जीवनका लागि जल जोगाऔँ

हिमालय टाइम्स
Read Time = 8 mins

आज विश्व पानी दिवस । पञ्चभौतिक तत्वमध्येको एक जल । पञ्चमहाभूत भनेर वैदिक दर्शनमा पृथ्वी, जल, प्रकाश, वायु आकाशलाई लिएको छ । भ्रूणलाई भौतिक रूपमा अन्तिम सत्य मानिन्छ भने स्पन्दन सञ्चालनको मुख्य आधार आत्मालाई भन्ने गरिन्छ । तर, आत्माको वासस्थान यिनै पञ्चमहाभूतबाट सिर्जित शरीर हो । शरीर जीवनको बासस्थान हो । त्यो बासस्थानका लागि अनिवार्य तत्वमध्ये जल एक हो । कुनै पनि जीवको शरीरमा सबैभन्दा पहिलो भार जलको हुन्छ । जसरी पृथ्वीमा समेत जलभार सर्वाधिक रहेको छ । जल जीवन हो । हामी जीवनको सुरक्षा गर्न चाहन्छौँ भने जलको संरक्षण अनिवार्य छ ।

यही सत्य र यथार्थलाई अनुभव गरी संयुक्त राष्ट्रसंघले सन् २०१० देखि प्रतेयक मार्च २२ लाई पानी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार नेपालमा पनि हामीले आज पानीको महत्वलाई प्रस्तुत गर्ने प्रयास गरिरहेका छौँ । पानीलाई अब आधारभूत भौतिक तत्व मात्रै होइन मानव अधिकारको श्रेणीमा राखिएको छ । यद्यपि, मानव अधिकार भन्नुभन्दा पनि समग्रमा यसलाई जीवन अधिकार वा प्राणी अधिकारको रूपमा परिभाषित गर्नु उपयुक्त हुन्छ । पानीको महत्व मानिससँगै सम्पूर्ण प्रकृतिको उत्पत्ति र विनाशसँग जोडिएको छ । पृथ्वीको उर्वरताका लागि पानी आवश्यक हुन्छ । पानीबिना पृथ्वीको शक्ति अस्तित्वहीन हुन्छ । हावाको अस्तित्व पानीसँग नै जोडिएको हुन्छ ।

भनिन्छ, मानिसका लागि र सम्पूर्ण प्राणीका लागि शुद्ध पानी स्वास्थ्यको पहिलो सर्त हो । अहिलेको समाज असाध्य विकसित भएको छ । विकाससँगै प्रदूषणका कारक भएर अनगिन्ती पदार्थहरूको जन्म भइरहेको छ । नदी, समुद्र, तलाउ, हिमाल, फोहोर हुँदै गएपछि पानीको शुद्धता अन्त्य हुन्छ । क्रमशः विकासको उत्कर्षका कारण पानीका मूल तीन मुहानहरू हिमाल, अन्टार्टिका, आर्टिकमा समेत गम्भीर असर परिरहेको छ । समुद्रमा बस्ने अनेक जीवहरूको जीवन खतरापूर्ण र कष्टकर बनेको छ । पृथ्वीमा बढ्दै गएको उष्णताले प्रकृतिको स्वरूपमा प्रतिकूल परिवर्तन भएको छ । पानीको शुद्धताको अर्थ जैविक विविधताको सुरक्षा पनि हो ।

औद्योगीकरणले मानवीय कर्मलाई जति सहज बनाएको छ त्यसभन्दा बढी जैविक सभ्यतालाई क्षतविक्षत पार्न लागेको छ । जलवायु परिवर्तनलाई विज्ञहरूले चुनौतीका रूपमा लिनुको अर्थ पनि यही हो । जलवायु परिवर्तनको पहिलो असर जलमा नै हुने गरेको छ । जल कतै सुक्दै जाने, समयमा वर्षा नहुने, कतै अतिवर्षा हुने । हिउँ क्षेत्र तीव्र गतिमा पग्लिने, समुद्रहरूमा पानी अत्यधिक भएर भविष्यमा चिसो हुँदै जम्ने अनेक समस्याहरू देखिएका छन् । समुद्र किनारका कतिपय शहरी बस्ती समुद्रको गर्भमा डुब्नेसम्मका अनुमानसहितका प्रतिवेदनहरू सार्वजनिक भइरहेका छन् । जलमात्रैको समस्या छैन अब । जलसँग विविध प्राकृतिक समस्याहरू, मानवीय समस्याहरू समेत जोडिएको अवस्था छ ।

