चितुवाका कारण पशु–चौपाया जोगाउनै मुस्किल

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 2 mins

सिन्धुली । किसानलाई घरपालुवा पशु चौपाया जोगाउन मुस्किल परेको छ । चितुवाले गोठमै आएर दैनिकजसाे पशुचौपाया मार्न थालेपछि सुरक्षामा चुनौती थपिएकोे हो ।

महाभारत क्षेत्रको जंगलबाट आएर फिक्कल गाउँपालिकामा मात्रै एक साताको अवधिमा एक दर्जनभन्दा बढी गाईभैंसी, बाच्छाबाच्छी, खसीबोका चितुवाले मारेको फिक्कल गाउँपालिकाबासी बताउँछन् ।

चितुवाले दुईवटा गोरु र एउटा गाई मारेपछि भोक, निन्द्रा हराएको किसान हरिबहादुर सुनुवारले दुखेको पाेख्नुभयाे । मान्छेमाथि पनि आक्रमण गर्नसक्ने भयले यतिबेला स्थानीयलाई त्रसित बनाएको छ ।

दिउँसै चितुवा आउने डरले गाईबस्तु फुकाएर चरणमा लैजान समेत बन्द गरेको उहाँले बताउनुभयो । ‘चितुवाले मारेर बाँकी रहेका चौपाया जोगाउनै मुस्किल भएको छ । मान्छे कसरी जोगिने चिन्ता बढेको छ,’ उहाँले भन्नुभयो ।

फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारकाअनुसार निगुरे, भष्मे, चनौटे, सिलामे, खोर्सानी भन्ज्याङका किसानका पशुचौपायालाई चितुवाले बढी आक्रमण गरिरहेको छ । जंगलमा डढेलो लागेकाले चितुवा बस्ती छिरेर चौपाया मारेको हुनेसक्ने उहाँले बताउनुभयो ।

वन डिभिजनले समन्वय गरी निकुञ्जबाट कर्मचारी ल्याएर भएपनि चितुवा नियन्त्रणमा लिनुपर्ने स्थानीयबासीको माग छ । चितुवा कतिवटा छन् भन्ने यकिन छैन । डिभिजन वन कार्यालय सिन्धुलीका सूचना अधिकारी हेमकुमार थापाकाले पशुचौपाया क्षतिको विवरण संकलन भइरहेको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?