सुदूरपश्चिम र एपिएफको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सुदूरपश्चिम प्रदेश र एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टी-२० प्रतियोगितामा ललितपुर मेयर्स-११ लाई ५१ रनले हराउँदै विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा जितका लागि १३८ रनको विजयी लक्ष्य पछ्याएको ललितपुर निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८६ रनमा समेटियो । ललितपुरकी ओपनर लक्ष्मी चौधरीले ३८ बलमा दुई चौकासहित सर्वाधिक २५ रन बनाउनुभयो ।

यस्तै, कञ्चन श्रेष्ठले १६ र हेलिसा गुरुङले १९ रनबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सक्नुभएन । सुदूरकी ऋतु कनौजियाले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिनुभयो । ललितपुरका पाँच खेलाडी रनआउट भएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १३७ रन बनाएको थियो । सुदूरका लागि सम्झना खड्काले ४५ बलमा ६ चौकासहित ५१ रनको अर्धशतकीय पारी खेल्नुभयो । यस्तै, कविता जोशीले २८ बलमा दुई चौका र एक छक्कासहित २७ रन बनाउनुभयो ।

ओपनर विन्दु रावलले १८ रन जोड्ने क्रममा १४ बलमा चार चौका प्रहार गर्नुभएको थियो । त्यसबाहेक कृतिका मरासिनीले १२औँ ओभरको पहिलो बलमा रुबि पोदारलाई २८ रनमा क्याच आउट गराउनुभएको थियो ।

ललितपुरकी कृतिका मरासिनीले चार ओभरमा एक मेडनसहित २४ रन खर्चेर दुई विकेट लिनुभयो । यस्तै, सोनी पाख्रिनले चार ओभरमा २८ रन खर्चेर एक विकेट लिनुभयो ।

यस्तै, दिउँसो भएको अर्को खेलमा एपिएफ क्लबले मधेश प्रदेशलाई १० विकेटले हरायो । जितका लागि ५८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपिएफले ७.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । एपिएफको जितमा कप्तान सीता राना मगर ३६ बलमा नौ चौकासहित ४५ तथा ज्योति पाण्डेले १० बलमा आठ रनमा जोड्नुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेशले १९.४ ओभरमा ५८ रन बनाउँदै सबै विकेट गुमाएको थियो । मधेशकी युवा ब्याटर साना प्रविनले ४५ बलमा दुई चौकासहित २५ रन बनाउनुभयो । सरस्वतीकुमारी चौधरी पाँच र रोजी कडारी एक रनमा आउट हुनुभयो । एपिएफकी तीव्र गतिकी बलर सोनु खड्काले २.४ ओभरमा नौ रन खर्चेर सर्वाधिक चार विकेट लिनुभयो । कप्तान सीता राना मगरले चार ओभरमा एक मेडनसहित सात रन खर्चेर तीन विकेट लिनुभयो ।

प्रधानमन्त्री कपका चार सेमिफाइनल टोलीमा कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेशसँगै ललितपुर ११ छन् । ललितपुर ११ बाट प्रधानमन्त्री कपमा सेमिफाइनलमा नपुगेका प्रदेशका टोलीबाट टिम निर्माण गरिएको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार सुदूरले एपिएफसँग खेल्नेछ । ललितपुरले कोशी प्रदेशसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?