भनिन्छ हिजोका दिनमा शक्ति र शासनका लागि युद्धहरू भए, अहिले तेल र ग्यासका लागि युद्धहरू भएका छन् । भविष्यमा पानीका लागि देश र समुदायका बीचमा युद्ध हुने सम्भावना छ । पानीको अभावमा कुनै पनि जीवको अस्तित्व नामेट हुने कटू यथार्थका कारण पानीको हाहाकार हुनासाथ जलमाथि अतिक्रमण हुनसक्छ । जल जंगलसँग अन्योन्याश्रित छ । जंगलको विनाशले जलमा प्रभाव पार्ने, जलमा हुने प्रभावले सिंगो पृथ्वी र प्रकृतिमा नै प्रभाव पर्ने हुनाले शक्तिउन्मादीहरू, अनि आफू र आफ्नो समाज र देशको मात्रै हित संरक्षणमा लाग्नेहरूले कमजोर देशको जल क्षेत्रमाथि धावा बोल्न सक्छन् । यसै पनि ऊर्जाको महत्वपूर्ण स्रोत जल नै हो । विकासको मेरुदण्ड ऊर्जाको विकल्प अहिलेसम्म आविष्कार भएको छैन ।

विकासका मेरुदण्ड ऊर्जाको पहिलो आधार जल नै हो तर त्यही ऊर्जाबाट आरम्भ गरी प्रवद्र्धित विकास जलविनाशको कारण हुने खतरा छ । अहिले जलवायु प्रदूषणमा भएका सन्धि, सम्झौता, घोषणा र अन्तर्राष्ट्रिय कानुन नियमहरूलाई आमनागरिकमा पुर्‍याउनुपर्ने आजको आवश्यकता हो । कतिपय मानिसहरूमा जल र वातावरणको महत्व के हो जानकारी नहुन सक्छ । आजको दिन कमसेकम जनचेतनाका लागि महत्वपूर्ण हुनसक्छ । ब्राजिलपछि नेपाल भौगोलिक आधारमा दोस्रो जलक्षमता भएको देश मानिन्छ । भूगोलमा सानो भए पनि जलक्षमता प्रचुर छ तर करिब सत्तरी प्रतिशत मानिसमा मात्रै जलको पहुँच रहेको छ । त्यसमा पनि करिब तीस प्रतिशतमा मात्रै शुद्ध जल पुगेको छ । नेपालको जलीय क्षमतालाई ऊर्जामा समेत बदल्न सकिएको छैन ।

नेपाली हिमालबाट बग्ने पानीको सदुपयोग भएको छैन । खानेपानी, सिँचाइ र ऊर्जामा जल उपयोग गर्न सके नेपालको विकास अर्कै अर्थमा बुझिने थियो । तर, पानी राजनीतिले नेपाललाई प्रतिदिन विपन्न बनाउन सहयोग पुगिरहेको छ । विसं २००७ को परिवर्तनसँगै आरम्भ राजनीतिक अविश्वास र राजनीतिक परनिर्भरताले जलउपयोगलाई अविश्वनीय बनाएको धेरै भयो । जलउपयोग आधुनिक विकासको मूलस्रोत भए पनि यसको उचित संरक्षण अनिवार्य जति छ त्यति नै सही उपयोग हुनुपर्दछ । हाम्रो आग्रह छ : जलसम्पदालाई जीवनको मुख्य आधारका रूपमा अनुभव गरी यसको महत्वलाई समाजमा स्थापित गर्नुपर्दछ । पानी दिवसका अवसरमा संसारलाई पानी र जलवायु परिवर्तनको महत्व बुझाउनु आवश्यक छ । किनकि जलको अर्थ जीवन हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?