परिणाममुखी अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन

Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभयो । उहाँले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार आयोजित छलफलमा प्रधानमन्त्री दाहालले संयुक्तरूपमा बजार अनुगमन नगर्दासम्म परिणाम प्रभावकारी आउन नसक्ने बताउनुभयो । उहाँले अवैध आयात नियन्त्रण गर्न राजस्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनलाई संयुक्त टोली परिचालन गर्नसमेत निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘राजस्व छली नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन् । ती सबै प्रभावकारीरूपमा कार्यान्वयनमा लैजानुपर्छ । कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सारदरमा कम्तीमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरवलोकन गर्ने तयारी गर्नुस् । सबै सरकारी निकायले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुुस् ।’ प्रधानमन्त्रीले आयातका लागि राष्ट्रिय मापदण्ड तयार गरी वस्तुको गुणस्तरमा प्रभावकारिता ल्याउने वातावरण बनाउन निर्देशन दिँदै छलफल गर्ने, नीति बनाउने तर कार्यान्वयन नगर्ने परिस्थिति अब रहन नहुने बताउनुभयो ।

सो अवसरमा अर्थ सचिव तोयम राय, राजस्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, प्रधानमन्त्रीको सचिवालयका पदाधिकारी र व्यवसायीको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?