✍️ प्रा.देवीभक्त ढकाल
भरतपुर महानगरपालिकाका एकजना पूर्वजनप्रतिनिधि जो आफ्नो कार्यकालमा इमानदारीपूर्वक कुनै प्रकारको रिश्वत विना वडाअध्यक्षको रूपमा सेवारत रहेको कुरा सगर्व भन्ने हिम्मत गर्छन् । वडावासी पनि उनको यो अभिव्यक्तिलाई सहर्ष स्वीकार्छन् । उनी चुनौतीका साथ भन्दछन् कि मैले दुराशयपूर्ण तरिकाले कसैको एककप चिया पनि खाएको कसैले प्रमाणिक रूपमा मेरो अगाडि अहिले पनि राख्न सक्छ भने म बसोवास गरेको स्थान चितवन त्याग्छु । आफ्नो कार्यकालमा आफू इमानदार रहेको विषयलाई अत्यन्तै दम्भका साथ प्रस्तुत गर्दा उनले व्यवहारबाट आत्मबल अर्जित गरेको कुरा झल्कन्थ्यो ।
त्यसैले उनी गर्वका साथ भन्छन् वैकल्पिक पेशा नभइकन राजनीति जसले गर्छ उसले राजनीतिलाई पेशा बनाउँछ । राजनीतिलाई जसले पेशा बनाउँछ उसले भ्रष्टाचार गर्छ/गर्छ । यो उसको बाध्यता हो । त्यो बाध्यतालाई अन्ततः उसले लत अर्थात् अम्मल बनाउँछ । राजनीतिलाई पेशा वा लत वा अम्मल बनाउनेबाटै राजनीति विकृत भएको हो ।
नियमले, कानुनले, अनुशासनले, नैतिकता जस्ता विषयले नेपाली राजनीतिकर्मीमा विकसित भ्रष्टाचारी प्रवृत्तिलाई रोक्न सकेन । त्यसैले यसबारे नागरिक समाजको जागरुकता खड्केको छ । देशमा भ्रष्टाचाररूपी रोग एक प्रकारको संक्रमित रोगको रूपमा विकसित छ ।
राजनीतिलाई व्यवसाय बनाउनेहरूप्रति कटाक्ष गर्दै उनी भन्छन् राजनीतिलाई बदनाम गर्नेहरू तिनै हुन्, जसले राजनीतिलाई जीविकोपार्जन मात्रै होइन विनालगानी मुनाफा प्राप्त गर्ने व्यवसाय बनाए । ती जनप्रतिनिधि सानै उमेरदेखि विविध व्यवसायमा संलग्न थिए । अहिले उनी भूतपूर्व जनप्रतिनिधि हुन् तर पनि उनी मसँग कुराकानी गर्दै गर्दा आफ्नो हार्डवयर पसलमा सामान बिक्री गर्दै थिए । उनी भन्दै थिए कि आर्थिक रूपमा आत्मनिर्भर हुन अन्य पेशा वा व्यवसाय नभएको व्यक्तिले राजनीति गर्यो भने भ्रष्टाचार हुन्छ/हुन्छ । हाम्रा केन्द्रीय नेताहरू शेरबहादुर देउवा, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, रामचन्द्र पौडेललगायत नेताहरूको विगतलाई अध्ययन र विश्लेषण गरौं त कुन नेता आर्थिक रूपमा हिजो आत्मनिर्भर थिए ?
