चैत्रनवरात्रमा भगवतीको उपासना र फल

Read Time = 15 mins

✍️ डा.नारायणप्रसाद निरौला

नवरात्र भगवतीको उपाना गर्ने उत्तम समय हो । अभीष्ट सिद्धिका निम्ति चैत्र नवरात्रमा भगवतीको आराधना उत्तम मानिन्छ । चैत्रशुक्लप्रतिपदादेखि नौ दिनसम्म भगवतीको प्रत्येक स्वरूपका आराधना गर्ने विधिविधान शास्त्रमा वर्णन पाइन्छ । वर्षमा चारवटा नवरात्र पर्ने गर्दछन् । चैत्रशुक्ल, आषाढशुक्ल, आश्विनशुक्ल र माघशुक्ल पक्षका नवरात्रमा नवदुर्गा भगवतीको विशेष आरधना हुने गर्दछ । आषाढ र माघका नवरात्रलाई गुप्तनवरात्र भनिन्छ । विशेष कामना सिद्धिका निम्ति गुप्तनवरात्रको विशेष महिमा रहेको छ । यसैगरी शारदी र वासन्ती नवरात्रको पनि विशेष महिमा पाइन्छ ।

नौ दिनमा देवीका नौ स्वरूपको उपासना हुने गर्दछ । नवदुर्गामा शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालारात्रि, महागौरी र सिद्धिदात्री पर्दछन् । यसैगरी देवीका अंगभूत छ देवी छन् ः नन्दा, रक्तदन्तिका, शाकम्भरी, दुर्गा, भीमा र भ्रामरी । रक्त वर्णकी देवीको वाहन बाघ हो । देवीका ब्राहृमी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, नारसिंही, ऐन्द्री, शिवदूती तथा चामुण्डा यी नौ शक्ति हुन् ।

हरेक नवरात्रको विशेष महिमा रहेको पाइन्छ । आश्विनशुक्ल नवमीमा देवीले दैत्यमाथि विजय प्राप्ति गरेको र चैत्र अष्टमीमा देवीको प्रादुर्भाव भएको कुरा शास्त्रमा उल्लेख पाइन्छ । आश्विन महिनामा देवी निद्राबाट जाग्रत अवस्थामा जाने भएकाले उक्त समयको नवरात्रलाई ‘बोधन’ नवरात्र भनिन्छ । माघ महिनामा मनाइने नवरात्र ‘भोजन’ हो, जुन बेला देवीद्वारा भोजन ग्रहण गरिन्छ । चैत्र शुक्ल पक्षमा मनाइने शयननवरात्र हो । यसबेला भगवतीको शयनकक्षमा प्रवेश हुन्छ । असारमा परिवर्तन नवरात्र मनाइन्छ । उक्त आषाढ शुक्ल प्रतिपदादेखि नवमीसम्मको समयमा देवीले कोल्टे फेर्ने कुरा ‘कुलागम रहस्य’ मा उल्लेख गरिएको छ ।

चैत्र शुक्ल प्रतिपदाबाट वत्सरारम्भ हुने गर्दछ । वत्सरारम्भ भनेको नयाँ संवत्सरको आरम्भ हो । यसवर्ष चैत्र शुक्ल प्रतिपदाबाट पिङ्गल नामका संवत्सर आरम्भ भएका छन् । हरेक चैत्रशुक्ल प्रतिपदामा नयाँ संवत्सरको आरम्भ हुन्छ ।

यसैगरी चैत्र शुक्ल प्रतिपदाबाट वत्सरारम्भ हुने गर्दछ । वत्सरारम्भ भनेको नयाँ संवत्सरको आरम्भ हो । यस वर्ष चैत्र शुक्ल प्रतिपदाबाट पिङ्गल नामका संवत्सर आरम्भ भएका छन् । हरेक चैत्रशुक्ल प्रतिपदामा नयाँ संवत्सरको आरम्भ हुन्छ । चैत्रशुक्ल प्रतिपदाका दिन जुन बार पर्छ त्यही बारका स्वामीग्रह उक्त वर्षका राजा रहन्छन् । चैत्रशुक्ल प्रतिपदाका दिन विधिवत् रूपमा घटस्थापना गरी महाकाली, महालक्ष्मी र महासरस्वती रूपी दुर्गादेवीको पूजा अर्चना गर्ने शास्त्रोक्त विधि-विधान रहेको छ ।

आद्यशक्ति दुर्गा देवीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन रूप छन् । तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा र मायाशक्ति हुन् । मधु र कैटभलाई बध गर्न का लागि ब्रहृमाजीद्वारा जसको स्तुति भएको थियो तिनै देवीको नाम महाकाली हो । उनका दश मुख, दश हात र दश पाउ रहेका छन् । जो श्याम वर्णकी छिन् । यस्ती महाकालीले आफ्ना हातमा खड्ग, बाण, गदा, शूल, चक्र, शंख, भुशुण्डी, परिघ, धनुष र मुण्डमाला धारण गरेकी छन् । सम्पूर्ण देवताको अङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवी महालक्ष्मी हुन् । जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ ।

महिसासुरको बध पनि यिनै देवीले गरेकी हुन् । विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौँ हात छन् । जसलाई अठारवटा हात भएकी देवीका रूपमा पूजा गर्ने चलन छ । उनका हातमा अक्षमाला, कमल, वाण, खड्ग, वज्र, गदा, चक्र, परशु (बन्चरो), त्रिशूल शङ्ख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् । सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुन् । त्यस्ती देवीका आठ भुजा (हात) छन् । ती हातमा क्रमशः वाण, मुसल, शूल, चक्र, शंख, घण्ट, हल एवं धनुष विराजमान रहेका छन् ।

दुर्गासप्तशती दुर्गादेवीको महिमागाथा हो । सप्तशतीका प्रत्येक श्लोक मन्त्र रूप मानिन्छन् । असुर राक्षसी प्रवृत्तिको अन्त्य गरी समस्त लोकमा सुख शान्ति प्रदान गरेको प्रसङ्ग यहाँ वर्णन गरिएको छ । मार्कण्डेय पुराणअन्तर्गतको देवीमाहात्म्य नै वास्तवमा दुर्गासप्तशती हो । प्रथम अध्यायमा भगवतीको महिमासहित मधु र कैटभ नामका दैत्यको बध गरेको कथा छ । देवताको तेजबाट देवीको प्रादुर्भावका साथै महिषासुरका सेनाको बध प्रसंग दोस्रो अध्यायमा वर्णन गरिएको छ । तेस्रो अध्यायमा महिषसुरको बध, चौथो अध्याया इन्द्रादि देवताहरूद्वारा देवीको स्तुति छ ।

पाँचौं अध्यायमा देवताद्वारा भगवतीको स्तुतिका साथै चण्ड र मुण्डबाट अम्बिका देवीको प्रशंसा सुनी शुम्भद्वारा देवीलाई दूत पठाएको कथा छ । छैटौं अध्यायमा धुम्रलोचनको बध, सातौँ अध्यायमा चण्ड र मुण्डको बध, आठौं अध्यायमा रक्तबीजको बध, नवौं अध्यायमा निशुम्भ बध, दशौं अध्यायमा शुम्भ बध, एघारौं अध्यायमा देवताद्वारा दुर्गादेवीको स्तुतिगान र भगवतीद्वारा देवतालाई वरदानको कथा छ । बाह्रौं अध्यायमा देवीचरित्र पाठ र श्रवणको महत्व वर्णन गरिएको छ । यसैगरी तेह्रौं अध्यायमा सुरथ र वैश्यलाई देवीले वरदान दिएको कथा उल्लेख पाइन्छ ।

नवरात्रमा भगवती दुर्गादेवीको उपासना गर्ने गरिन्छ । जगज्जननी माता दुर्गादेवीको उपासनाले धर्म, अर्थ, काम र मोक्ष गरी चार प्रकारका पुरुषार्थ सिद्धि प्राप्त हुन्छन् । जुन कामनासहित भगवतीदेवीको उपासना गर्‍यो सो पूरा हुने कुरा देवीकवचको ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्’ भन्ने श्लोकबाट पनि पुष्टि हुन आउँछ । आदिशक्ति दुर्गादेवीको उत्पत्ति एवं माहात्म्यको कथा वेदव्यास रचित मार्कण्डेय पुराणमा उल्लेख छ ।

देवीमाहात्म्यको पाठ मात्र गर्नाले पनि भूत, प्रेत पिशाच आदि नष्ट भएर जान्छन् । दुर्गादेवीको पूजाअर्चना, स्तुति पाठ, माहात्म्य श्रवण गर्नाले यस लोकको भुक्ति हुनुका साथै परलोकको मुक्ति पनि प्राप्त हुने कुरा देवीमाहात्म्यमा उल्लेख छ ।

देवीको पूजा गर्दा महालक्ष्मीलाई बीचमा राखी उनको दायाँ र बायाँ क्रमशः महाकाली र महासरस्वतीलाई विराजमान गराइन्छ । महालक्ष्मीका पछाडि सरस्वतीका साथ ब्रहृमाको, महालक्ष्मीको दक्षिण भागमा गौरीका साथ शिवजीको र महालक्ष्मीको बायाँ भागमा लक्ष्मीसहित विष्णुको पूजा गरिन्छ । अठार भुजावाली महिषासुरमर्दिनी महालक्ष्मी नै विशेष रूपमा पूजनीय छन् । किनकि उनैलाई महाकाली, महालक्ष्मी र महासरस्वती भनिएको कुरा सप्तशतीको वैकृतिक रहस्यमा उल्लेख भएको पाइन्छ । ती महालक्ष्मी नै सम्पूर्ण लोककी माहेश्वरी हुन् । देवीको विशेष विधानपूर्वक पूजा गरिसकेपछि देवीको ध्यानपूर्वक स्तुति गरी देवीमाहात्म्यको पाठ गर्नुपर्दछ । पाठपश्चात् सप्तशतीका मन्त्रले हवन गर्नुपर्ने विधान वैकृतिक रहस्यमा उल्लेख छ ।

जसले एकाग्र चित्त भएर प्रतिदिन देवीको स्तुति गर्दछन् त्यस्ता व्यक्तिका सारा बाधा निश्चय नै हटेर जानेछन् । अष्टमी, चतुर्दशी र नवमीमा देवीको विशेष स्तुति पाठ गर्नाले सारा पाप हट्छन् । देवीमाहात्म्य सुन्नाले मात्रै पनि सबै प्रकारका भय नाश हुन्छन् भनी दुर्गासप्तशतीमा बताइएको छ । दुर्गा सप्तशती परं कल्याणकारी भएकाले दुर्गा पाठद्वारा महामारी जनित समस्त उपद्रव तथा आध्यात्मिक, आधिभौतिक र आधिदैविक ताप नष्ट भएर जान्छन् भन्ने कुरा देवीमाहात्म्यमा बताइएको छ । यसैगरी बलिदान, पूजा, होम तथा विभिन्न महोत्सवका अवसरमा देवीको पूजा पाठ एवं माहात्म्य श्रवण गर्नु भन्ने विधान पनि दुर्गा सप्तशतीमा पाइन्छ (दुर्गा सप्तशती १२।१०) ।

यसै आधारलाई नै शिरोधार्य गरेर बडा दशैँ मनाउने प्रचलन छ । शरद ऋतुको नवरात्रमा भक्तिपूर्वक दुर्गादेवीको उपासना एवं महात्म्य श्रवण गर्नाले सम्पूर्ण बाधाबाट मुक्त हुनुका साथै धनधान्य, पुत्र-पौत्रादि अभिवृद्धि हुन्छन् । खराब सपना देखे, ग्रहजनित भयंकर पीडा भए देवीको महात्म्य श्रवण गर्नुपर्दछ । विशेष गरी बालबालिकामा परेको ग्रहजन्य दोष पनि दुर्गासप्तशतीको पाठ आराधनाले नष्ट भएर जान्छ ।
देवीमाहात्म्यको पाठमात्र गर्नाले पनि भूत, प्रेत पिशाच आदि नष्ट भएर जान्छन् । दुर्गादेवीको पूजाअर्चना, स्तुति पाठ, माहात्म्य श्रवण गर्नाले यस लोकको भुक्ति हुनुका साथै परलोकको मुक्ति पनि प्राप्त हुने कुरा देवीमाहात्म्यमा उल्लेख छ । दुर्गा कवच, कीलक र अर्गलास्तोत्र नित्य पाठ गर्नाले पनि दुर्गा पाठ बराबरको फल पाइन्छ । समस्त पापबाट बँच्न देव्याथर्वशीर्ष पाठ गर्नुपर्दछ । यसैगरी मन्त्र सिद्धिका लागि कुञ्जिका स्तोत्र पाठ पनि नवरात्रमा गर्नु गराउनु उपयुक्त मानिएको छ ।

आद्यशक्तिको उपासना गर्ने उत्तम समय नवरात्र हो । चैत्रशुकलपक्षको प्रतिपदादेखि नवमीसम्म भगवतीको उपासना गरी मनाइने नौ दिनको समयलाई चैत्र नवरात्र भनिन्छ । यो समय शक्तिका उपासनाका निम्ति उत्तम मानिन्छ । यस अवसरमा अभीष्ट सिद्धिका निम्ति शतचण्डी पाठ, देवीभागवत पाठका साथै मन्त्र सिद्धिका निम्त विशेष मन्त्रको साधना, यन्त्रको साधना आदि कार्य हुने गर्दछन् । देवी सम्पूर्ण मनोकामना सिद्ध गर्ने आद्यशक्ति हुन् । विधिपूर्वक देवीको आराधना नगरे फल प्राप्त नहुने भएकाले विधिविधानलाई विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?