बेनी आक्रमणको १८ वर्ष : भौतिक संरचना ठडिए, मौलिकता ढल्यो

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । हरेक वर्षको चैत ७ गतेले म्याग्दीवासीलाई नमीठो अतितको स्मरण गराइदिन्छ । चैत ७ सम्झना वित्तिकै म्याग्देलीहरुको नजरमा अनेक विभत्स दृश्य नाच्न थाल्छन् । तत्कालीन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको चैत ७ गते आज १८ वर्ष पुगेको छ ।

२०६० सालको चैत ७ गते तत्कालीन बिद्रोही माओवादी र नेपाली सेनाबीच बेनी भिडन्त भएको थियो ।

आक्रमणबाट यहाँ मानवीय क्षति मात्रै भएको थिएन । पुरातात्विक, सांस्कृतिक, ऐतिहासिक र मौलिक क्षति पनि भयो । दोहोरो भिडन्तमा गोली लागेर छियाछिया बनेको पोललाई मानव अधिकारकर्मी कनकमणि दीक्षितले तत्कालीन विद्युत प्राधिकरणका कर्मचारीहरूको मिलेमतोमा रातारात काठमाडौं पुर्याएको स्थानीयको आरोप छ ।

बेनी आक्रमणको घटना भएको समय जति घर्किँदै छ, त्यति नै उक्त घटनाका प्रमाणहरू र तत्कालीन पर्वत राज्यको मुकाम बेनीबजारका मौलिक स्वरुपहरु पनि हराउँदै गएका छन् । उक्त घटनाको एकमात्र जिउँदो साक्षीको रुपमा रहेको युद्धपोल पनि बेनीमा छैन ।

बिद्रोही र सरकारी सेनाबीच भएको भिडन्तमा सयौं गोली लागेर छियाछिया बनेको बिजुलीका पोल(खम्बा) पनि ललितपुर पुर्याइएको छ । युद्धका अवशेषहरू हराउँदै जान थालेको बेलामा नयाँ पुस्ता र विदेशीलाई युद्ध संग्रहालय मार्फत आकर्षित गर्न सकिने ऐतिहासिक महत्व बोकेको पोल ललितपुरबाट फिर्ता ल्याउन सकिएको छैन ।

बेनीको मंगलाघाट जाने बाटोमा तत्कालीन सेनाको ब्यारेक अगाडि दोहोरो भिडन्तमा गोली लागेर छियाछिया बनेको पोललाई मानव अधिकारकर्मी कनकमणि दीक्षितले तत्कालीन विद्युत प्राधिकरणका कर्मचारीहरूको मिलेमतोमा रातारात काठमाडौं पुर्याएको स्थानीयको आरोप छ । पोल अहिले पाटनढोका स्थित मदन पुस्तकालय गुठीको हाताभित्र रहेको यलमाया केन्द्रमा छ । युद्ध पोल बेनीमा फिर्ता ल्याउने विषयमा धेरै अन्तरक्रियाहरु भए । कैयौं योजनाहरु बनाइए तर उक्त पोल अझैसम्म पनि फिर्ता ल्याउन नसकिएको बेनी नगरपालिकाका वडा नं ७ का वडाअध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

पोल फिर्ता गर्ने विषयमा मदन पुस्तकालय गुठी सकारात्मक रहेको बताइए पनि उक्त पोल फिर्ता गर्न मदन पुस्तकालयले अझैसम्म पनि तदारुकता नदेखाएको धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बाँनियाले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको आग्रहमा युद्धपोलको खोजी गर्न ललितपुर पुगेका बाँनियाले दिक्षितलाई भेटेर समन्वय समितिको पत्र समेत बुझाएको डेढ वर्ष नाघिसकेको छ ।

बेनी आक्रमण पछि भेटिएका हातहतियार लगायतका दस्तावेजहरू संग्रह गरेर भावी पुस्तालाई जानकारी दिने युद्ध संग्रहालय बनाउने बेनी नगरपालिकाको योजना समेत कार्यान्वयनमा आउन सकेको छैन ।

सदरमुकाम बेनी आक्रमणमा १६ जना सर्वसाधारण, ३८ जना सुरक्षाकर्मी र ४२ जना विद्रोही पक्षका गरी ९६ जनाले ज्यान गुमाएका थिए ।

दोहोरो भिडन्तको साक्षी बनेको विद्युतको पोल लगायतका सामग्री संकलन गरेर संग्रहालय बनाउने बेनी नगरपालिकाको दुई वर्ष अघिको योजना घोषणामै सीमित छ । २०७५ माघमा बेनी नगरकार्यपालिकाको बैठकले वडा नम्बर २ खबराको लभ्लीहिलमा युद्ध संग्रहालय बनाउने निर्णय गरेको थियो ।

नगरपालिकाको आर्थिक वर्ष २०७६–०७७ र २०७७–०७८ को नीति तथा कार्यक्रममा पनि युद्ध संग्रहालय बनाउने योजना समावेश छ। तर, बजेटको ब्यवस्थापन नभएकाले कार्यान्वयन हुन नसकेको बेनी नगरपालिकाले जनाएको छ ।

सदरमुकाम बेनी आक्रमणमा १६ जना सर्वसाधारण, ३८ जना सुरक्षाकर्मी र ४२ जना विद्रोही पक्षका गरी ९६ जनाले ज्यान गुमाएका थिए । जिल्लाका विभिन्न क्षेत्रमा भेटिएका शव अनुसार उक्त आक्रमणमा करिव चारसय जतिले ज्यान गुमाएको अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?