यिनीहरूमध्ये कसैका परिवारहरूले कुनै व्यवसाय यसअघि गरेका थिए ? कसैको पनि थिएन तर अहिले उनीहरूको परिवारमा गरिबी र अभाव भन्ने वस्तु छैन । किन, कसरी उनीहरूको गरिबी र अभाव गायव भयो ? राजनीति गर्नेहरूको गरिबी, अभाव एकाएक गायव हुने तन्त्र र मन्त्र के छ ? यसको रहस्यको अध्ययन, अनुसन्धानको काम किन हाम्रा विद्वानहरू र विश्वविद्यालयहरूले गर्दैनन् ? यो अनुसन्धानका लागि विद्वानलाई र विश्वविद्यालयलाई कसैले रोकेको र छेकेको त छैन ? खेती, व्यापार, उद्योग र जागिर नहुनेहरू भ्रष्टाचार नगरिकन राजनीतिमा कसरी बाँच्छन् ? यस विषयमा समाज किन निगरानी गर्दैन ? उनीहरूको पारिवारिक खर्चलाई धान्ने कसरी ? हिजोमात्रै होइन आज पनि उनीहरूले राजनीतिबाहेकका व्यवसायबाट बाँच्ने वैधानिक आयको आधार के बनाएका छन् ? राजनीतिकै भरमा परिवार धान्न सम्भव हुन्छ ? अब परिवारको भरणपोषण गर्न राजनीतिकर्मीले के गर्छ ? यसबारे अब नेपाली बुद्धिजीवीहरूले अनुसन्धान र नेपाली नागरिकहरूले सबै राजनीतिकर्मीको आ–आफ्नो स्थानबाट निगरानी र खबरदारी गर्नुपर्ने अवस्थामा नेपाली राजनीति छ ।
नियमले, कानुनले, अनुशासनले, नैतिकता जस्ता विषयले नेपाली राजनीति कर्मीहरूमा विकसित भ्रष्टाचारी प्रवृत्तिलाई रोक्न सकेन । त्यसैले यसबारे नागरिक समाजको जागरुकता खड्केको छ । देशमा भ्रष्टाचाररूपी रोग एक प्रकारको संक्रमित रोगको रूपमा विकसित छ । यसलाई नियन्त्रण गर्ने जिम्मेवारी राजनीतिको हो । राजनीति स्वयं भ्रष्टहरूको कब्जामा रहेकाले उनीहरूबाट र कानुनबाट सम्भव नहँुदा नियन्त्रणमा नागरिक समाज र आमजनताको निगरानी र जबर्जस्त खबरदारीको आवश्यकता देखियो । देश विकास गर्ने नाममा नेताहरू सबैले आफ्नोमात्रै विकास गर्दा नै देश र जनतालाई विचल्ली बनाए । नेताहरूको व्यक्तिगत हितका कारणले देशको राजनीतिलाई नेताहरूले प्रदूषित गरे । निमुखालाई न्याय गरिबलाई आय भन्ने भाषणले न न्याय न आयको अवस्थामा नेपालीलाई पुर्यायो ।
ती पूर्वजनप्रतिनिधिसँग मेरो फरक सन्दर्भमा टेलिफोन वार्तालाप भएको थियो । वार्तालापको क्रममा उनले साधारणजस्तो लाग्ने तर गहन विषय पस्के । नेपालको राजनीति र गुण्डानीतिको जनमानसमा के प्रभाव छ भन्ने कुरा अत्यन्तै मार्मिक लाग्यो । आममानिसको बुझाइमा राजनीति गर्नेहरू कति स्खलित छन् भन्ने कुराले मलाई प्रभाव पार्यो । उनीसँग एकजना जागिरबाट अवकाश हुनेबेला भएका प्रहरीको हवलदारले गरेको कुराकानीको विषयवस्तु मलाई अत्यन्तै मार्मिक बनायो । त्यसैले यसलाई प्रस्तुत गर्ने अनुमति लिन्छु । त्यो के थियो भने एकजना सेवा निवृत्त हुने तरखरमा रहेका हबल्दारसँग उनले सोधेछन् दाइ तपाईंको उमेर त अझै काम गर्न सक्ने छ ।
