दुई महिना नपुग्दै डाक्टरको सरुवा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

बाजुरा । जिल्ला अस्पताल बाजुरामा तीन वर्षपछि कार्यालय प्रमुख भएर आएका डाक्टरको दुई महिना नपुग्दै सरुवा भएको छ ।

दुई महिना नबित्दै एमडिजीपी डाक्टर गएपछि जिल्ला अस्पताल बाजुरामा उपचार सेवा प्रभावित हुँने देखिएको हाे ।

तीन बर्षसम्म जिल्ला अस्पताल बाजुरा एमडिजीपी डाक्टर बिहिन रहेको थियो । गत पुसको १४ गते डाक्टर प्रेरित देवकोटा तेह्रथुमबाट सरुवा भएर जिल्ला अस्पताल बाजुरामा हाजिर हुँनुभएको थियो । डाक्टर प्रेरित देवकोटा सरुवा भएर आएको २ महिनामै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २५ गते सरुवा गरेपछि उहाँ जानुभएको हो ।

डाक्टर देवकोटालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको थियो । डाक्टर देवकोटा सरुवा भएर गएपछि जिल्ला अस्पताल बाजुरामा एमडिजीपी डाक्टररको अभाव रहेको छ ।

३ बर्ष अघि निक साईमन संस्थाको सहयोगमा डाक्टर दुर्गा महर्जनले जिल्ला अस्पताल बाजुरामा सेवा दिदै आइरहनु भएको थियो । महर्जनको सेवा अवधि सकीएपछि तीन बर्ष पहिले नै छोडेर गइसक्नुभएको थियो ।

डाक्टर देवकोटा बाजुरा आएपछि जिल्ला अस्पतालमा कार्यालय प्रमुख बन्ने बारे बिबाद सुरु भएको थियो । डाक्टर देवकोटा आउन पहिले मेडिकल अधिकृत मिलन जोशी कार्यालय प्रमुख हुँनुहुन्थ्यो । देवकोटा मिलन भन्दा एक तह माथि भएकाले देबकोटालाई नै कार्यालय प्रमुख बनाइयो ।

देबकोटा कार्यालय प्रमुख भएपछि आफू कार्यालय प्रमुख बन्न मेडिकल अधिकृत जोशीले राजनैतिक दबाब दिदै अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्की नै देबकोटाको सरुवाको लागि मन्त्रालय गएको समाचार आएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

आलोचना पछि फागुन ११ गते पत्रकार सम्मेलन मार्फत आफू डाक्टर सरुवाको लागि मन्त्रालय नगएको अध्यक्ष कार्कीले बताउनुभएको थियो । पत्रकार सम्मेलनको ठिक १४ दिन पछि डाक्टर देबकोटाको सरुवा पत्र आएको थियो ।

जिल्ला अस्पताल बाजुराका अध्यक्ष मानबहादुर कार्कीकाअनुसार डाक्टर सरुवा भएपनि उहाँलाई बाजुरा बस्ने वातावरण मिलाइएको थियाे । उहाँलाई रमना नलिनु भनेर सल्लाह भएको थियो । आफैले कुनबेला रमाना लिएर गएको पत्तै नभएको अध्यक्ष कार्कीको भनाइ छ । डाक्टर देबकोटा गएपनि हप्ता दिन भित्रै एमडिजीपी डाक्टर ल्याउने कार्कीले बताउनुभएको छ ।

डाक्टर प्रेरित देबकोटाले आफू बाजुरा आउँदा दुर्गम बाजुरामै काम गर्ने भनेर आएको बताउनुभएको थियो । कम्तिमा १ बर्ष सम्म भएपनि बाजुरामा सेवा गर्ने उहाँको लक्ष थियो ।

मन्त्रालयले सरुवा गरेपछि डाक्टर देबकोटा बाजुरा छोडेर जान बाध्य भएको बुझिएको छ । तीनबर्ष देखी जिल्ला अस्पताल बाजुरामा एमडिजीपी चिकित्सक नआएपछि सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता नियमित नै भएको छ ।

एमडिजीपी चिकित्सक नहुँदा सामान्य घाउँदेखी हड्डीको अप्रेसनका लागि पनि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता पुन कायमै छ ।

एमडिजीपीको अबधारणा दुर्गमका अस्पतालका लागि हो, तर दुर्गममा सरकारले पठाउन नै नमान्ने गरेको पाइएको छ । पठाएपनि दुई/तिन महिनामा सरुवा गर्ने गरेको छ ।

जिल्लामा एमडिजीपि हुँदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएकोलगायत अप्रेशन सेवा जिल्ला अस्पतालबाटै प्रदान भइरहेको थियो । दक्ष चिकित्सक नभएपछि पुन यी सबैखाले सेवाहरु बन्द हुँने निश्चित देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?