म्याग्दी । चौतर्फी दवावपछि बेनी अस्पतालको ५० शैया भवनको निर्माणकार्य अलपत्र पारेर सम्पर्कविहीन भएका निर्माण व्यवसायी काममा फर्किएका छन् ।
भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने मिति गुज्रिएपनि शक्तिशाली मानिएका ठेकेदारले काम सम्पन्न गर्न अटेर गरेपछि चौतर्फी ठेक्का टोडेर कालोसूचीमा राख्न दवाव पुगेपछि ठेकेदारले अपुरो काम पूरा गर्न जनशक्ती सहित आवश्यक साम्रागी पठाउन थालेको छ ।
आज जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, जिसस उपप्रमुख दिलकुमारी खत्री सहितको सरकारी निकायका प्रतिनिधिले अवलोकन गरेका छन् ।
नेपाल निर्माण ब्यवसायी महासंका अध्यक्ष एवम् ठेकेदार रवीसिंह श्रेष्ठले अलपत्र भवनलाई पूर्णता दिन अटेर र विभिन्न बाहना बनाएपछि जिल्लाका निर्वाचित प्रतिनिधि तथा प्रदेश सांसद, जिल्ला समन्वय समिति, बेनी अस्पतालबाट भएको दबाबका कारण ठेकेदार काममा फर्किएको बताइएको छ ।
जिसस प्रमुख राजकुमार थापाले अव कामदार फर्किएमा ठेक्का तोडेर कालोसूचीमा राख्ने गरी जिल्ला प्रदेश सरकारबाट सिफारिस गरिने बताउनुभयो । ‘चौतर्फी दबाब सिर्जना भएपछि ठेकेदार काममा फर्किएका छन्,‘दैनिक ३०÷३५ मजदूरले काम गर्न थालेका छन्‘ जिसस प्रमुख थापाले भन्नुभयो ।
केहीदिन अगाडी गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली, गण्डकी प्रदेशका सांसद हरि भण्डारी सहितको टोलीले समेत अलपत्र भवनको अवलोकन गरेका थिए । अस्पताल भवनका बारेमा लगातार दवाव र समाचार प्रकाशित भएपछि महादेव खिम्ती, गल्वा रफिना जेभीले मजदुर पठाउन थालेको प्रजिअ पौडेलले बताउनुभयो ।
भवन निर्माणमा ढिलासुस्ती गर्ने र अलपत्र पार्ने निर्माण कम्पनीलाई ठेक्का तोडेर कालोसूचीमा राख्नेसम्मको चेतावनीसहितको कार्यबाट बाध्य भएर फर्किएका ठेकेदारलाई दैनिक एक सय जनशक्ती विभिन्न काममा खटाउन समेत निर्देशन दिइएको छ । ठेकेदारले समेत काम गरे अनुसारको भुक्तानी सहज नहुदाँ र तालमेल नमिल्दा ढिलाई भएको प्रतिक्रिया दिएको छ । वि.सं २०७३ मंसिर २१ गते महादेव खिम्ती–गल्वा–रफिना जेभीले सो भवन बनाउन १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँ मा ठेक्का सम्झौता गरेको थियो ।
चार हजार ९६३ वर्गमिटर जमिनमा बनाउन लागिएको चार तले तीन वटा भवन विसं २०७६ मंसिर २० गते निर्माण सक्ने लक्ष्य थियो। भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्रीसमेत हुनेछ । भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेसन थियटर, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।
सघन सहरी तथा भवन डिभिजन कार्यालयले सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र कोरोना संक्रमणका कारण आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमार्फत् थपिएको म्याद सकिएपछि अन्तिम अवसरका रुपमा चालु आवमको असारसम्मको म्याद थप गरिएको छ । तीन तला ढलान र प्लास्टर भइसकेको भवनमा टायल राख्ने, रङ्गरोगन, विद्युत्, पानी, फर्निचर जडानलगायत काम बाँकी छन् ।
साझेदारीमा काम गरेका तीन वटै निर्माण व्यवसायीको लेनदेन विवादले भवन निर्माणमा असर परेको बताइएको छ । ५० सैयाको भवन अलपत्र परेपछि अहिले अस्थायी संरचना बनाएर अस्पतालले बिरामीको सेवा दिइरहेको छ । बेनी अस्पतालमा बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत गरी बार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन् ।
बेनी अस्पतालमा बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत गरी बार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन् । भवन निर्माण आयोजना कार्यालय बागलुङले भवन अलपत्र पार्ने ठेकेदार कम्पनीलाई काम गरे भन्दा ७१ लाख बढी भुक्तानी दिएको महालेखाको ५९ र्औ प्रतिवेदनमा उल्लेख गरेको थियो ।