पानीको महत्व र यसको जोगावट !

बद्रीप्रसाद दाहाल
Read Time = 13 mins

‘पानी’ प्रकृतिका पञ्चतत्वमध्येको एक उपहार हो । जमिन, जल, प्रकाश, हावा, आकाश यी सबै जीवनदायी पाँच पक्षको सन्तुलित समागम नै समग्र भौतिक वस्तुुहरूको जीवत्वको उत्थान, विकास र उत्कर्ष हो । पानीलाई संस्कृत कोषले यसको विशेषता तथा आवश्यकतालाई बोध गराउँदै विभिन्न नाम दिएको छ-‘आप, वार्, वारी, सलिल, कमल, जल, पय, कीलाल, अमृत, जीवन, भुवन, वन, कबन्ध, उदक, पाथ, पुुष्कर, सर्वतोमुख, अर्ण, तोय, पानीय, नीर, क्षीर, अम्बु, शम्बर, मेघपुुष्प, घनरस’ यी शब्दहरूको विग्रह वा शल्यक्रिया गरेर अर्थबोध गर्ने हो भने कति घतिलो र गहिरो अर्थ दिन्छन् यी नामहरूले ।

पानीको महा गौरवमा हाम्रा पूर्वीय मनीषिहरूले चिन्ता, चिन्तन र चैतन्यको त्रिकोणबाट बोले-‘अजीर्णे भेषजं वारि, जीर्णे वारि बलप्रदम् । भोजने चामृतं वारि, भोजनान्ते विषप्रदम्’ ।। अर्थात् पानी यस्तो अमृत हो जो अजीर्णमा ओखती बन्छ भने जीर्ण वा कमजोर अवस्थामा भोकै हरण गरी बल दिन्छ, । भोजनको समयमा सुधा बन्ने पानी भोजनको अन्त्य लगत्तै पिएमा भने विष पनि हुनसक्छ भनी निर्देश गरेर जलको उपयोग गर्ने कति शाश्वत सूत्र बताएका छन् ! हाम्रा विद्वान्हरूले ।

विश्वभरै पानीलाई परिशुुद्ध बनाई यसको स्रोत र मूूललाई जोगावट नगरी नहुने ठम्याएर संरासंको आहृवानमा सन् १९९३ मार्च २२ देखि ‘विश्व पानी दिवस’ विविध कार्यक्रमसाथ संसारभर मनाउन थालिएको हो । अनौपचारिक तरिकाले आआफ्ना मान्यताअनुसार यसको संरक्षण तथा जोगावटमा काम हुँदै आएका पनि छन् ।

पानीको शुद्धता वा प्रशोधनलाई ख्याल गर्ने काम मानवको हो भन्दै अर्को सूक्ति यसरी बोल्छ- ‘दृष्टिपूतं न्यसेत् पादं, वस्त्रपूतं जलं पिवेत् । सत्यपूतं वदेत् वाचं, मनः पूतं समाचरेत्’ ।। मतलव–ः हिँड्दा आँखालाई शुुद्ध बनाएर पाइला राख्नू, पानीलाई सफा कपडाले छानेर मात्रै पिउनू । सत्यले शुद्ध बनाएरमात्र बोल्नूू, मनलाई परिशुुद्ध बनाएर आचरणमा रहनूू । यस्ता उदात्त स्वस्थ वाणी जीवन जिउने र बचाउने कलाकै महत्वपूर्ण अध्याय हो । हाम्रा वेदहरूले प्रकृति र वातावरण परिशुद्धिमा आफ्ना ऋचाहरूलाई घनन्न घन्काएर दूरदर्शी सत्य प्रक्षेपण गरेका कुरा हामी अल्लारे, कट्मिरा र पराइसभ्यतामा रम्ने बकम्फुसेलाई के थाहा ?

