ठेकेदार र स्थानियको असमझदारीले करोडौँको विकासे योजना निर्माण अबरुद्ध

हिमालय टाइम्स
Read Time = 4 mins

-सरोज निरौला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेस्थित स्तरोन्नतिसहित सडक कालोपत्रे योजनाको काम स्थानीय र ठेकेदारबिच भएको असमझदारीले महिना दिनयता रोकिन पुगेको छ । स्थानीय बासी र ठेकेदारबिचको विवादका कारण सदरमुकाम गाईघाटस्थित करोडौँको विकासे योजना निर्माण सुरुवाती चरणमै अवरुद्ध हुन पुगेको हाे ।

धमाधम काम भइरहेको ‘करमगाछी-नयाँ बस्ती-घलेटोल-गाईघाट स्तरोन्नति सडक योजना’को काम एकाएक विवाद उब्जिएपछि अवरुद्ध हुनपुगेको हो । सडक निर्माणको क्रममा धुलो मार्न पानी छर्कन तथा सवारी आउजाउ गर्न वैकल्पिक ट्रयाक डाइभर्सन बनाउन गाउँलेको माग पुरा नभएकाले विवाद सिर्जना भएको स्थानीयहरु बताउँछन।

सडकको धुलो घरको भान्सादेखी ओछ्यानसम्म पुगेपछि बिहान बेलुका पानी छर्कन स्थानियले माग गरेका थिए । स्थानियको मागलाई ठेकेदार कम्पनीले सम्बोधन नगरेपछी सो कुराको गुनासो वडा कार्यलयसम्म पुगेको थियो ।

यो कुरा प्राविधिक इस्टीमेटमै उल्लेख गरेको हुनाले ठेकेदारले गर्नुपर्ने बाध्यता भए पनि नगरेपछि गाउँलेले प्रश्न उठाएको हुन् । यत्ति कुरा माग गर्दा नै ठेकेदार रिसाएर काम रोक्नु मनासिब नभएको गाउँलेको गुनासो छ ।

वडाध्यक्ष किरण पाण्डेले वडाबासी जनताको माग जायज भएको तर, ठेकेदारले पानी नछर्केको र डाइभर्सन पनि नबनाएपछि स्थानीय बासी रिसाएर वडा कार्यालयसम्म गुनासो गर्न आएको बताउनुभयाे । उहाँले सडक निर्माण गर्ने ठेकेदारले नियमित पानी छर्कने तथा आउजाउ गर्न डाइभर्सन बनाउनुपर्ने सम्झौतामै उल्लेख हुने बताउनुभयाे ।

पूर्वाधार कार्यालय उदयपुरले विवाद उत्पन्न भएपछि काम रोकिएको पुष्टि गरेको छ । कार्यालय प्रमुख डिई गंगासागर यादवले काम हुँदाहुँदै साइटमा विवाद उत्पन्न भएपछि केही दिनयता काम रोकिएको बताउनुभयाे । धमाधम भइरहेको काम एक्कासी रोकिएपछि सोधी खोजी गरेर समस्या समाधानको उपाय खोजिरहेको यादवले बताउनुभयाे । ‘ डिई यादवले भन्नुभयाे ‘कारण बुझ्दा स्थानीय बासी र ठेकेदारबिच केही असमझदारी भएको पाइयो । यसबारे दुवैतर्फ राखेर छलफल गर्ने काम भइरहेको छ।’ डिई यादवकाअनुसार ठेकेदार कम्पनीले आफुमाथि वडाध्यक्षले अन्याय गरेको भन्दै शान्ति सुरक्षाको माग गर्दै निवेदनसमेत दिएको छ ।

ठेकेदार कम्पनी कृष्णलक्ष्मी निर्माण सेवा, काभ्रेले आफू र छोरामाथि वडाध्यक्ष पाण्डेले हातपात गर्न खोजेको भन्दै फागुन ३० गते कार्यालयलाई पत्र लेखी कारबाही गर्न माग गरेको यादवले बताउनुभयाे ।

डिई यादवकाअनुसार सो योजना ०७९ माघ ६ गतेको सम्झौताअनुसार मूल्य अभिवृद्धि करसहित ४ करोड २० लाख ३१ हजार १ सय ४६ रुपैँया ९१ पैसामा सम्पन्न गर्ने गरी कृष्णलक्ष्मी निर्माण सेवाले जिम्मा लिएको छ । पूर्वाधार कार्यालय उदयपुरको रेखदेखमा निर्माण हुने योजनाको झण्डै ४ सय मिटर हाराहारी नाला निर्माणसमेत भईसकेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?