विराटनगर सिटी सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । सातौं संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । शहीद रंगशालामा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १-० गोलले हराउँदै विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयसम्म दुवै टोलीले गोलरहित खेल खेलेका थिए । अतिरिक्त समयमा विराटनगरका आशिष श्रेष्ठले निणार्यक गोल गर्नुभएको हो । दिवाकर चौधरीले दिएको पासको सदुपयोग गर्दै उहाँले गोल गर्नुभएको थियो । पुलिस क्लबले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो । खेलको म्यान अफ द म्याच विराटनगरका उत्सव राई घोषित हुनुभयो । उहाँले २५ हजार पुरस्कार हात पार्नुभयो ।

यही चैत १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोली सहभागी छन् । विजेताले २० लाख १५ हजार तथा उपविजेताले १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले जानकारी दिनुभयो ।

तत्कालीन राजा महेन्द्र शाहको नामबाट २०१८ सालमा महेन्द्र गोल्डकप सुरु भएको हो । विसं २०५७ देखि सो प्रतियोगिता विराट गोल्डकपका रूपमा सञ्चालन हुँदै आएको छ । यता राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा चर्च ब्याइज युनाइटेड काठमाडौंले फाइनल खेलयात्रा तय गरेको छ ।

अन्तिम सेमिफाइनल खेलअन्तर्गत साविक उपविजेता त्रिभुवन आर्मी क्लबको आत्मघाती गोलले चर्च ब्वाइज युनाइटेडले फाइनल यात्रा तय गरेको हो । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइज काठमाडौंका फ्यांकलिंक ताल्ला घोषित हुनुभयो । उहाँले नगद १० हजारसहित ट्रफी हात पार्नुभयो ।

गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाइज युनाइटेड र साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा मोरङबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख तथा ट्रफीसहित मेडल प्राप्त गर्ने आयोजकले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?