गिरिजाप्रसाद कोइरालाको स्मृतिमा योगदानको स्मरण

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ । नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाको १३औँ स्मृति दिवस मंगलबार देशभर विविध कार्यक्रम गरी मनाइएको हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजनागरी कोइरालाको १३औँ स्मृति दिवस मनाएका हुन् ।

पाँचपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । २०४७ सालको आन्दोलन, २०६२/६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उहाँको भूमिकामहत्वपूर्ण छ । विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गर्नुभएको थियो । कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरुप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए । आन्दोलन सफल भएपछि उहाँ चौथोपटक प्रधानमन्त्री बन्नुभएको थियो । कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो ।

गिरिजा शान्ति प्रक्रियाको नायक र संविधानको पिता होे : थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको नेपालको शासन व्यवस्था गिरिजाप्रसाद कोइरालाले लिएको विचारको परिणाम भएकाले बताउनुभएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले यो व्यवस्थाको सर्वोच्च नेता कोइराला भएको दाबी गर्नुभयो । संक्रमणकालीन न्यायमा पीडितको भावनालाई सम्मान र सम्बोधन गर्न सके मात्र गिरिजाप्रसाद कोइरालाको अभियानले सार्थकता पाउने उहाँको भनाइ छ । थापाले कोइराला शान्तिपूर्ण राजनीतिको नायक भएको र कोइरालाले थालेको कामलाई पूर्णता दिनु नेपाली कांग्रेसको दायित्व हुने बताउनुभयो । ‘गिरिजाप्रसाद कोइराला शान्ति प्रक्रियाको नायक हो, उहाँले थालेको त्यो कामलाई हामीले अहिलेसम्म पूर्णता दिन सकेका छैनौं । शान्ति प्रक्रियाको नेतृत्व गरेको दलको हिसाबले यसलाई टुंगोमा पुर्‍याउने मुख्य जिम्मेवारी नेपाली कांग्रेसको हो,’ उहाँले भन्नुभयो, ‘हिजो शान्ति प्रक्रियामा सहभागी भएका सबै दलहरूले यसलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । यो मुद्दामा सबै दलहरू एक ठाउँमा आउनुपर्छ । अब जतिसक्दो छिटो संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउन सक्नुपर्छ । यसलाई निकै धेरै संवदेनशील भएर टुंगोमा पुर्‍याउनु पर्नेछ ।’ महामन्त्री थापाले नागरिक सर्वोच्चता स्थापित गर्ने कोइराला संविधानको समेत पिता भएको जिकिर गर्नुभयो । त्यसबेला कोइराला नेतृत्वको त्यो मोर्चाको सफलताकै कारण अहिलेको संविधान र नागरिक स्वतन्त्रतासहितका अहिलेका व्यवस्थाहरू प्राप्त भएको उहाँको भनाइ छ ।

श्रीमती शुष्मा मृत्यु शैय्यामा हुँदा उहाँ बिपीलाई छुटाउन राजा महेन्द्रदेखि धेरै क्षेत्रका व्यक्तित्व भेटिरहनु भएको थियो : शेखर
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकाबारे स्मरण गर्नुभएको छ । मंगलबार कोइरालाको स्मृति दिवसमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता शेखरले जीवनमा एकपटक मात्र आफ्ना दाजु बिपीसँग गिरिजाप्रसादले वादविवाद र प्रतिवाद गरेको स्मरण गर्नुभयो । कोइरालाले गिरिजाप्रसादको श्रीमती मृत्युशैय्यामा हुँदासमेत उहाँ बिपीलाई छुटाउन राजा महेन्द्रदेखि धेरै क्षेत्रका व्यक्तित्वलाई भेटिरहनु भएको बताउनुभयो । ‘मोरङको सभापतिमा उठ्न लाग्दै हुनुहुन्थ्यो, बिपीले नउठ्न भन्नुभयो र गिरिजाबाबुले हुन्छ भन्नुभयो,’ उहाँले भन्नुभयो, ‘तर, पछि उठ्नुपर्छ तर हारिदिनुपर्छ भनेपछि उहाँले प्रतिवाद गर्नुभयो । संगठन ध्वस्त भएपछि भुटान गएर पिपुल्स पार्टी गठन गर्नुभयो । उहाँको श्रीमती शुष्मा कोइराला मृत्युशैय्यामा हुनुहुन्थ्यो । तर, उहाँ बिपीलाई छुटाउन राजा महेन्द्रदेखि धेरै क्षेत्रका व्यक्तित्व भेटिरहनु भएको थियो ।’ नेता कोइरालाले द्वन्द्वकालीन न्याय र शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पु¥याउनुपर्ने आवश्यकता भएको बताउनुभयो । ‘अहिलेको नेपालको संविधान र शान्ति प्रक्रिया टुंगो लाग्न बाँकी छ । तर, टुंगोमा नपुर्‍याई हुँदैन,’ उहाँले भन्नुभयो, ‘तर, पीडितलाई न्याय पूर्वशर्त हो, त्यसो नगरी अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्दैन । त्यस्तो अवस्थामा शान्ति प्रक्रिया टुंगिँदैन ।’ नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता दुवै नेपाली कांग्रेसले आत्मसात गरेको भन्दै पार्टीले केही कमजोरी गरेको भए पनि यी दुई विषयको प्रतिबद्धतामा प्रश्न नभएको बताउनुभयो । ‘नेपालमा नागरिक स्वतन्त्रतालाई संस्थागत गर्न गिरिजाप्रसाद कोइरालाको योगदान छ,’ उहाँले भन्नुभयो, ‘अहिले पनि हामी नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा कटिबद्ध भएर उभिन्छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?