✍️ धनविक्रम सिंह
समाज भनेको अनेक जातजातिको समूहहरू, जो आफ्नो जातीय पहिचान अनुसार अनेक वर्ग र समुदायमा विभाजित भई आ-आफ्नो धर्म-संस्कृति जगेर्ना गर्दै एक आपसमा आबद्ध भई जीवनयापन गरिरहेका व्यक्तिहरूको समूहलाई साधारण अर्थमा समाज भनिन्छ । यही समाजभित्रका विभिन्न वर्ग र समुदायका केही चुनिएका व्यक्तिहरूले केही निश्चित उद्देश्य प्राप्तिका लागि संगठित भएर काम गर्दा सो समूहलाई पनि समाज वा संघ भनिन्छ । यस्तो समाज र संघ विशेष गरी धार्मिक र सामाजिक कार्यहरूका लागि बन्ने गरिन्छ ।
उदाहरणका लागि समुदायको कल्याणका लागि, धार्मिक र सांस्कृतिक संरक्षणका लागि गुठीको स्थापना गरी आफ्नो इष्टदेवलाई आवधिक रूपमा पूजा गरी रिझाउने गरिन्छ । त्यस्तै आपसमा सद्भाव कायम राख्दै आर्थिक लेनदेनका लागि परापूर्वकालमा सिक्का र नोटको आविष्कार नहुँदा आपसमा सामान साटासाट गरी निर्वाह गरिन्थ्यो जसलाई पश्चिमाहरूले बार्टर सिस्टम भन्ने गर्दथे । तर, अहिले आर्थिक गतिविधि निक्कै बढ्दै गएकाले सिक्का र नोटको प्रचलन भइरहेकाले पैसा दिएर सामान खरिद गर्ने चलन आएको हो ।
पूर्वीय धर्म-संस्कृतिमा आधारित समाजमा पछि कालान्तरमा बिग्रह भित्रिँदै गयो । जातीय विभेदले गर्दा आ-आफ्ना जातीय आधारमा विभिन्न समुदायहरूको निर्माण हुन गयो । त्यस्तै हाम्रो समाज हिन्दुहरूको बाहुल्य भएको देशमा पछि कुनै कारणले मुस्लिमहरूको छिटफुट प्रवेश भयो ।
सताब्दीयौं पहिले मानिसहरू एकताबद्ध भई संगठित भएर आफ्ना आफ्ना समुदाय बनाएर बस्नथाले । अनि प्रारम्भिक कालमा एउटा समुदाय अर्कोसंग आफ्नो अस्तित्व र शक्तिका लागि जुध्ने गर्दथे । त्यस बखत मानिसहरूमा वीर : भोेग्या वसुन्धराको भावना लिएर शक्तिशालीहरूले नै यस धर्तीमा बाँच्न र राजगर्न पाउँछ भन्ने धारणा मनोमष्तिष्कमा घर गरेर बसेको थियो । त्यसैले पहिला कबिला कबिलाहरूमा पछि राज्य-राज्यहरूमा युद्ध गरेर आफ्नो अधिनस्थ बनाउने चलन धेरै कालसम्म चलिरहृयो । समयका क्रममा मानिसहरूमा क्रमिक रूपमा चेतनाको विकास हुँदै गएपछि एकताबद्ध हुँदै गए ।
यसरी समूह समूहबीच सद्भाव र सदव्यवहार हुन थालेपछि भाइचाराको सम्बन्ध स्थपित हुँदै गयो । अनि यी समूहहरूबीच इमानदारीपूर्र्वक नैतिक आचरण गर्ने, राजकाजप्रति श्रद्धा र नियम कानुन मानेर रााज्यप्रति सदासयता राख्ने सामाजिक मर्यादा परिपालना गर्नेुपर्ने र राज्यले त्यस राज्यसीमाभित्रका मानिसहरूको हित हुने कार्य गर्ने आफसेआफ हुन गएको सम्झौतालाई नै सोसल कन्ट्रयाक्ट थियोरी भनिन्छ ।
