पर्यटन पूर्वाधारले समृद्ध बन्दै धौलागिरि

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । पछिल्ला तीन वर्षयता धौलागिरि क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणको क्रम बढ्दै गएपछि यस क्षेत्रका पर्वत,बागलुङ,म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै जान थालेको छ ।

वैदेशिक रोजगारी र कला संस्कृतिले सम्पन्न यस क्षेत्रमा पर्यटकीय पूर्वाधारहरु निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु पनि आकर्षित भएका छन् । यो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरुको क्षेत्र भनेर पनि चिनिन थालेको छ ।

साविकको धौलागिरि अंचलका म्याग्दी,मुस्ताङ,बागलुङ र पर्वत जिल्लामा पछिल्लो एक दशकको अवधीमा दुई दर्जनभन्दा बढी मानव निर्मित र प्राकृतिक पर्यटकीय स्थलहरुको पहिचान,व्यवस्थापन र निर्माण भए पछि यस क्षेत्रले पर्यटन विकासमा फड्को मार्दै जान थालेको हो ।

कास्की जिल्लाको नयाँ पुल तर्नेबित्तिकै सुरु हुने धौलागिरि क्षेत्रमा अहिले दुई दर्जन वढी पर्यटकीय स्थलहरुले आन्तरिक तथा वाह्य पर्यटकहरुको ध्यान खिच्न सफल भएका छन् । राउण्ड अन्नपूर्णको चर्चित पर्यटकीय स्थल घोडेपानीदेखि लिएर म्याग्दीको टोड्के,खयरवराह,करवाकेली,राम्चे,लभ्लीहिल,गलेश्वर,महारानीथान,ताकम कोट,ज्यामरुककोट,डढेकोट,जगन्नाथ,झाँक्रीपानी, पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वको दोस्रो लामो जिपलाइन गुप्तेश्वर धाम लगाएत बागलुङ र मुस्ताङका दर्जन बढी पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण र चुस्त व्यवस्थापनले पर्यटकहरु आकर्षित भएका हुन् ।

त्यसैगरी बागलुङ कालिका, विश्वकै लामो झोलुंगे पुल, पञ्चकोट, सालग्राम संग्रहालय जस्ता मानवनिर्मित धार्मिक स्थल तथा आध्यात्मिक केन्द्रहरुको रहरलाग्दो व्यवस्थापन र प्रचारप्रसारले पनि धौलागिरि क्षेत्रको मुहार उजिल्याउन सहयोग पुगेको स्थानीयले बताएका छन् ।
त्यस्तै मुस्ताङ जाने बाटोमै विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाम, म्याग्दीको दानास्थित रुप्से झरनाले पनि पर्यटकलाई लोभ्याउने गरेका यस क्षेत्रका पर्यटन व्यवसायीहरुको भनाइरहेको छ ।

त्यसैगरी हिमालपारीको जिल्ला भनेर चिनिएको मुस्ताङको विविधतायुक्त भूगोल, हिमश्रृङ्खला , ढुम्बा ताल, कागबेनी र हिन्दू र वौद्ध धर्मावलम्वीहरुको साझा तीर्थस्थल मुक्तिनाथ र यहाँका रमणीय स्थलहरुले धार्मिक र पर्यावरणीयले पर्यटकहरुको ध्यान खिच्न सफल भएका मुस्ताङका रोशन शेरचनले बताउनु भयो ।

यानीमाया, सुनिमाया, सालैजो, झ्याउरे गीत र विभिन्न संस्कार संस्कृतिले चिनिएको धौलागिरिलाई अब धार्मिक तथा पर्यटकीय गन्तव्यहरूले पनि चिनाउन थालेका बागलुङका अगुवा युवा हरि गौतमले बताउनु भयो ।

उहाँका अनुसार पछिल्लो समय चर्चामा आएका प्राकृतिक र मानव निर्मित धार्मिक तथा पर्यटकीय गन्तव्यहरूले सिंगो धौलागिरि क्षेत्रको शिर उचो बनाएको छ ।

मानव निर्मित तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरूमा विकासका पूर्वाधारहरू निर्माण भएपछि आगन्तुकहरूको आगमनसमेत उत्साहपूर्ण छ । यसले व्यवसायीहरूलाई पनि उत्साहित बनाएको छ । करिब डेढ वर्ष कोरोनाका कारण बन्द भएका यी गन्तव्यहरू पुनः तंग्रिन थालेका छन् । कोरोनाका बीचमा पनि धेरै धार्मिक तथा पर्यकटीय क्षेत्रहरूमा संरचना निर्माण भएका छन् । लगानीकर्ताहरूले पनि यो समय पर्यटन क्षेत्रमा धेरै लगानी गरेका छन् ।

करिब दुई वर्ष अघि संचालनमा आएको पर्वतको सदरमुकाम कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीको खोचमा बनेकोे विश्वकै अग्लो बञ्जीजम्प धौलागिरि क्षेत्रको पर्यटन विस्तारमा कोसेढुंगा सावित भएको छ ।

द क्लिफ प्रालिमार्फत् सञ्चालनमा आएको बञ्जीजम्पमा पछिल्लो समय आन्तरिक पर्यटकहरूको घुइँचो लाग्न थालेको र संरचना निर्माण गर्न झण्डै ४८ करोड खर्च भएको द क्लिप प्रालिका सञ्चालक राजु कार्कीले जानकारी दिनुभयो ।

कालीगण्डकीदेखि पुलको उचाइ २२८ मिटर छ । द क्लिप प्रालिको यो परियोजनापछि स्विट्जरल्यान्डलाई पछि पार्दै यो विश्वकै अग्लो बञ्जीजम्पका रूपमा स्थापित भएको कार्कीको दाबी छ । कोरोनाले गर्दा केही बाहृय पर्यटकहरू भित्रिन नसकेको भन्दै आन्तरिक पर्यटकहरूको भने चहलपहल हुँदै गएको उहाँको भनाइ छ ।

त्यसैगरी बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै लामो दाबी गरिएको झोलुंगे पुल सञ्चालनमा आएपछि पर्यटकहरूको आकर्षण बढेको छ । यो पुल ५६७ मिटर लामो र १३८ मिटर अग्लो रहेको छ ।

पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण कालीगण्डकी करिडोरको केन्द्रमै पर्ने यो पुल आन्तरिक र बाहृय पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलमा दैनिक सयौँ आन्तरिक पर्यटकको आगमन हुने गरेको छ भने फाट्टफुट्ट बाहृय पर्यटकहरूसमेत आउने गरेको स्थानीयको भनाइ छ ।

पुल सात करोड ९७ लाख ८६ हजार रुपैयाँ लागतमा निर्माण भएको थियो । झोलुंगे पुल सञ्चालनमा आएपछि पर्यटन व्यवसाय फस्टाउन थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?