म्याग्दीको हिस्तानमा भीषण असिना : हिउँदेबाली र तरकारीखेती नष्ट

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । शुक्रवार (आज) परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भित्राउने बेलाको हिउँदे बाली र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ ।

अन्नपूर्ण गाउँपालिका ७ हिस्तान लगाएत उत्तरी म्याग्दीका विभिन्न गाउँहरुमा दिउँसो परेको बाख्लो असिनाले पाक्नैलागेको हिउँदेवाली समेत नास गरिदिए पछि किसान चिन्तित भएका हुन् ।

म्याग्दीको उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीबालीमा क्षति पुर्याएको किसानहरुले बताएका छन् ।

हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको हिस्तानका कृषक रमेश पुर्जाले बताउनुभयो । शुक्रवार ३ बजेतिर हिउँजस्तै जम्नेगरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उहाँको भनाइ छ ।

खेतबारीमा लगाएको गहुँ,तोरी,केराउ,जौ,उवा लगाएत भित्राउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रदै गरेको मकै,सिमी,आलु,काँक्रो,घिरौला लगाएतका तरकारी र बालीका विरुवामा समेत क्षति पुगेको कृषक देवी पुनले बताउनुभयो । त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पुर्याएको छ । असिनाले गरेको क्षतिको विवरण संकलन भैरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो । अलिअलि भएको बाली समेत असिनाले नष्ट गरिदिँदा किसानहरु मारमा परेको उहाँले बताउनुभयो । जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका कृषकहरु भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५देखि ४५ प्रतिशत सम्म कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ ।

विगतका वर्षहरुमा तीन/चार पटक हिमपात भैसक्ने म्याग्दीका उच्च लेकाली क्षेत्रहरुमा यो वर्षभने चैत लागिसक्दा पनि हिमपात हुन सकेको छैन ।

जिल्लाका गुर्जा,मुदी,टाड्के,रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका उच्च लेकाली क्षेत्रहरुमा हिमपात नहुँदा पशुपालक कृषकहरुलाई समस्या भएको छ । बुकी र खर्कहरुमा हिमपात नभए पछि घाँस पलाउन नसक्दा पशुपालक कृषकहरुलाई समस्या भएको हो । समयमा नै हिमपात नहुँदा लेकाली क्षेत्रमा लगाइएको आलु लगाएत हिउँदेबालीको उत्पादनमा समेत ह्रास आएको छ भने पशुलाई चरनको समेत समस्या हुने देखिएको किसानहरुले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?