राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने ४७ खेलाडी पुरस्कृत

हिमालय टाइम्स
Read Time = 4 mins

सुर्खेत । कर्णाली प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्दै विभिन्न पदक जित्न सफल खेलाडीलाई पुरस्कृत गरेको छ । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले यहाँका १० जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएर कास्य, रजत र स्वर्ण पदकसहितका पदक जित्ने ४७ खेलाडीलाई २५ लाख ५५ हजार नगद पुरस्कार प्रदान गरेको हो ।

परिषद्को यसअघिको निर्णयबमोजिम १२औं राष्ट्रपति रनिङ शिल्ड तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कृत गरिएको सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिनुभयो ।

उहाँले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सिफारिसमा कर्णाली प्रदेश सरकारले १२औं राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमश : २० हजार, १५ हजार र १० हजार नगदसहित सम्मान गरिएको बताउनुभयो ।

खेलाडीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई दुई लाख, रजत पदक विजेतालाई एक लाख ५० हजार र कास्य पदक विजेतालाई एक लाख प्रदान गरिएको छ । १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तीन स्वर्ण, सात रजत र सात कास्य, कबड्डी टोलीसहित १६ कास्य पदक तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशका तर्फबाट दुई स्वर्ण, चार रजत र ११ कास्य पदक जितेका थिए ।

सन् २०२२ मा सञ्चालित अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागी भई फुटबलतर्फ रजत पदक जित्न सफल हुम्लाका दीपा शाही ५० हजार र स्वर्ण पदक विजेता स्टे«न्थ लिफ्टिङ सुर्खेतका खगिसरा घर्तीलाई दुई लाख नगद पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा सामाजिक विकासमन्त्री टेकराज पछाईंले खेल क्षेत्रबाट कर्णालीले विश्व चिनाउन ठूलो योगदान गरेको बताउनुभयो ।

मन्त्री पछाईंका अनुसार १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा खेलकुदका पूर्वाधार तीव्रता साथ अगाडि बढाइएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि यो अवसर र चुनौती दुवै भएको बताउनुभयो । सदस्यसचिव सञ्ज्यालले खेलाडीको पुरस्कार र प्रोत्साहन गर्न कर्णालीमा खेलको वर्गीकरण गरी प्रशिक्षणलाई प्रथामिकता दिने योजना बनाइएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?