नेपाली क्रिकेटको वरीयता सुधार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको नयाँ ओडिआई वरीयतामा एक स्थान सुधार गरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले एक स्थान सुधार गरी १५औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १६औँ स्थानमा थियो ।

अघिल्लो हप्ता आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको घरेलु खेलमा लगातार जित हात पारेपछि नेपालले वरीयता सुधार गरेको हो । नेपालले खेलेका पछिल्ला १२ ओडिआईमध्ये ११ खेलमा जित हात पारेको थियो । पछिल्ला १२ खेलअघि नेपाल १९औँ स्थानमा थियो ।

नेपालभन्दा पछि ओमान १६औँ, नामिबिया १७औँ, अमेरिका १८औँ, युएई १९औँ र पपुवा न्युगिनी २०औँ स्थानमा छन् । नेपालभन्दा अघि नेदरल्याण्ड्स १४औँ, जिम्बावे १३औँ र स्कटल्याण्ड १२ औँ स्थानमा छन् ।

ओडिआईको शीर्षस्थानमा भारत छ । यस्तै, अष्टे«लिया दोस्रो, न्युजिल्याण्ड तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छन् । त्यस्तै, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, बंगलादेश सातौँ, श्रीलंका आठौँ, वेस्टइन्डिज नवौँ, अफगानिस्तान दशौँ र आयरल्याण्ड ११औँ स्थानमा छन् । टी–२० आई वरीयतामा भने नेपाल १६औँ स्थानमा यथावत् छ ।

खेलाडीहरूको नयाँ ओडिआई बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने २२औँ स्थानमा यथावत् हुनुहुन्छ । यस्तै, दीपेन्द्रसिंह ऐरी ५६औँ स्थानमा यथावत् हुनुहुन्छ । सोमपाल कामी भने एक स्थान खस्किँदै ६७औँ स्थानमा पुग्नुभएको छ । करण केसीले एक स्थान सुधार गर्दै ९६औँ स्थान ओगट्नुभएको छ ।

ओडिआई वरीयता ब्याटिङतर्फ नेपालका कप्तान रोहित पौडेल ५७औँ स्थानमा हुनुहुन्छ । आसिफ शेख ६७औँ स्थानमा यथावत् हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?