दुर्गम रहेन अब मलम्पार, पहरो छिचोल्दै पुग्यो बस

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । भीर, पहिरो र जंगललाई छिचोल्दै म्याग्दीको विकट र दुर्गम क्षेत्रमा पर्ने मलम्पारमा पहिलोपटक यात्रुबस पुगेपछि स्थानीय दंग परेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका-५ मा पर्ने मलम्पारमा आइतबार पहिलोपटक बस पुग्दा खुसी हुँदै गाउँलेहरूले बस र बसका चालकलाई फूलमाला लगाएर भव्य स्वागत गरे ।

यात्रु लिएर पहिलोपटक गाउँमा पुगेको ध१ख ११७ नम्बरको बस र चालक श्रीप्रसाद पुनलाई मलम्पारबासीले फूलमाला लगाएर स्वागत गर्दै खुसी साटासाट गरेका थिए । म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने दुर्गम धवलागिरि गाउँपालिकाको वडा नम्बर ६ मराङ-राम्चे, बुल हुँदै वडा नम्वर ५ को मलम्पारसम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेपछि यहाँका वासिन्दा खुसी भएका छन् ।

धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा बुल, मलम्पार हुँदै वडा नम्बर ५ को केन्द्र मल्कवाङ सडक सञ्जालमा जोडिएको हो । गत वर्ष मराङ हुँदै बुल र मल्कवाङदेखि दैडाडामा पुगेको सडकलाई यसपालि जोडेर वडा नम्बर ५ र ६ को चक्रपथ बनाइएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो । ‘मलम्पारबाट सडकलाई वडा नम्बर ६ को बुल जोडेर चक्रपथ बनाइएको छ,’ उहाँले भन्नुभयो, ‘मल्कवाङ-मलम्पार सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले २५ लाख र प्रदेश सरकारबाट १० लाख बजेट विनियोजन भएको थियो । यसपालिको बजेटबाट पाँच किलोमिटर नयाँ मार्ग निर्माण भएको छ ।’

सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङ सम्मको करिब एक घण्टा ३० मिनेटको बाटो २० मिनेटमै छोटिएको छ । मलम्पारका १५० घरधुरी यो सडकबाट लाभान्वित भएका वडा अध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।
मलम्पार र बुल सडक सञ्जालले जोडिएपछि वडा नम्बर ६ को मराङ-राम्चे-बुल हुँदै वडा नम्बर ५ को मलम्पार-मल्कबाङ हुँदै मराङबेशी जोड्ने चक्रपथ निर्माण भएको छ । मलम्पारका बासिन्दालाई दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न, सदरमुकाम, वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्न सहज भएको छ । मलम्पारमा उत्पादन हुने आलु, सिमी, जडीबुटी र भेडाबाख्रा निकासी गर्न सहज भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?