सोसल कोन्ट्रयाक्ट थियोरी सम्बन्धमा सबभन्दा पुरानो ग्रिक दार्शनिक सुकरातले आदर्श सोसल कोन्ट्रयाक्ट थियोरीको बारेमा भन्नुहुन्छ यो एउटा यस्तो सम्झौता हो जो नत मौखिक भनिएको हो नत यस्को कुनै लिखित दस्ताबेज नै छ । तर, मानिस मानिसबीचमा स्वस्फूर्त रूपमा नैतिकताको आधारमा कसरी एकआपसमा आचरण र व्यवहार गर्ने कुरा स्थापित हुँदै गयो ? मानिसमा चेतनाको स्तर जसरी विकास हुँदै गयो उनीहरू एकआपसमा लडाइँ झगडा गर्न छाडेर शान्तिसँग मिलेर बस्न रुचाउन थाले ।
यसरी एकआपसमा सहयोग, सदाचार र नैतिक आचरणले समाज सुदृढ हुँदै गयो । समाजका यिनै स्वस्फूर्त नियमहरू र दायित्वका आधारमा टेकेर राज्यको निर्माण भएको होराज्यले पनि समाजलाई सुरक्षा प्रदान गर्दै समाजको हित गर्ने, समाज र व्यक्तिले राज्यप्रतिको दायित्व निर्बाह गर्ने परिपाटी बस्दै आएको हो । यस कारण समाज नै देश हो भन्नुहुन्छ दार्शनिक सुकरात ।
अर्का दार्शनिक स्टुआर्ट रचेल्स भन्नुहुन्छ पुरातन समाजमा इमानदारी र नैतिकता नै सर्वोपरी नियम मानियो जसको आधारमा आचरण र व्यवहार एकअर्काले मान्नुपर्ने भयो । तर, यदि कुनैले नमानेमा समाजबाट बहिष्कार गरिन्थ्यो अथवा दण्डसजाय गरिन्थ्यो । सोसल कोन्ट्रयाक्ट थियोरी सामाजिक नियमकानुनको सँगालो हो । यसले राज्यका नियम कानुन निर्धारण र निर्माण गर्न धेरै हदसम्म मद्धत गरेको छ । संयुक्त राज्य अमेरिकाको संविधान सोसल कन्ट्रयाक्ट थियोरीको आधारमा बनेको छ भनी सामाजिक र राजनीतिक रूपमा उदाहरण पेश गर्ने गरिन्छ दार्शनिक स्टुहार्ट रचेल भन्छन् ।
तर पूर्वीय धर्म-संस्कृतिमा आधारित समाजमा पछि कालान्तरमा विग्रह भित्रिँदै गयो । जातीय विभेदले गर्दा आ-आफ्ना जातीय आधारमा विभिन्न समुदायको निर्माण हुन गयो । त्यस्तै हाम्रो समाज हिन्दुहरूको बाहुल्य भएको देशमा पछि कुनै कारणले मुस्लिमहरूको छिटफुट प्रवेश भयो । अहिले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषित गरिदिनाले इसाईहरू छ्यापछ्याप्ती छन् । हिन्दुधर्ममा पनि आफ्ना आस्थाका आधारमा विभिन्न सम्प्रदाय र पन्थहरूमा समाज विभक्त हुन थाले । धर्म धर्मबीच सम्प्रदाय सम्प्रदायबीच कलह र लडाइँ झगडा बढ्न थाल्यो ।
यसरी परापूर्वकालदेखि कायम रहँदै आएका बृहत् सामाजिक एकतामा खलल पुग्न गयो । समाज नै देश चिनाउने र कहलाउने स्थिति परिस्थिति हराउँदै गए । धर्म पनि विभाजित हुँदै गए । इसाई धर्ममा क्याथोलिक र प्रोस्टेस्टाइन, इस्लाममा सिया, सुन्नी र सुफी सम्प्रदायहरूमा विभक्त भए । हाम्रो हिन्दुधर्ममा पनि बौद्ध धर्मले आफ्नो छुट्टै अस्तित्व स्थापित ग¥यो । हिन्दु र बौद्ध धर्ममा त झन् कति सम्प्रदाय छन् कति ।