अब अवकाशपछिको योजना के छ भन्ने प्रश्न गर्दा उसले दिएको उत्तर देश र जनताको भविष्यका दृष्टिकोणले अत्यन्तै संवेदनशील थियो । यो उत्तरले देशको राजनीति र सामाजिक भविष्य थप संकटग्रस्त हुने अर्थात् भयावह हुने निश्चित देखियो । ती हवल्दार के भन्दै थिए रे भने अवकाशपछि मैले दुई विकल्प सोचेको छु । आफूसँग व्यवसायका लागि लगानी गर्ने धन छैन । त्यसैले लगानी गर्न नपर्ने तर मनज्ञ आम्दानी हुने पेशा गर्छु । त्यस्तो पेशा के हुन्छ ? कस्ता पेशाहरू हुन् त भन्ने प्रश्नको उत्तरमा उनले भने सकेसम्म त राजनीति गर्छु । किनकि यसमा जस्तो विनालगानीको आम्दानी मेरो अनुभवमा अन्य कुनै पेशामा पनि देखिन । त्यसैले मेरो प्रथम रोजाइ त राजनीति छ, जसबाट मनज्ञ आम्दानी हुने कुरा यो प्रहरीको जागिरे जीवनबाट सिकेको छु । राजनीति गर्न यदि सम्भव भएन भने पुलिसमा सिकेको जानेको ज्ञान र अनुभवलाई गुण्डा परिचालन गर्ने नाइके बन्छु । किनकि यसलाई राजनीतिक संरक्षण कसरी हुन्छ भन्ने कुरा राम्ररी बुझेको छु । उनको आसय थियोे जागिरमा सिकेका ज्ञान र अनुभवलाई गुण्डा परिचालनको क्षेत्रमा काम गरेर गुण्डाहरूलाई रोजगारी दिन्छु र स्वरोजगार हुन्छु ।
एकजना प्रहरीको अवकाशपछिको योजना सुन्दा उनी ताजुब भएछन् । त्यो घटनालाई उनले टेलिफोन सम्वादका क्रममा मलाई पनि सुनाए ।
देशको सुरक्षा निकायमा जीवन बिताएको व्यक्तिलाई देशले र प्रहरी संगठनले के सिकायो भन्ने विषयले म स्तब्ध भएँ । जिम्मेवार राजनीति कर्मीहरूले र नागरिक समाजले यसलाई गम्भीरतापूर्वक मनन् गर्नुपर्ने अवस्था देखिन्छ । राजनीति कति भ्रष्टहरूले गर्दा रहेछन् भन्ने कुरालाई प्रष्ट्याउँन खोजिएको छ भने पैसा कमाउन सजिलो पेशा र उपाय के-के रहेछन् भन्ने विषयलाई एउटा हवल्दारले यसरी बुझ्नु भनेको हाम्रो राजनीति कति भ्रष्ट रहेछ भन्ने प्रमाणित हुन्छ । ती हवल्दारको निष्कर्ष के थियोे भने लगानीविना आम्दानीको सजिलो बाटो भनेको राजनीति र गुण्डागर्दी हो भन्ने उनको निष्कर्षलाई हामीले, समाजले र राज्यले कसरी लिने ? अहिलेको राजनीतिको गन्तव्य भ्रष्टाचार हो भन्ने एकजना प्रहरी पेशाबाट अवकाश हुने व्यक्तिको भावी योजना, कार्यक्रमको खाका र उनको निष्कर्षलाई भने नेपालका गिनेचुने बुद्धिजीवीहरूले, राजनीतिज्ञहरूले मनन् गर्नुपर्ने विषयलाई उनले उठान गरे ।
ती प्रहरी पेशाबाट अवकाश लिँदै गरेकाले विद्यमान विकृतिको आडमा थप विकृतिको योजना बनाए । यस्तो मानसिकता र योजनाले देशको सुदूर भविष्यमा पर्ने नकारात्मक प्रभाव विशेष चिन्ता र चासोको विषय हो । यहाँ ‘बुढी मर्नुभन्दा काल पल्कने’ विषयमा समाजको ध्यान र निगरानी साथै खबरदारीको आवश्यकता देखियो । नेपाली राजनीतिको कमजोरी नै अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण हो । अवैध रकम असुली, ठेकेदार, म्यानपावर व्यवसायी, विद्यालय सञ्चालक, यातायात व्यवसायी आदिले मासिक भत्ता नै दिएर गुण्डाहरू पाल्ने गरेको विषयलाई प्रहरी स्वयं स्वीकार्छ ।
हाम्रो दुर्भाग्य प्रहरीले अनुसन्धान गर्दै जाँदा जब गुण्डाहरू पक्राउको सूचीमा पर्छन् तब त्यो सूचना नेताहरूको कानमा पुग्छ, त्यसपछि नेताहरूले गुण्डालाई पार्टीको राम्रो हैसियतको पदमा पु¥याइदिन्छन् । प्रहरीले गुण्डाहरूलाई सलाम गर्नुपर्ने अकल्पनीय परिस्थिति बन्छ ।
