मेस्सी र रोनाल्डोको कीर्तिमान

Read Time = 3 mins

लिस्वेन । फुटबल खेलाडीद्वय लियोनेल मेस्सी क्रिस्टियानो रोनाल्डोले आ-आफ्नो देशबाट खेल्दै कीर्तिमान कायम गर्नुभएको छ । अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानमामाथि २-० को जित निकाल्दा मेस्सीले करिअरमा आठ सय गोल गर्ने कीर्तिमानी गोल गर्नुभएको थियो । अर्जेन्टिनाका लागि मेस्सीसँगै मिडफिल्डर थियागो अल्माडाले गोल गर्नुभयो ।

७८औं मिनेटमा अल्माडाले गोल गर्दै अर्जेन्टिनालाई १-०को अग्रता दिलाउनुभएको थियो । मेस्सीले ८९औं मिनेटमा फ्रिकिकमार्फत सुन्दर गोल गर्दै अर्जेन्टिनाको जित पक्का गर्नुभएको हो ।

यता युरोकप २०२४ को छनोटमा पोर्चुगलले लिचेस्टाइनमाथि ४-० को सानदार जित दर्ता गर्नेक्रममा दुई गोल गर्दै रोनाल्डोले कीर्तिमान राख्नुभयो । लिचेस्टाइनविरुद्धको खेलसँगै रोनाल्डो पुरुषतर्फ राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै खेल १९७ खेल्ने खेलाडी बन्नुभएको छ । यसअघि कुवेतका फरवार्ड बदेर अल-मुतावाले देशबाट १९६ खेल खेल्नुभएको थियो ।

लिचेस्टाइनविरुद्धको दुई गोलसँगै ३८ वर्षीय रोनाल्डोको गोल संख्या पनि १२० अन्तर्राष्ट्रिय गोल पुगेको छ । सन् २००३ मा पोर्चुगलको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका रोनाल्डो गतवर्ष कतारमा भएको विश्वकपमा गोल गर्दै पाँच विश्वकपमा गोल गर्ने पहिलो व्यक्ति बन्नुभएको थियो ।

पोर्चुगलको जितमा कप्तान रोनाल्डोले दुई तथा जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले समान एक गोल गर्नुभएको थियो । खेलको आठौं मिनेटमा क्यान्सेलोको गोलबाट गर्दै पोर्चुगललाई अग्रता दिलाउनुभयो । ४७औं मिनेटमा सिल्भा, ५१औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा र ६३औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत दोस्रो गोल गर्नुभएको थियो ।

यस जितसँगै समूह ‘जे’ मा पोर्चुगलले तीन अंक जोडेको छ । पराजित लिचेस्टाइनले अंक जोड्न सकेको छैन । यही समूहको अर्काे खेलमा बोस्निया एन्ड हर्जगोभिनाले आइसल्याण्डलाई ३-० ले पराजित गरेको छ । बोस्नियाको जितमा रेड क्रुनिकले २ तथा अमर डेडिकले १ गोल गर्नुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?