखत गरेका वाचा देखाइएका सपना तथा दिएका आश्वासन पूरा गर्नु त कता हो कता संसदीय राजनीतिको मूलमार्गबाट पनि टाढा पुगिसकेका उनीहरूले स्वार्थको लेनदेन र सौदाबाजी गर्नलाई आफ्नो महान् उपलब्धिको मापदण्ड बनाइरहेका छन् । जननिर्वाचित संस्था संसदलाई आफू अनुकूल परिभाषित गरी सत्ता प्राप्तिको खेल मैदानमा परिणत गरिदिएका छन् । जसरी पनि सत्ता र शक्तिको भागबण्डामा पुग्नु नै सफलताको शिखर चुम्नु हो भन्ने मान्यता स्थापित गर्न रातदिन लागिपरेका नेताहरूले राज्यसत्तालाई आफ्नो पुख्र्यौली बिर्ता र जनता उनीहरूको राजनीतिक उब्जनी गर्ने दास बहाली ठानेका छन् । आजसम्मको चरित्र र व्यवहारले प्रष्ट देखाउँछ कि भागबण्डा, आलोपालो लुटको साम्राज्य चलाउने होडबाजीमा उनीहरूले जनआस्थामाथि निर्लज्ज ताण्डव गरिरहेका छन् ।

फेरि पनि लोकतान्त्रिक गणतन्त्र र जनताको रगत पसिनाबाट स्थापित भएको व्यवस्थालाई जीवन्त बनाउने हो भने राजनीतिक पार्टी, नेतृत्व र आमनागरिक सबै सचेत र आलोचित हुन सक्नुपर्दछ । राज्यका समग्र निकायमा काम गर्ने व्यक्तिहरू इमानदार हुनुपर्दछ । झण्डै सात दशक लामो प्रजातन्त्र प्राप्त भएको समयमा विश्वका अरू देशको विगत कस्तो थियो ? आज उनीहरूको वर्तमान कहाँ छ ? अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार कसरी भयो ? देशका प्राकृतिक स्रोतसाधनको उचित उपभोग कसरी गरे ?

यान्त्रिक तथा औद्योगिक क्षेत्रमा आमूल परिवर्तनसहित आर्थिक उन्नति, समृद्धिको बाटो निर्माण कसरी गरे ? यी र यस्ता उदारण नेता तथा आमनागरिकले बुझ्नु अहिलेको आवश्यकता हो । मुलुको विकास, समृद्धि र उन्नतिप्रति सबै जिम्मेवार हुने हो भने राज्यका हरेक नागरिकले आआफ्नो जिम्मेवारी जनप्रतिनिधि, राजनीतिक नेता, सरकारी कर्मचारी, उद्योगी, व्यापारी, किसान, मजदुरलगायत सबैले इमानदारीपूर्वक गर्न सक्नुपर्दछ तबमात्र जनताको मन नेताहरूले जित्न सक्छन् ।

राजनीतिक दलका नेताहरूको आदेशमात्र पालना गर्ने कार्यकर्ता होइन, उनीहरूको स्वस्थ आलोचनासमेत गर्न सक्नुपर्दछ । त्यसले मात्र देशको राजनीतिक संस्कार, संस्कृति र पहिचानको धरोहर उठाउँछ, आर्थिक तथा सामाजिक विभेदको खाडल पुरिँदै समृद्ध समाजको गति निर्माणमा टेवा पुग्नेछ । भागबण्डा र खिचातानीको व्यस्तताबाट राजनीतिक नेतृत्व बाहिरिएर देश, जनता र सामाजिक उत्तरदायित्वप्रति फर्किन सके प्रकृतिले दिएको सुन्दर यो देशले समृद्धिको पाइला टेक्न लामो समय कुर्नु पर्दैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?