विश्वभर नै पानीलाई परिशुुद्ध बनाई यसको स्रोत र मूूललाई जोगावट नगरी नहुने ठम्याएर सं.रा.सं.को आहृवानमा सन् १९९३ मार्च २२ देखि ‘विश्व पानी दिवस’ विविध कार्यक्रमसाथ संसारभर मनाउन थालिएको हो । अनौपचारिक तरिकाले आ-आफ्ना मान्यतानुसार यसको संरक्षण तथा जोगावटमा काम हुँदै नआएका भने होइनन् । हाल ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ भन्ने नारालाई आत्मसात् गर्दै उभयपक्षीय संकट समाधानार्थ छिटोभन्दा छिटो मानवहरू जागा भएर यो सुन्दर सृष्टिलाई स्वस्थ तथा तन्दुरुत राख्न पाइला चाल्नु अपरिहार्य छ ।

जनसंख्या वृद्धि, बढ्दो औद्योकिकीकरण, सहरहरूको बस्ती विकास, विभिन्न रासायनिक हातहतियारको निर्माण, क्षेप्यास्त्र, बम बारुदको उत्पादन र तिनीहरूको गलत प्रयोगले गर्दा सृष्टिका कारक बनेका पानीलगायत पञ्चतत्वहरू धूमिल हुँदै हाम्रो सिर्जना व्यवस्थापन संकटमा जाने अवस्था आएको हुँदा यसमा समयमै होसियारी हुनु मानवीय बुद्धिमत्ता हो ।

पानीको जन्मसम्बन्धमा वैज्ञानिकहरूको मत छ सौर्यमण्डलको बरफीय उल्का ठोक्किएर पानी जन्मेको हुनसक्ने बताएका छन् भने कसैले सौर्यमण्डलीय ग्यासबाट भएको भनी उल्लेख गरेका छन् । हाम्रो पुराणले लामो साधना र लगतपश्चात् राजा भगीरथले स्वर्गबाट पानी ल्याई भागीरथी गंगा नाम दिएको सन्दर्भको मिथक आउँछ । विज्ञहरूका अनुसार पृथ्वीमा सफा पानी २.६ प्रतिशत मात्र छ । यसमा १.७ प्रतिशत हिउँ र हिमनदीले ओगटेका छन् भने बाँकी भूमिगत जल छ । पहिला हाम्रो पूर्वीय शास्त्रमा ८४ लाख योनि वा प्रजाति भनिन्थ्यो भने हालका वैज्ञानिकहरूले ८७ लाख योनिको कुरा राखेका छन् । यी जीवहरूमध्ये तीस लाख जति पानीमै बस्छन् रे ।

विज्ञहरूको मतमा जीव र वनस्पतिको कोशिकामा ६० देखि ८० प्रतिशत पानी पाइन्छ । बच्चाको शरीरमा ८० प्रतिशत पानी रहन्छ भने वृद्धकोमा ४५ प्रतिशत मात्र हुँदो रहेछ । कम्तीमा २ लिटर पानी पिउनूू भनेर चिकित्सकहरूले निर्देश गरेको हामी सबैलाई थाहा छ । पेटको खाना पचाउन र शरीरमा हुने रासायनिक परिवर्तनका लागि पनि पानी अपरिहार्य हुन्छ । त्यसै भएर पानीलाई जीवन, अमृत, कमल, सर्वतोमुख आदि सार्थक नाम संस्कृत कोषले दिएको रहेछ ।

प्रकृति र वातावरणविद्हरू भन्छन्-विश्वमा जलस्रोतको सबैधन्दा दोस्रो धनी देश नेपाल नै हो । त्यसैले त हामीकहाँ हिमनदीले पाँच हजार तीन सय तेईस वर्ग किलोमिटर ओगटेको छ भने २३३२ वर्ग किलोमिटर हिमतालले ओगटेको देखिन्छ । हाम्रो देशमा साना र ठूला गरी छ हजारभन्दा बढी नदी तथा खोलाहरू छन् । हाम्रो देशमा बग्ने कोशी, गण्डकी, कर्णाली र महाकालीजस्ता वर्षभरि पानी बहाव रहिरहने हिमनदीहरू छन् । बागमती, कमला, रापती, मेची, कन्काई आदि नदीहरू वर्षा याममा पानी बढी र हिउँदमा साह्रै कम भई बग्ने नदी हुन् । तिनाउ, बाणगंगा, मनस्मरा, हर्दिनाथ र सुनसरी नाम गरेका नदीहरू सिवालिक पर्वतबाट बग्ने गर्दछन् ।

एक स्वस्थ मान्छे अन्न नखाँदा पनि धेरै दिन बाँच्न सक्दछ तर पानीविना एक साता पनि बाँच्न सक्दैन । डाक्टरहरूको भनाइ छ- मानव मस्तिष्कको असी प्रतिशत कोषिका पानीले बनेको हुन्छ । नवजात शिशुुको तौलमा असी प्रतिशत पानीकै राज हुन्छ ।

यसरी पानी पिउन, अन्नबाली उत्पादन गर्न, ऊर्जाको लागि र मानव विकासका काममा अपरिहार्य भएको छ । पानीकै कारण नेपालभारत बीच तनाव र टकराब पनि समय समयमा हुन्छ पनि । विश्वभर नै पानीका जरिया, मूूल वा स्रोत सुक्दै गएका कारण पानीको कोलाहल पर्ने सम्भावना भएकाले विज्ञहरू चिन्तिन हुँदै के छ त गाँठी कुरा भनेर पानी चिन्तनमा अभ्यस्त छन् यतिखेर । वास्तवमा प्राणीहरूको जन्म पानीमै भएको हो । मानव शरीरका अधिकांश अंगउपांग पानीले नै भरिएका हुन्छन् । त्यसैले त संस्कृत कोशकारहरूले पानीलाई अम्बुु, सलिल, कमल, अमृत आदि सार्थक नाम राखिदिएका रहेछन् ।

एक स्वस्थ मान्छे अन्न नखाँदा पनि धेरै दिन बाँच्न सक्दछ तर पानीविना त एक साता पनि बाँच्न सक्दैन । औषधि विज्ञानका डाक्टरहरूको भनाइ छ–मानव मस्तिष्कको असी प्रतिशत कोषिका पानीले बनेको हुन्छ । नवजात शिशुुको तौलमा असी प्रतिशत पानीकै राज हुन्छ । एक दिनमा लोग्ने मान्छेलाई ३ लिटर र स्वास्नी मान्छेलाई २.५ लिटर पानी पिउनु अपरिहार्य छ । स्वच्छ पानी पर्याप्त पिउनाले मुुुटुु क्यान्सरजस्ता रोगहरू प्रतिरोध हुन्छ भन्छन् विज्ञहरू । हाम्रा रक्तवाहिनी नली र आन्द्रामा जमेका फोहोरहरू पानी पिउँदा नै सफा हुन्छन् । मुख र दाँतको रोग पनि यसको नियमित सन्तुलित पानले चेतबाबा बनाउने हुँदा जलस्रोतको जोगावट गर्नुु सबैको अनिवार्य कर्तव्य हो ।

मध्यपूूर्वीय देशहरूमा इजरायल प्यालेस्टाइनबीच कत्रो यौद्धिक धमाका चल्यो यही पानीको नाममा । नाइल नदीको पानीको मुद्दाले अफ्रिकी मुलुकहरू घना विवाद चलेको सबैमा अवगत भएकै कुरा हो । त्यसै भएर विशिष्ट कूटनीतिज्ञ भन्छन्–ः भविष्यमा विश्वलाई तेललेभन्दा पानीको गम्भीर समस्याले चुनौती थप्न सक्छ । च्याहाँदेखि चिहानसम्म प्राणी जगत्को अपरिहार्य तत्व पानीलाई विषाक्त हुन नदिने र यसका मुहान, पोखरी, ताल, कुुण्डहरूको संरक्षण संवर्धन गर्न चेतनशील मानव नलागेमा हराभरा सिर्जना संसारको इति हुने निश्चित छ ।

प्रदूषित पानीलाई पनि प्रशोधन गरी उपयोगमा ल्याउन अनिवार्य छ । किनकि स्वच्छ पानी त संकुचन हुँदै गइरहेको छ । पर्यावरणीय सुरक्षामा हामी मनमुटुदेखि लाग्नु जरुरी छ । विकासको नाममा स्वच्छ वातावरणलाई खलल पुुर्‍याएर जंगल विनाश, बाढी, पहिरो, डडेलो र अनावश्यक डोजर तथा स्काभेटर कुदाएर बस्तीहरू धुलाम्मे हिलाम्मे बनाउन कदाचित् हुँदैन । अनि हामी दिवसको दिनमा मात्रै औपचारिक सक्रियता देखाएर अरू समय प्रकृतिमाथि अश्लील हर्कत गर्ने बानीको इतितसत् हुनुपर्छ र नयाँ दृष्टिकोणको अथमा यात्रा जरुरी छ । प्राणीमात्रको प्राण, त्राण, अस्तित्व, भाग्य एवं भविष्य बनेको पानीको महिमा बोध गर्नु र यसको चिरकाल जोगावट गर्ने र स्वच्छ बनाउनेमा हाम्रो ध्यान यस्तै दिवसले आकृष्ट गरोस् । जय पानी !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?