मलावीमा चक्रवात फ्रेडीबाट पाँच सयजनाको मृत्यु, पाँच लाख विस्थापित

Read Time = 3 mins

ब्लान्टायर । दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट ५ सयजनाको मृत्यु भएको छ भने पाँच लाख आठ हजार २४४ जना विस्थापित भएका छन् । यसअघि सरकारी विपद् व्यवस्थापन विभागले ४७६ जनाको मृत्यु भएको तथा चार लाख ९० हजार विस्थापित भएका बताएको थियो । आँधीबाट एक हजार ३३२ जना घाइते भएका छन् भने ४२७ जना हराइरहेका जनाएको थियो ।

आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । राजधानीका धेरै घर पहिरोमा पुरिएका छन् । आँधी प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् । विस्थापित परिवारको व्यवस्थापनका निम्ति ३३४ केन्द्र खडा गरिएको विभागका आयुक्त चाल्र्स कलेम्बाले बताएका छन् ।

मलावीको शिक्षा मन्त्रालयले यो महिनाको अन्त्यसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको छ । विस्थापित परिवारलाई विद्यालयमा व्यवस्थापन गरिएकाले पठनपाठन स्थगन गरिएको उक्त मन्त्रालयले जनाएको छ ।

छिमेकी ताञ्जानिया र जाम्बियाका साथै संयुक्त अधिराज्यको सहयोगमा देशको सुरक्षा बल, प्रहरी र उद्धारकर्मीको टोलीले खोज तथा उद्धारलाई जारी राखेका छन् । सडक सम्पर्कबाट विच्छेद भएका स्थानमा हवाई सेवामार्फत राहत सामग्री, औषधिका साथै उद्धारकर्मी पुर्‍याइएको छ ।

देशका १५ जिल्ला आँधीबाट प्रभावित भएका छन् भने औसतभन्दा अधिक वर्षा भएर प्रभावितमध्येका तीन जिल्लामा जनजीवन कष्टकर बनेको छ । ती जिल्लामा चक्रवात साम्य भए पनि भारी वर्षा भएको छ ।

चक्रवात प्रभावित क्षेत्रको भ्रमणपछि मलावीका राष्ट्रपति लाजरस चकवेरालले विदेशी नियोग, सरकार, स्थानीय एवं अन्तर्राष्ट्रिय संस्था एवं कम्पनीसँग सहायताका निम्ति अपिल गरेका थिए । राष्ट्रपतिको अपिलअनुरूप ती निकायले सहायता परिचालन गरे पनि त्यो पर्याप्त नभएको राहत तथा उद्धारमा संलग्न अधिकारीले गुनासो गरेका छन् ।

यसैबीच, दक्षिण अफ्रिकी विकास समुदायले मानवीय सहायतास्वरूप मलावीलाई तीन लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?