यसरी जसरी समाज विभिन्न धर्म-संस्कृति सम्प्रदाय र पन्थमा टुक्रिँदै गयो उसै गरी झैझगडाको बिउ रोपिँदै गयो । यस्ता झैझगडा शान्त पार्न राज्यले समाजलाई सुरक्षा प्रदान गर्न सुरक्षा कर्मचारीहरू नियुक्त गरेर राख्नुपर्ने भयो । एउटा देशले अर्को देशमाथि कब्जा गरी आफ्नो अधिनस्थ पार्नबाट जोगिन प्रतिरक्षाका लागि सैनिक दस्ताहरू नियुक्त गरी तैनाथ राख्नुपर्ने आवश्यकता भयो । यस हिसाबले राज्य र समाजको दायित्व बढ्दै गयो । राज्यले शान्तिसुरक्षादेखि समाजमा हुने उशृंखल गतिविधिले गर्दा पीडितलाई पीडकबाट न्याय दिलाउन दण्डजरिबाना कैदसजाय गर्ने न्यायप्रणालीको विकास भयो ।
हिन्दुधर्म संस्कृति आश्रित समाजमा जातीय र वर्णविन्यासले गर्दा र साथै जातअनुसारको पेशा र कामहरू गर्न पाउने समाजका धर्माधिकारी मठाधीशहरूले तोकिदिँदा त्यस जातीय समुदायको वाञ्छित विकास हुन नसकी कालान्तरमा झन्झन् अधोपतन हुँदै गएको हो । मनुस्मृतिमा जुन चार जात छत्तीस वर्णमा ब्राहृमण, क्षत्रीय, वैश्य र शुद्रको जातीय विभाजन भएको हो त्यसले कुलीन भनाउँदा ब्राहृमण क्षत्रीयको मनोवाञ्छित विकास हुन गयो भने अन्यमा वैश्यको वाणिज्य व्यापार गरी आर्थिक रूपले उन्नति प्रगति भएकै छ भने शुद्रको चाँहि वर्ण बिन्यास भएदेखि नै थिचोमिचो गर्नाले प्रगति हुन नसकेर झन्झन् अधोगतितर्फ धकेलिँदै गएको इतिहासले बताइरहेको छ ।
नेपाल र भारत जहाँ हिन्दु समाजको बाहुल्य छ त्यहाँ अछुत भनी तिरस्कृत गरिएकालाई मन्दिरमा प्रवेशसम्म दिइएको छैन । कानुन र न्यायको दृष्टिमा प्रवेश दिइएको भए तापनि सामाजिकस्तरमा हालसम्म पनि नदिई बहिष्कृत नै भइरहेका छन् । सामाजिक भोजभतेरमा पनि उनीहरूलाई सँगै लाइनमा राखेर भोज खान नदिई अलग्गै राखेर खानदिने चलन थियो । तर, अचेल क्याटरिङको पार्टीमा सबै घुलमिल गरी खाइरहेको देखिन्छ ।
समाजका यस्ता कुण्ठा पन्छाउन राज्य-स्तरबाट प्रयास भइरहे तापनि कुलीन वर्गको मनले विशेषगरी धर्मका ठेकेदारहरूले मानिरहेका छैनन् । त्यसैले अछुत भनिएका जातहरूले सार्वजनिक रूपमा मन्दिर प्रवेश गर्न पाएका छैनन् तर केही यस्ता घटना छिटफुट हुनथालेका छन् जसमा अछुत भनिएका मन्दिर प्रवेश गरेकोमा चर्को विरोध हुनेगरेका घटनाहरू सार्वजनिक हुनथालेका छन् । यसले भगवान सबैको साझा हुन् भन्ने भावना र धारणा नयाँ पिँढीमा घर गर्न थालेको छ । हाम्रो समाजमा पिछडिएका, दलित र जनजातिमा बढी अन्धविश्वास र पछौटेपनले जरा गाडेर बसेको पाइन्छ ।
