मस्र्याङ्दीका २२० केभी सबस्टेसन अन्तिम चरणमा

Read Time = 5 mins

काठमाडौं । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणको काम भइरहेको छ । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धारापानीमा २२० केभीका सबस्टेसन निर्माणाधीन छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार खुदी सबस्टेसन आगामी छ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ । भौगोलिकरूपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरण लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्नेछ । पहुँच सडक निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ ।

नयाँ भरतपुर सबस्टेसनमा सञ्चालनअघि गर्नुपर्ने परीक्षणका काम भइरहेका छन् । उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचना निर्माण सम्पन्न भएका छन् भने सबस्टेसनमा रहने उपकरण निर्माणस्थलमा ढुवानी र जडान जारी छ ।

भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणको काम भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत् निर्माण प्रगति, समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गर्नुभएको छ । नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, ३२० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए क्षमताका पावर टान्सफर्मर रहनेछन् ।

खुदी र धारापानी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् । खुदी सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचना निर्माण सम्पन्न भएको छ भने ट्रान्सफर्मरलगायतका उपकरण निर्माणस्थलमा ढुवानी सुरु भएको छ ।

मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजना सुरु गरिएको हो । प्रसारणलाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । आयोजनाअन्तर्गत भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माणाधीन छ ।

आयोजनाको तीन प्याकेजमा काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारणलाइन निर्माण भइरहेको छ भने दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारणलाइन र दुई सबस्टेसन निर्माण भइरहेको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?