पुस्तक : ‘खाटा बसेको घाउ’ मा दृष्टिगोचर गर्दा

हिमालय टाइम्स
Read Time = 8 mins

✍️ अरुणबहादुर खत्री ‘नदी’

कथाकार जनक रावल (आर.जे.) को ‘खाटा बसेको घाउ’ नामक कथासङ्ग्रह मेरो हात परेको छ । यो कथासङ्ग्रह २०७९ सालमा प्रकाशित भएको रहेछ । यो कथासङ्ग्रह उनको पहिलो कृति हो । रावलले कविता र गीत विधामा पनि कलम चलाउँदै आइरहेका छन् । यसभित्र देवकी, उकाली ओराली बिछोडपछि, बेरोजगारी र पीडा, खाटा बसेको घाउ, सम्झनाका अन्तिम सीमाभित्र लगायत विभिन्न शीर्षकका उन्नाइसवटा कथाहरू समावेश गरिएका छन् । यस कथासङ्ग्रहभित्रको ‘देवकी’ शीर्षकको पहिलो कथामा जागिरको कर्तव्य पूरा गर्दै हिँड्दा अनेकौं टोलीहरूको नेतृत्व गरिसकेको थिएँ ।

एक-अर्कालाई शत्रु नै ठान्ने जत्थासँग भेट हुँदा पनि कसैको सोच, भावना, सपनालाई हेय दृष्टिले नहेरी सम्मान गरिदिने हुनाले थुप्रैलाई गलत बाटोबाट सही मार्गमा ल्याउन सफल पनि भएको थिएँ भनेर कथाकार रावलले लेखेका छन् । उकाली ओराली बिछोडपछि शीर्षकको कथाभित्र मोहन गर्भे टुहुरो हो । विकट र अति पिछडिएको ठाउँ भए पनि ऊ पढ्न चाहन्थ्यो तर उसको गरिबीपन र एक्ली आमाको बलबुताले उसको चाहनालाई बन्धनमा बाँधिदियो । दश वर्षकै उमेरमा उसकी आमा नानरूपाले उसको बिहे गाउँकै केटी देउकलीसँग गरिदिइन् भनिएको छ ।

यस सङ्ग्रहका कथाहरू समसामयिक विषयवस्तुमा आधारित छन् । समाजमा भएका विकृति विसङ्गतिलाई सूक्ष्म विश्लेषण गरी सुधारतर्फ लैजान सन्देश प्रदान गरिएका छन् । यस सङ्ग्रहभित्रका कथाहरू पढ्दा मनलाई झक्झक्याइरहन्छन् । मस्तिष्कलाई सचेत गराइरहन्छन् । सरल भाषा, मीठो शैली र सललल बग्ने प्रस्तुतिले रावलका कथाहरूलाई आजको कथा बन्न बल पुर्‍याएको छ । कथा लेखनको विषयमा कथाकारलाई जुन घटनाले छुन्छ उनले त्यसलाई टिप्छन् र आफ्नै शैलीमा ढाल्छन् । कथालाई आकर्षक पार्न केही थपघट भने अवश्य गर्नुपर्छ । सम्भवतः त्यसैले पनि आदर्शवादी कथाहरू नै जन्मन पुग्छन् । कथावस्तु र पात्रहरूको प्रस्तुतिको पृष्ठभूमि यथार्थवादी हुन नसकेर आदर्शवादी नै रहेका छन् ।

कथासङ्ग्रहको नामसँग जुधेको ‘खाटा बसेको घाउ’ शीर्षकको कथामा म मनमनै एकातिर उसकोे प्रशंसा गहिरिरहेकी हुन्छु उसको जितमा गर्व गरिरहेकी हुन्छु । अर्कोतिर जति उसलाई सम्झन्छु त्यति नै खाटा बसिसकेको घाउ आलो भइरहेको पाउँछु भनेर कथाकार रावलले लेखेका छन् ।

कथाकार रावलका यी कथाहरूमा कोमलता र सौन्दर्य साथै यथार्थ र जिउँदो प्रस्तुति तथा कारुणिक कोमलताको अनुभूति भएको छ । निश्चय नै उनका कथालाई बढीभन्दा बढी पाठकले मन पराउने छन् । उनले लेखेका कथाहरूले मानिस र समाजका विविध पक्षलाई उजागर गरेको छ ।

