यात्रु अभावले एक वर्षदेखि उडान बन्द

डम्बर बोहरा बैतडी, संवाददाता

डेढ वर्षदेखि हवाई उडान बन्द बैतडीको पाटन विमानस्थलको धावनमार्ग

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । यात्रु अभावले बैतडीको पाटन-धनगढी उडान एक बर्षदेखि ठप्प रहेको छ । गत बर्षको चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो । त्यसयता पाटन धनगढी कुनै उडान हुन सकेको छैन । यात्रु अभावको कारण देखाउँदै एक बर्ष यता उडान नभरेको समिट एयरले जनाएको छ ।

यात्रु नभएकै कारण समिट एयरले धनगढी-पाटन उडान लगभग स्थगित गरिदिएको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिनुभयो । भाडा बढेकाले पनि यात्रुहरू पाउन छाडेपछि उडान नभरेको उहाँले बताउनुभयो । ‘भाढा बढेको छ, यात्रु भेटिदैनन्, अब रद्द भइसकेको हो, अब समिट एयरले धनगढी-पाटन उडान भर्दैन,’ उहाँले भन्नुभयो ।

पाटनदेखि धनगढी पुग्न १७ मिनेटको हवाई यात्रा छ । भाडा भने पाँच हजार तोकिएको छ । समिटले प्रत्येक बिहीबार उडान भर्दै आएको थियो । नियमित रुपमा यात्रुहरू नपाउँदा समिट एयरलाइन्सले उडान भर्न छोडेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुहुन्छ । ‘धनगढीबाट पाटन जाँदासमेत प्लेन भरिँदैन, त्यसैले समिटले उडान भरेको छैन,’ विमानस्थल प्रमुख भट्टले भन्नुभयो, ‘समिटले यात्रु नपाएकै कारणले उडान भरिरहेको छैन’ ।

द्वन्द्वकालका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त भएपछि २०५२ सालयता पूर्णरूपमा विमानस्थल बन्द रहेको थियो । २६ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परिक्षण उडान गरेको थियो । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले विमानस्थलको उद्घाटन कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, डोटी र बझाङमा नियमित उडान हुने बताउनुभएको थियो ।
नियमित उडान नहुने र भाडा पनि महँगो भएको हुनाले यात्रु पाउन मुस्किल हुने गरेका सेवाग्राहीको भनाइ छ । ‘नियमित उडान हुने ठेगानसमेत हुँदैन, कहिले आउने कहिले नआउने’, पाटन नगरपालिकाका निवर्तमान नगरप्रमुख केशवबहादुर चन्दले भन्नुभयो, ‘भाडा पनि महँगो भयो ।’ भाडा समायोजन गरी यात्रुहरूको सहजताका लागि नियमित उडान भर्नुपर्ने अर्का स्थानीय भागरथी भट्ट बताउनुहुन्छ । ‘१७ मिनेटको हवाई दूरीमा पाँच हजार भाडा धेरै हो, समायोजन गरेर नियमित सञ्चालन गर्न सके सहज हुन्थ्यो, यात्रु पनि भेटिन्छन्,’ उहाँले भन्नुभयो ।

११ करोड लागतमा निर्माण सम्पन्न भएको विमानस्थल ठप्प छ । पाँच करोड लागतमा हालै मात्र टर्मिनल भवनसमेत बनिसकेको छ । राज्यले करोडौँ लगानी गरेर निर्माण गरेका संरचनाहरू प्रयोगविहीन बनेका छन् । २०५२ सालदेखि बन्द रहेको पाटन विमानस्थल ११ करोडको लागतमा २०७७ मा निर्माण सम्पन्न भएको हो । २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको धावनमार्ग र घेरी पर्खाल निर्माण गरिएको थियो । यसैगरी, गत २०७८ भदौदेखि निर्माण सुरु गरिएको टर्मिनल भवनसमेत बनिसकेको छ । चार करोढ ९७ लाख लागतमा टर्मिनल भवन निर्माणको काम सम्पन्न भइसकेको निर्माण आयोजना कार्यालयका इञ्जिनियर कवीन्द्र बज्राचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?