अन्धविश्वास जसले समाजको उन्नतिमा बाधा पुर्याइरहेको थियो त्यस्ता पछौटेपनबाट समाज मुक्त हुँदै गएकोमा र एकांगी शिक्षाले अर्थात् पुरुषमात्र शिक्षित भएर समाजको सर्वांगीण विकास हुन नसकेको अवस्थालाई चिर्दै नारीपुरुष दुवै शिक्षित भइरहेकाले समाज रूपान्तरणको अवस्था रहेको छ जुन हर्षको कुरा हो ।
भारतको दूरदराज गाउँहरूमा त अहिले पनि भूतप्रेत, पिसाच र कडा रोगबाट मुक्ति पाउन शरीरमा कतै कुनै दाग नभएको पूर्ण कुमारी बातखोत नलागेको सोह्र वर्र्षीय बालिकालाई देवीको मन्दिरमा बलिदिने चलन अहिले पनि कायम रहेको सो सम्बन्धी उपक्रम गरिएको यदाकदा सुन्नमा आइरहेकैछ । विगत केही महिनाअघि बलि दिनका लागि नेपालबाट एउटा कन्याकेटीलाई लग्न लागेकोमा सीमाबाट समातिएर फर्काइएको छ । यस्ता क्रियाकलाप अहिले पनि रहिरहनु समाजका लागि अभिशाप हो । लुकीछिपी गरिने यस्ता मानवताविरोधी निन्दनीय कार्य प्रकाशमा ल्याई कडाभन्दा कडा दण्ड दिई जरैबाट उन्मूलन गर्नैपर्छ । हाम्रो नेपालमा भने यस्ता कुत्सित एवं मानवतालाई नै कलंकको टीका लाउने कार्य भएगरेको सुनिएको छैन ।
केही पहिलेसम्म जात विशेषले गर्ने काम भनी छुट्याइएको थियो । सबै जातजातिलाई तोकिएको कामबाहेक अरू काम गर्न नहुने गरेमा प्रायश्चित र दण्डजरिवाना गर्नुपर्ने चलन थियो । यस्ता चलनले गर्दा त्यस जातको उन्नति प्रगतिमा बाधा पर्न गएको थियो । तर, अचेल आएर जुन जातले जुनैकाम व्यवसाय पनि गर्नेे भएर जातीय बन्धनबाट उम्केर गरेको कामले उन्नति प्रगति गरिरहेको देखिन्छ । त्यस्तै अन्धविश्वासमा जकडिएको हाम्रो समाज अचेल नयाँ पुस्ताका अधिकांशले मान्दैनन् । यो चाहिँ सकारात्मक दिशातर्फ समाज उन्मुख भइरहेको दखिन्छ ।
त्यस्तै पहिला पहिला छोरीहरूलाई पढाएर के हुन्छ यिनीहरू त अर्काको नासो हुन् पढाएर पनि यिनले चुलाचौका त गर्ने हुन् भन्ने गरेकोमा अहिले छोरीलाई पनि पढाउनुपर्छ भन्ने भावना ग्रामीण भेगहरूमा पनि विकसित भएर छोरीहरू पढ्दै गरेका छन् । अन्धविश्वास जसले समाजको उन्नतिमा बाधा पुर्याइरहेको थियो त्यस्ता पछौटेपनबाट समाज मुक्त हुँदै गएकोमा र एकांगी शिक्षाले अर्थात पुरुषमात्र शिक्षित भएर समाजको सर्वांगीण विकास हुन नसकेको अवस्थालाई चिर्दै नारीपुरुष दुवै शिक्षित भइरहेकाले समाज रूपान्तरणको अवस्था रहेको छ जुन हर्षको कुरा हो ।
समाजका नागरिकहरू पनि आफ्ना हक र दायित्वप्रति सजग भइरहेको देखिन्छ । आफ्ना मौलिक हकको प्रयोग गर्दा अर्काको हकमा बाधा पर्न नजाओस् भन्नेमा पनि यदाकदाको घटनाबाहेक सचेत हुँदै गएको देखिन्छ । यी सकारात्मक पाइलाहरूबाट समाज रूपान्तरको अवस्थामा रहेको छ भन्ने बोध गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच