आवाजकी धनी, वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वरिष्ठ संचारकर्मी एवं आवाजकी धनी कृष्णा ताम्राकारको निधन भएको छ ।

८६ वर्षीया ताम्राकारको बिहीबार राति न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा निधन भएको हो । उहाँकै अहिले बिहान पशुपति आर्यघाटमा दाहासंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो समय उहाँ निमोनियाबाट ग्रस्त रहनुभएको थियो । ८६ वर्षीया ताम्राकारको गत मंगलबारदेखि न्यूरो अस्पतालमा उपचार भइरहेको थियो ।

आफ्नो बुलन्द आवाजकै कारण सदा चर्चामा रहनुभएकी ताम्राकारले यसअघि आन्द्राको क्यान्सरसमेत जितिसक्नुभएको थियो ।

उहाँ रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचिका हुनुहुन्थ्यो । २०१८ सालमा रेडियो नेपाल प्रवेश गर्नुभएकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गर्नुभएको थियो । उहाँले विभिन्न कार्यक्रम पनि चलाउनुभएको थियो ।

उच्च बनोबल लिएर जीवनमा संघर्ष गरिरहनुभएकी ताम्राकारले पछिल्लो समय इमेज एफएममा उज्यालो कार्यक्रम चलाउँदै आउनुभएको थियो । ताम्राकारका तीन छोरी हुनुहुन्छ । जसमध्ये कान्छी छोरी गृष्मा राजभण्डारी पनि संचारकर्मी नै हुनुहुन्छ ।

यसैबीच, नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले ताम्राकारको निधनप्रति दुस्ख व्यक्त गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार । उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो। उहाँको निधनको खबरले अत्यन्त दुःखी छु, हार्दिक श्रद्धाञ्जली, कृष्णा ताम्राकार जी । शोकाकुल परिवारजनमा गहिरो समवेदना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?