नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त, प्रहरीको आन्तरिक शुद्धीकरण गर्ने पहिलो प्राथमिकता

यज्ञराज पाण्डे
Read Time = 9 mins

काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवर नियुक्त हुनुभएको छ । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले शुक्रबारबाट अवकाश पाएपछि नयाँ आइजिपी नियुक्त गरिएको हो ।

आइजिपी बढुवामा कुँवरसहित एआइजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए । तीन दिनअघि मात्रै सरकारले उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, सरकारले वरीयता क्रममा १ नम्बरमा रहनुभएका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो । हालको ३० वर्षे सेवा अवधि कायमै रहे कुँवरले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नुहुनेछ ।

बढुवा भएपछि महानिरीक्षक धीरजप्रताप सिंहसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एआइजी बढुवा विवादरहित भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयले ८ असारमा पहिलो नम्बरमा डिआइजी बढुवा गरेपछि कुँवर वरीयतामा अगाडि हुनुहुन्थ्यो । एआइजी बढुवासम्म आइपुग्दा उमेर विवादका कारण अर्का दाबेदार अशोक सिंहले राजीनामा दिएपछि कुँवर महानिरीक्षकका लागि बलियो प्रतिस्पर्धी बन्नुभयो ।

प्रहरीको आन्तरिक शुद्धीकरण मेरो प्राथमिकता : नवनियुक्त आइजिपी कुँवर
नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताउनुभएको छ । विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने बताउँदै उहाँ भन्नुहुन्छ, ‘त्यसबाहेक संगठनभित्र आन्तरिक शुद्धीकरण गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ ।’

कुँवरले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘प्रहरीको आचरण र व्यवहारमा पनि शुद्धीकरण गरेर संगठनको छवि उचाल्ने काम मेरो कार्यकालमा हुनेछ ।’ आफूले प्रणालीगत थिति बसाउने गरी काम गर्ने बताउँदै कुँवरले प्रोएक्टिभ पुलिसिङ गर्ने बताउनुहुन्छ ।

यसरी चिनिनुहुन्छ नवनियुक्त आइजिपी कुँवर
नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर विसं २०२६ चैत १५ गते अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा जन्मिनुभएको हो । प्रहरी महानिरीक्षक कुँवर २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको हो । भीमबहादुर कुँवर र नमकला कुँवरका छोरा वसन्त कुँवरकी श्रीमती लक्ष्मी पराजुली र दुई छोरा हुनुहुन्छ । त्यसो त वसन्त कुँवरका दाजु बाबुराम कुँवर गण्डकी प्रदेश प्रमुख भइसक्नुभएको छ ।

गण्डकी प्रदेशका पूर्वप्रमुख बाबुराम कुँवरका भाइ वसन्त प्रहरीमा ‘इमानदार’ छविको अधिकृतका रूपमा परिचित हुनुहुन्छ । व्यावसायिक, निष्ठावान र साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका वसन्त कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षकमा बढुवा हुनुभएको थियो । २०७१ फागुन १० गते प्रहरी उपरीक्षक र २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक हुनुभएको थियो । भर्ना हुँदा अघिल्लो वरीयतामा रहनुभएका कुँवर डिएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा भने पछि पर्नुभएको थियो । तर, २०७९ असार १७ गते प्रहरी नायव महानिरीक्षकमा पहिलो नम्बरमा बढुवा भएसँगै कुँवरलाई भावी आइजिपीका रूपमा हेरिएको थियो । २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुँदा पनि उहाँ पहिलो वरीयतामै बढुवा हुनुभएको थियो ।

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले त्रिभुवन विश्वविद्यालयअन्तर्गत शंकरदेव कलेज काठमाडौंबाट स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । अन्तरप्रदेश प्रहरी कार्यदक्षता मूल्यांकन २०७३ मा उहाँ सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुख हुन सफल हुनुभयो । त्यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहँदा पुलिस ब्याटन २०७३ समेत उहाँले प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, उहाँले प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्रसंघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्धार पदक, दुर्गम सेवा पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी, उहाँले उत्कृष्ट ढंगले जिम्मेवारी वहन गरेको भन्दै १७ पटक नगद पुरस्कारसमेत प्राप्त गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक आधारभूत तालिमसँगै मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, इन्भेस्टिगेटिभ इन्टरभ्यु ट्रेनिङ कोर्स, जमिनमुनिको विस्फोटक पदार्थ र अन्य विस्फोटन सामाग्रीको सामान्य जानकारी, कोर्स अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्टको तालिम गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी र डोटीमा खटिनुभएको थियो । प्रहरी नायव उपरीक्षकमा मनाङ, गोरखा, धादिङको जिल्ला प्रहरी प्रमुखका रूपमा उहाँले काम गर्नुभएको थियो भने प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गर्नुभएको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक भएपछि केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा काम गरेको अनुभव छ । प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी प्रमुख र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा काम गर्नुभएको थियो ।

उहाँले संयुक्त राष्ट्रसंघीय मिसन सुडान र लाइबेरियामा काम गर्नुभएको छ । कुँवर २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी वृत्त बालाजुको इञ्चार्ज हुँदा उहाँले मानव अधिकार उल्लंघन गरेको आरोप लाग्ने गरेको छ । त्यसयता प्रहरी जीवनमा उहाँ ठूलो विवादमा आउनुभएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?