एपीएफले दोस्रो जित निकाल्दा कोशी प्रदेशको सुखद् सुरुवात

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । कप्तान सीता रानामगरको अर्धशतकीय पारीको सहयोगमा शुक्रबार एपीएफले तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १५ रनको रोमाञ्चक जित निकाल्दा दिनको दोस्रो खेलमा कोशी प्रदेशले सुखद् सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपीएफबाट पाएको १२२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १०६ रनमात्र बनाएपछि एपीएफले जित पक्का गरेको हो । यससँगै एपीएफले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

एपीएफले दिएको लक्ष्यसहिज जवाफी ब्याटिङ गर्ने क्रममा सुदूरपश्चिमका लागि कविता कुँवरले ६० बलमा ५१ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले तीन चौका र २ छक्का प्रहार गर्नुभयो । कुँवरका अलावा कविता जोशीले २६ रनको अविजित पारी खेल्नुभयो । सम्झना खड्का १७ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि सुमन विष्टले २ तथा कप्तान सीता रानामगर र इन्दु बर्माले समान १/१ विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले पूरै २० ओभरमा २ विकेट गुमाएर १२१ रन बनाएको थियो । एपीएफका लागि कप्तान सीता रानामगरले ५९ बलमा अविजित ५४ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । सीताले ७ चौका प्रहार गर्नुभयो । यस्तै इन्दु बर्माले ३७ बलमा ५ चौकाको मद्धतमा ४५ रन बनाउँदा ज्योति पाण्डे १३ रनमा रनआउट हुन पुग्नुभयो । बलिङतर्फ सुदूरपश्चिमकी ईश्वरी विष्टले १ विकेट लिनुभयो ।

यसअघि बिहीबार भएको आफ्नो पहिलो खेलमा एपीएफले मधेस प्रदेशमाथि १० विकेट फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । यस जितपछि एपीएफ दुई खेलबाट चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यता पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ५१ रनले पराजित गरेको सुदूरपश्चिमको समान दुई खेलबाट दुई अंक छ । सुदूरपश्चिम तेस्रो छ ।

यस्तै शुक्रबारै सम्पन्न दिनको दोस्रो खेलमा कोशी प्रदेशले आयोजक ललितपुर मेयर्स-११ माथि ७ विकेटको सहज जित निकालेको छ । त्रिवि मैदानमै भएको खेलमा ललितपुरले दिएको ६६ रनको सामान्य लक्ष्य कोशी प्रदेशले १२ ओभरमा ३ विकेट गुमाएर भेटाएको हो । उसका लागि अपसरी बेगमले अविजित २९ रनको पारी खेल्दा कप्तान रुविना क्षेत्री १३ रन जोड्नुभयो । स्मृति कटुवाल ९ रनमा पवेलियन फर्किँदा काजल श्रेष्ठ गोल्डेन डगआउट हुनुभयो । बलिङतर्फ ललितपुरकी अस्मिना कर्मचार्यले २ विकेट निकाल्दा कृतिका मरासिनीले १ विकेट आफ्नो नाममा लेखाउनुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले १६.५ ओभरमा सबै विकेट गुमाएरमात्र ६५ रन जोड्नसक्यो । ओपनर लक्ष्मी चौधरीले सर्वाधिक २३ रन बनाउनुभयो । यस्तै मनिषा उपाध्याय १० रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् । यससँगै ललितपुरले लगातारका दुई खेलमा नतिजा सुम्पिएको छ भने कोशी प्रदेशले जारी प्रतियोगितामा विजयी सुरुवात गरेको छ । जितपछि कोशी प्रदेशले दुई अंक जोड्दै दोस्रो स्थानमा अटाएको छ । दुई खेलेको ललितपुर तालिकामा अंकविहीन छ । प्रतियोगितामा शनिबार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल मशेस प्रदेश र सुदूरपश्चिम प्रदेश तथा दोस्रो खेल कोशी र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?