‘खाटा बसेको घाउ’ भित्र सङ्गृहीत कथाहरू सबैजसो पारिवारिक सेरोफेरोभित्र उनिएका छन् । विषयमा विविधता भए पनि रावलको लेखनको मूल क्षेत्र गाउँ हो । ओ सखी ! आऊ एक पल्ट सयर गरौँ शीर्षकको कथाभित्र शहरको धुँवाधुलोले असर गर्छ भन्ने उनका श्रीमतीहरू पैदल हिँड्न थालेका छन् । उनीहरूले गाडी ग्यारेजमा थन्क्याएका छन् । रमाइलो भयो केही दिनअघि मात्र । सम्पत्ति देखाउन सौताझैँ झगडा गर्न इन्दिरा र ललिता हातेमालो गरेर हिँडे भनिएको छ ।

कथाकार रावलका कथाहरू सरल छन् । सामाजिक विषयवस्तुहरूमा केन्द्रित छन् । ‘सम्झनाको अन्तिम सीमाभित्र’ शीर्षकको कथाभित्र हिजोको दिन अर्थात् जो बितेर गयो, देशलाई अँगालो नमारेको धेरै भइसकेको थियो । कसलाई चाहना हुँदैन र आफ्नो देशको झन्डा फहराइरहेको हेर्ने ? तर, समाज आज साह्रै भयानक हिंस्रक घस्रक जनावर बनिसकेको छ । मेरा पैतलाहरूले सधैँ आफ्नो गति कायम राखे भनेर कथाकार रावलले लेखेका छन् ।

कथाकार रावलका यी कथाहरूमा कोमलता र सौन्दर्य साथै यथार्थ र जिउँदो प्रस्तुति तथा कारुणिक कोमलताको अनुभूति भएको छ । निश्चय नै उनका कथालाई बढीभन्दा बढी पाठकले मन पराउने छन् । उनले लेखेका कथाहरूले मानिस र समाजका विविध पक्षलाई उजागर गरेको छ । यो कथा पढेपछि कथाका पात्रहरू आँखा अगाडि हुँदै मनभित्र बस्छन् । यस सङ्ग्रहभित्रका प्रत्येक कथाको विषयवस्तु हाम्रो समाजमा प्रचलनमा आएका विभिन्न सन्देशमूलक कहावत वा कथनी आएका छन् जसको सम्बन्ध प्रत्यक्ष रूपमा हाम्रो समाजसँग सम्बन्ध राख्दछ ।
‘कथा राजधानीका सडकको’ शीर्षकको कथाभित्र शनिबारको बिहानी राजधानी काठमाडौंका सडकहरू त्यति जानु हुँदैनन् । दिनैभरि आवतजावत गर्नेलाई आफ्नो अमूल्य समय खेर गएको आभास हुँदैन भनिएको छ ।

यस कथासङ्ग्रहभित्रका कथाहरू समाजमा सकारात्मक सन्देश दिने खालका छन् । उनले लेखेका कथाहरू आकर्षक र पठनीय छन् । भाषा सरल र सम्प्रेषणीय छ ।

कथाकार रावलमा घटना टिपेर अनुकूल परिवेशले सिगार्ने खुबी छ । यिनको कलम तीखो छ र समाजका विकृति विसङ्गतिप्रति प्रहार गर्न सक्षम पनि छ । उनका अधिकांश कथाहरूमा चरित्र चित्रणलाई विशेष जोड दिइएको छ । उनको कथा लेख्ने शैली सरल र बोधगम्य छ । मझौला आकारका कथा एकै बसाइमा पढेर सकिने छन् । पट्यार लाग्ने अवस्था कुनै कथाले ल्याउँदैन । समग्रमा यस सङ्ग्रहका कथा पठनीय र सन्देशवाहक छन् ।

कृति : खाटा बसेको घाउ
विधा : कथा
कथाकार : जनक रावल (आर.जे.)
प्रकाशक : कल्पना रावल
संस्करण : प्रथम, २५ फागुन २०७९
मूल्य : ४५० रुपैयाँ
पृष्ठ : १९४

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?