गुण्डाहरू सकेसम्म सत्तारूढ दल नभए पनि ठूला दलहरूसँग आबद्ध भएर राजनीतिक पहुँच बढाउने र आफ्नो ठगीधन्दा वृद्धि गर्ने रणनीतिमा लाग्ने विषय सत्य हो । प्रहरीले गुण्डाहरूलाई कार्बाहीको योजना बनाउँदै गर्दा गुण्डाहरूको राजनीतिक पहुँचका कारण उल्टै प्रहरी नै गुण्डाहरूको बदलाको सिकार हुनुपर्ने दुर्भाग्यपूर्ण अवस्थाका कारण प्रहरीको मनोबल कमजोर हुँदा अहिले समाजमा अपराधको किसिम र घटनामा वृद्धि भएको छ । जब अपराधीलाई राजनीतिले संरक्षण गर्छ भने अपराध घट्दैन झन् बढ्छ । अपराध बढ्नुको मुख्य कारण नै राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्ने वातावरण हो ।
हाम्रो दुर्भाग्य प्रहरीले अनुसन्धान गर्दै जाँदा जब गुण्डाहरू पक्राउको सूचीमा पर्छन् तब त्यो सूचना नेताहरूको कानमा पुग्छ, त्यसपछि नेताहरूले गुण्डाहरूलाई पार्टीको राम्रो हैसियतको पदमा पुर्याइदिन्छन् । प्रहरीले गुण्डाहरूलाई सलाम गर्नुपर्ने अकल्पनीय परिस्थिति बन्छ । यस प्रकारको राजनीतिको भ्रष्ट चरित्र र क्रियाकलापले प्रहरीको आत्मबललाई खुम्च्याछ । जहाँ गुण्डाहरूलाई राजनीतिले पुरस्कृत गर्छ त्यहाँ प्रहरीको मनोदशा कस्तो होला ? सबै उद्योग व्यवसायबाट गुण्डाहरूले मासिक असुली धन्दा गर्दा उद्योगी व्यवसायी धराशायी भएका छन् ।
गुण्डाहरू र राजनीति गर्नेहरूका व्यवसायमात्रै फष्टाउने अवस्थाले समग्र अर्थतन्त्रको अवस्था दिनानुदिन दयनीयमात्रै होइन टाट पल्टने अवस्थामा छ । देशको अर्थतन्त्रमा गुण्डाहरू, राजनीतिकर्मीको कब्जा नै अहिलेको देशको प्रमुख आर्थिक र राजनीतिक समस्या हो । भ्रष्ट राजनीति र गुण्डागर्दीको दुश्चक्रबाट मुलुकलाई मुक्त गर्नु आजको खाँचो हो । गुण्डागर्दी नियन्त्रणको जिम्मेवारी लिनेहरू नै गुण्डाहरूको संरक्षणमा चिन्ता गर्ने प्रवृत्तिले समस्याको समाधान वर्तमान राजनीतिक नेतृत्वबाट सम्भव छैन । यो गम्भीर प्रश्नबारे छलफल, बहस, अन्तक्र्रिया, अध्ययन, अनुसन्धान र समाधानका उपायहरूमा हामी कहिले प्रवेश गर्ने ? आजको वार्तालापले देशको राजनीति र सुरक्षा निकायको मनोविज्ञानको चिरफार जरुरी देखियो । राजनीतिसँग सम्बन्धित सुधारका लागि क्रियाशील विज्ञहरूको ध्यान चिरफारमा कहिले जान्छ ? त्यसको प्रतीक्षा हामीले कति समयसम्म गर्नुपर्छ ? यसको उत्तर दिने आधिकारिक व्यक्ति र निकाय यो देशमा छ ?
हाम्रो दुर्भाग्य भ्रष्टहरूकै सञ्जालभित्र राज्य शक्ति पालैपालो घुम्छ । भ्रष्टलाई भ्रष्टले कारबाही सुरु गर्नुभनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । त्यो कसैले गर्दैन । दलहरूको बीचको गठबन्धन र कार्टेलिङका कारण वर्तमान भ्रष्ट संरचनाबाट देश भ्रष्टाचार मुक्त किमार्थ हुँदैन । यसका लागि राजनीतिले कोर्स परिवर्तन गरेर नयाँ सोच र दृष्टिकोण भएका जनप्रतिनिधिहरूको आगमनविना वर्तमान संरचनाबाट भ्रष्टाचारको विस्तारबाहेक नियन्त्रण हुने त के संकुचनसम्म हुने सम्भावना छैन । विना लगानीका व्यवसायहरू फष्टाउनु भनेको जनताको भाग्य ओइलाउनु हो भने सुधारमा विश्वास गर्नेहरू बौलाउनु हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच