अरू सबै कुरा छाडेर लेखक मात्रैका कुरा गर्न मन छ आज । आफू उभिएको आधा शताब्दी र पितापुर्खाले भोगेको आधाशताब्दीलाई लेखक श्रीबाबु कार्कीले सन्दिग्ध शताब्दी ठहर गरेर निबन्ध लेखे । लेखक रिसाएको यो समय अरू धेरैका लागि पनि सुखद् छैन । त्यसो त शताब्दीभरि नै शासन गरिरहेको यो समयका कोही व्यक्ति र प्रवृत्ति पनि सन्तुष्ट छैनन् । हामी समय, सत्ता र शासकहरूसँग रिसाएका छौँ उनीहरू अरू कसैसँग रिसाएका छन् । यो समय अरू धेरैका निम्ति पनि हामीलाई जस्तै अप्रिय रहनुका धेरै कारणहरू होलान् । यति धेरै गुनासो गर्न किन परे होला भनेर पनि सोचेँ ।
कहिले रिसले कहिले आरिसले मानिस चलेकै छ । हिँडेकै छ, केही गरेकै छ र केही गर्ने सोच्दै पनि छ । यी रिसका प्रकार छन् मानिसलाई चलाउने । लेखकले यहाँ रिसको रिसर्च नै गरेका छन् । त्यहाँ चित्रित रिसहरू र तिनका प्रतिक्रियाहरू नै त हुन् जीवनका उहापोहहरू । लेखकलाई कहिले क्लासिकल चेतनाले कहिले स्वच्छन्द चेतनाले परिचालन गरेको छ । हदैसम्म बौद्धिक बनेर हुन्छ कि हदै नाघेको कोमल बनेर हुन्छ वा हदैसम्म सहृदयी बनेर हुन्छ लेखकले संसार र जीवनलाई हेरेका छन् ।
एकजना लेखक मस्तिष्कमा कति ठूलो कुरुक्षेत्र बोकेर हिँडिरहेको हुँदोरहेछ । मौका आएपछि कुरुक्षेत्र प्रकट हुँदो रहेछ । सबैको लेखक बन्न सबैका कुरा गर्न सक्नुपर्छ । सबैको बन्न नसके पनि धेरैको लेखक बन्न श्रीबाबुले जत्तिको लेख्न सक्नुपर्छ भन्ने लाग्छ ।
भोगेका कुरा हुन् कि पढेका कुरा हुन् । देखेका कुरा हुन् कि लेखेका कुरा हुन्, यथार्थ कुरा हुन् कि कल्पना गरेका कुरा हुन् तिनमा जीवनका मर्महरू घोलेर पोखेका छन् । जगत्को चित्र कोर्नलाई रोजेको कुची रङ्गहरूले भरिएको छ । असारको मोहमा लठ्ठिएर होस् कि गाउँको नोस्टाल्झिकमा गढेर होस् लेख्ने त फेरि पनि साहित्य नै रहेछ । एकजना लेखक धेरैतिर विचरण गरेको छ । लेखकले गेटे पढेका छन्, शेली पढेका छन् । किट्स पढेका छन्, रिचर्डस् पढेका छन् । वर्डस्वर्थ पढेका छन्, कलरिज पढेका छन्, इलियट पढेका छन् । अनि पनि त्यही लेखेका छन् जुन कुरा आफ्नो चेतनाले देखेका छन् ।
त्यसैले हो रहेछ साहित्य, सङ्गीत र कलामा रुचि नभएको मानिस, मानिसजस्तो देखिए पनि त्यो सिङपुच्छर नभएको पशुसमान हो भनिएको छ । झट्ट सुन्दा अलि धेरै नै भनिएको त होइन जस्तो लाग्छ । सबैमा साहित्य, सङ्गीत वा कलामा रुचि कहाँ हुन्छ र ? अनि रुचि हुनै पर्ने विषय पनि होइन भन्ने जस्तो पनि लाग्छ । त्यसको तात्पर्यार्थ हेर्दा यस भनाइमा सत्यता बढी छ जस्तो लाग्छ । चरित्र नमिल्ने विषय क्षेत्रमा पनि साहित्यको अभ्यास भएको देख्दा साहित्य साँच्चैको विषय रहेछ भन्न मन लाग्छ ।
हिजोआज राजनीति गर्ने व्यक्तिहरू गहिरो साहित्यका कुरा गर्छन् अनि साहित्यिक व्यक्तिहरू सक्रिय राजनीति गर्छन् । विशेषतः साहित्यलाई के विषयले बढी आकर्षित गर्छ होला ? भन्ने जिज्ञासासँगै धेरै उत्तरहरूको लाइन लाग्न थाल्छ । खासगरी समसामयिक घटना र विषयवस्तु साहित्यका पनि मुख्य विषय हुन् । यसरी छानिएका विषयलाई कसरी व्यवस्थापन गर्ने ? के कसरी प्रस्तुत गर्ने भन्ने कुरा लेखकीय क्षमताको विषय हो ।
लामो समयदेखि साहित्यको काव्यविधामा कलम चलाउँदै आएका कवि मित्र श्रीबाबु कार्की यतिखेर निबन्धकारका नामले चर्चित छन् । केही समय पहिले मैले कृष्ण धरावासीलाई अब तपाईंले साहित्यको धार र विधा पनि परिवर्तन गर्नुहोस् दाइ । आख्यानमा तपाईंले जुन उचाइ लिनुभयो अब त्यसैमा यसभन्दा राम्रो कृति दिन तपाईलाई गाह्रो पर्छ भनेको थिएँ । यसो भन्ने बेलामा उनले शरणार्थी, आधाबाटो, राधा हुँदै अन्य धेरै आख्यान कृति दिइसकेका थिए । खासमा एकजना पाठक र त्यही पाठकभित्र लुकेर बसेको समीक्षकको बोलीमा भनिएको यो सुझावमा धेरै सत्यता थियो ।
त्यस्तै ठानेर हो वा के कारणले हो कवि मित्र ? श्रीबाबुले पनि निबन्धमा आफ्नो क्षमताको परीक्षा गरेका छन् । बितेका बाह्र वर्षका विभिन्न समयमा लेखिएका चौधवटा निबन्धहरू यसमा समाविष्ट छन् र ती निबन्धहरू कविताकै भाषा र शैलीमा रहेकाले यहाँ के भन्न म बाध्य भएको छु भने उनको गद्य पनि पद्यकै कोटीको छ । यसले अर्को के पनि जनाउँछ भने निबन्धमा पनि उनले कविताकै भाषा र शैलीले प्रशंसित भएकाले उनले निबन्ध लेखे पनि कविता नै हुने र कविता लेखे पनि निबन्ध बन्न सक्ने उनको लेखन क्षमता रहेको छ । खासमा कविताझैँ पढ्ने हो भनेमात्र यी निबन्धहरूप्रति न्याय हुने देखियो ।
प्रयोगवादी कित्ताका जटिल कविता पढेर धङ्धङाएको मस्तिष्क लिएर एकपटक हामीले सुप्रसिद्ध कवि मोहन कोइरालालाई सोध्यौँ कविज्यू फर्सीको जरा कविता हामीले बुझ्दै बुझेनौँ यसमा तपाईंले के भन्न खोज्नुभएको हो ? उहाँको सजिलो उत्तर थियो कविताहरू पढाउनको निम्ति लेखिँदैन पढ्नका लागि लेखिन्छ । मोहन कोइरालालाई पढ्छु भनेर पढ्न थाल्नुभयो भने त्यहाँ तपाईंहरूले त्यसको उत्तर पाउनुहुने छ । सायद कवि लेखकहरूले पनि सबै कुरा बुझेरै कहाँ लेख्न सक्दा रहेछन् र ? उनीहरूलाई पनि समयले केही लेखाएको हुँदो रहेछ । पछि जब सबैले यस्तो लेख्यो फलानाले उस्तो लेख्यो फलानाले भनेपछि मात्रै उनीहरूलाई पनि मैले यस्तो कुरा लेखेको रहेछु भन्ने जानकारी हुँदो रहेछ ।
मलाई मित्र श्रीबाबुका यी निबन्ध पढ्दा पनि तिनै कुरा सम्झना भए । पहिलो उनका निबन्ध पनि पढ्नका लागि लेखिएका रहेछन् त्यसैले पढौँ र अनुभव गरौँ । दोस्रो एकजना लेखक मस्तिष्कमा कति ठूलो कुरुक्षेत्र बोकेर हिँडिरहेको हुँदोरहेछ । मौका आएपछि कुरुक्षेत्र प्रकट हुँदो रहेछ । छोडिँदो रहेछ अर्जुनको गाण्डीव । सबैको लेखक बन्न सबैका कुरा गर्न सक्नुपर्छ । सबैको बन्न नसके पनि धेरैको लेखक बन्न श्रीबाबुले जत्तिको लेख्न सक्नुपर्छ भन्ने लाग्छ ।
ढुङ्गा पो भएछु अचेल, जीवनको पाश्र्वमा मृत्यु भय, जीवन एक जुलुङ्गो अनेक, हृदयमा बयली खेल्दै असार, ल्याम्पपोस्ट, प्रेम, प्रियगाउँ, नाक, नियतिको आकस्मिकता, यात्रा : जीवनको सौन्दर्य, क्यामेला, प्रेम र झरिला मुस्कानहरू, रिस, निर्वर्जित मन, सन्दिग्ध शताब्दी । यी शीर्षकहरू निबन्धकारले आफू उपस्थित हुन रोजेका बहानाहरू हुन् । बहाना यस अर्थमा कि निबन्धकारलाई घोचेका विषयहरू हुन् यी । यिनै चौध वटा शीर्षकमा बाँडिएर निबन्धकार श्रीबाबुले शताब्दीको अनुहार आकलन गरेका छन् ।
कतै वैयक्तिक भएर कतै निर्वैयक्तिक भएर निबन्धहरूमा उनको अद्भूत शब्दसंयोजन कला प्रकट भएको छ । कतै प्राकृतिक बिम्बहरू खडा गरेर, कतै हृदयको क्यानभास सजाएर, कतै विचारको पिरामिड खडा गरेर, कतै बुद्धिको उचाइ नापेर, कतै मनको मझेरी लिपपोत गरेर, कतै पे्रमको आकाश फैल्याएर निबन्धकारले आफ्नो ज्ञानको क्षितिज उघारेका छन् । यहाँ स्रष्टा श्रीबाबुका दृष्टिमा शताब्दी नै सन्दिग्ध छ । विचारोत्तेजक अनि त्यत्तिकै गहन र मीठो पनि छ यो शीर्षक । आफैँमाथि आफैँले सन्देह गर्ने समय हो यो । विचार एकातिर व्यवहार अर्को थरि गर्ने हामी बोल्छौँ एउटा कुरा गर्छौं अर्कै काम ।
यस्तो बेला निबन्धकारले समयमाथि सन्देह नगरून् त के गरून् ? अत्यन्त शक्तिशाली यस निबन्धमा शताब्दीभरि नै एकैनासले बल्किइरहेका चोटहरूको चित्र कोरिएको छ । समय नै त हो रहेछ शताब्दी पनि जुन सधैँ एकनासले उही बेसुर धुनमा मानिसमाथि उपेक्षाको गीतगाइरहेको छ । त्यस्तै स्रष्टाको अर्को निबन्धको शीर्षक निर्वर्जित मन रहेको छ । त्यहाँ उनले आफू इतिहासको विद्यार्थी भएको उल्लेख गरेका छन् अनि इतिहास र वर्तमानले उभ्याएको मानिस नै वास्तविक मानिस हो भन्ने निचोड निकालेका छन् ।
यहाँ इतिहासको कुरा किन पनि उठाइयो भने पुगनपुग आधा शताब्दीको उमेर तय गर्दै रहेका स्रष्टाले आफू उभिएको समयभन्दा अरू पचास वर्ष अघिदेखिको समयलाई सन्देहको घेरामा राखेका छन् । यसो किन गरियो होला भन्दा उनी इतिहासका विद्यार्थी रहेका र एक शताब्दीपूर्वदेखिको देशको इतिहासलाई आफ्नो ज्ञानको सन्दर्भमा उभ्याउँदा हरेक घटनाहरू पहेलीपूर्ण, रहस्यमय अनि सन्देहपूर्ण घटनाले भरिएको पाइएका कारण शताब्दी नै सन्देहपूर्ण हुँदै आयो भन्ने निबन्धकारको तर्क होला भन्न मन लाग्यो । खास गरी विचारको पिरामिडमा उभिएका स्रष्टा श्रीबाबु प्रत्येक सानो ठूलो विषयमा तर्क र विमर्श गर्न सक्षम देखिएका छन् ।
विशेषतः कवितात्मक शीर्षक समातेर त्यसैमा आफ्ना विचार र दर्शनको अग्लो मियो उठाउनु उनको नैबन्धिक विशेषता देखिएको छ । मानिस हुनु त चेतनाले मानिस हुनु हो तर विचार र दर्शन अन्तै कतै वास बसिसकेपछिको मानिस केबल मूर्ति हुनु हो । स्रष्टालाई हेक्का छ म पनि जतिखेरसम्म कुरा बुझ्ने समयमा थिएँ म मानिस नै थिएँ । समयले यस्तो ठाउँमा ल्याइपुर्याएको छ कि म अचेल ढुङ्गा नै बनेको छु । जीवन जत्तिकै शाश्वत भएर पनि मानिसले उपेक्षा गर्ने मित्रको नाम मृत्यु हो ।
परिभाषाहरूमा नअटाउने प्रेमको आदर्शले गर्दा नै आजसम्म सृष्टि मुस्कुराइरहेको छ । हामी त त्यस्ता यायावर हौँ जहाँ पुगेका छौँ त्यहाँका बन्न सकेका छैनौँ जहाँका थियौँ त्यहाँबाट छुटिसकेका छौँ । आन्तरिक डायस्पोराको मानसिकतामा हामी मृतमन बाँचिरहेका छौँ ।
जीवनकै पाश्र्ववर्ती छ मृत्यु अनि त्यत्तिकै कठोर पनि छ जीवनको यथार्थ । मानिस कति धेरै स्वार्थी छ जन्मँदै लिएर आएको मित्रलाई उपेक्षा गरेर अघि बढ्न चाहन्छ । पाश्र्वगीतले नाटकको सौन्दर्य बढाएझैँ मृत्युले जीवनको महिमा बढाएको छ । मृत्युले गर्दा नै जीवन यति प्रिय, र समय र आनन्दमय बन्न सकेको हो । त्यसैले मृत्युलाई पनि माया गरेरै जीवन चलाऊँ भन्ने दार्शनिक भाव जीवनको पाश्र्वमा मृत्यु भयले सङ्केत गरेको छ ।
जीवनको जुलुङ्गो अर्को त्यस्तै पाटो हो जीवनको जहाँ अनगिन्ती उपजीवनहरू समेटिएर एउटा जीवनको आकृति तयार भएको हुन्छ तर जीवन जुलुङ्गोजस्तो निष्प्राण त छैन । जीवन जुलुङ्गाकै विस्तारित रूप हो । जीवन चलाउने अनेक उपक्रमहरू छन् । हृदयमा बयली खेल्दै असारमा जीवनलाई हेर्ने अर्को कोण हो । असार बनेर भित्रिएको जीवनको रूप आफैँमा अर्को अनुकरणीय पाटो हो । जसलाई अङ्गीकार गरेरै जीवनमा प्राणसञ्चार हुन्छ । ल्याम्पपोष्टमा बलिरहेको बहुरङ्गी चेतनाको दियोले जीवनको रङ्ग देखाएको छ । प्रेम नै त यस्तो आधार हो जसका बलमा मानिस वा प्राणी जातिले जीवनलाई मोह गरेको छ ।
परिभाषाहरूमा नअटाउने प्रेमको आदर्शले गर्दा नै आजसम्म सृष्टि मुस्कुराइरहेको छ । हामी त त्यस्ता यायावर हौँ जहाँ पुगेका छौँ त्यहाँका बन्न सकेका छैनौँ जहाँका थियौँ त्यहाँबाट छुटिसकेका छौँ । आन्तरिक डायस्पोराको मानसिकतामा हामी मृतमन बाँचिरहेका छौँ । सकिन्छ भनेँ नाक उँचो पारौँ सक्दैनौँ भनेँ नाक नकटाऔँ । नियतिले घचेडेर पुर्याएको ठाउँमा उभिएर आत्मबोध गरौँ । जीवनका यथार्थहरू निकै पेचिला छन् । तापनि जीवन आँखामा सौन्दर्य सजाएर गरिने अज्ञातको यात्रा हो यसलाई सम्मान गरौँ । र, प्रिय क्यामेला म साझा सौन्दर्यको मोहनीमा छु मलाई एक्ल्याउने प्रयत्न नगर ।
यसरी सारमा यस संग्रहका निबन्धहरू काव्यात्मक बान्कीका छन् । खारिएको लेखन अनि परिष्कृत विचार अनि सुसंस्कृत शब्दसंयोजनको विशेष क्षमताले गर्दा निबन्धहरू बेजोड बनेका छन् । प्रिय सञ्चेतना ! श्रीबाबुले झैँ यसरी पनि निबन्धमा जीवनलाई आफ्नो पार्न सकिन्छ । विचारको बिउ उमार्न सकिन्छ । मनको संसार बसाउन सकिन्छ । शताब्दी जति नै सन्दिग्ध भए पनि प्रिय श्रीबाबु आफू उभिएको भूमिका उपर आफ्नो अगाध प्रेम नै संसार जित्ने दिव्यास्त्र हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच